Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

हरित कोइलाः स्वदेशी उर्जाबाट समृद्ध भविष्यको सम्भावना

News and Updates
6 घण्टा अघि

विदेशबाट आयातित इन्धन– डीजेल, पेट्रोल र एलपी ग्याँसको आयातमा निर्भरता घटाउँदै नेपालको ऊर्जा परिदृश्यमा एक स्वदेशी, वातावरणमैत्री हरित कोइलाले नयाँ सम्भावनाको ढोका खोलेको छ ।

 

विभिन्न उद्योग तथा कलकारखानामा हरित कोईलाको प्रयोग बढाउन सकेमा आर्थिक र वातावरणिय हिसाबले मुलुक लाई नयाँ आयाम दिन सक्ने सम्बद्ध अधिकारीहरुले बताउँदै आएका छन् ।

 

हाम्रो वन जंगलमा पाइने झारपात, खेर गएको बनको झाडी, डस्ट (काठ मिल बाट निस्केको धुलो) प्लाइको भेनीएरको ह्स्टिहरु राखेर एउटा प्रोडक्ट बनाइएको छ जसलाई हरित कोइला भनिन्छ । साथै, बायोमास ब्रिकेटको नामबाट पनि यसलाई चिनिन्छ । यसलाई प्राकृतिक स्रोतहरुबाट नै निर्माण गर्ने भएको हुनाले यसको निर्माण र प्रयोगको लागत एकदमै कम हुने गर्दछ । यसको प्रयोग वातावरणको हिसाबले पनि राम्रो भएको हुनाले सरकारले हरित कोईलाको प्रयोगलाई बढाउने कुरामा जोड दिएको पाइन्छ ।

 

पेट्रोलियम तथा कोइलाको प्रयोगबाट उत्पादन गरिने ऊर्जाका कारण कार्बन उत्सर्जनमा वृद्धि हुँदा विश्वमा तापमानसमेत बढेको सन्दर्भमा पाखापखेरामा खेर जाने घाँस तथा प्राकृतिक उपजलाई ऊर्जाको स्रोतका रुपमा प्रयोग गर्ने प्रविधिको प्रयोगमा नेपालमा समेत चाँसो बढेको हो ।

 

हरित उर्जाको सन्दर्भमा जैविक उर्जा व्यवसायी संघका उपाध्यक्ष कुबेरमणि नेपालले एलपि ग्याँस र पेट्रोलियम पदार्थको प्रयोग भन्दा हरित उर्जाको प्रयोग किफायति र फाईदजनक हुने भन्दै यसको बारे उपभोक्तालाई जानकारी गराउन आवश्यक रहेको बताए ।

 

उनले आफैले पनि हरित कोइलाको उत्पादन गर्ने भएको हुनाले बायोमासको माग विस्तारै एकपछि अर्को गरी बढ्दै गएको र ठुला खालका उद्योगहरुमा यसले धेरै ठुलो बचत गरेको पनि बताउँछन् ।

 

उनले भने, ‘ग्राहकहरुलाई यो चुल्होको बारेमा पढाउँदै सिकाउँदै एलपि ग्याँस र पेट्रोलियम पदार्थको प्रयोग भन्दा यसको प्रयोग कति किफायति भयो त भन्ने कुरा देखाउँछौं । एलपी जी ग्याँसको प्रयोगको सट्टा यसको प्रयोग गर्दा हुने फाईदका बारेमा पनि सिकाउँछौं । जसले यो प्रयोग गुर्न भएको छ उहाँहरुले बायोमासको माग विस्तारै एकपछि अर्को गरी बढाउँदै जानु भएको छ । ठुला खालका उद्योगहरु जस्तै भुजिया, दालमोठ पकाइरहनु पर्नेहरुका लागि त यसले धेरै ठुलो बचत गरेको छ । जसले यो प्रबिधि प्रयोग गर्नु भएको छ उहाँहरुले फेरी फर्किएर हेर्नु परेको छैन् ।’

 

यसले कोईला, डिजेल, पेट्रोल र एलपी ग्याँसलाई प्रतिस्थापन गर्न सक्ने पनि उनको बुझाई छ । उनले हरित उजौमा गरिएको लगानी करीब ६ महिनामा उठाउन सकिने भएपनि यसको प्रचारको कमिका कारण मानिस यसमा लगानी गर्न हिचकिचाइरहेको पनि बताए ।

 

उनले भने, ‘औद्योगिक प्रयोजनकालागि चलाउँदा पनि ५÷७ लाख देखि एक करोड रुपैयाँ सम्म पर्न आउँछ । त्यसकारण प्रबिधि चाहिँ अलि महंगो नै छ । तर समग्रमा खपत हेर्नेहो भने चाहिँ करीब ६ महिनामा खर्च उठ्छ तरपनि एकै चोटि लगानी गर्न के भईरहेको छ भनेदेखि मान्छेहरु अलि हिचकिचाइरहेको अवस्था छ ।’

 

सामान्यतया भन्नु पर्दा एक केजी एलपिजीले ११ हजार किलो क्यालेरी इनर्जी दिन्छ, डिजेलले ११ हजार २ सय क्यालोरी इनर्जी दिन्छ, पेट्रोलले पनि सोहि बराबरमा इनर्जी दिन्छ । यति इनर्जीका लागि डिजेल किन्न अहिलेको मूल्य अनुसार १ सय ५० रुपैयाँ सम्म तिर्नुपर्छ । एलपीजी किन्न १ सय ३५ रुपैयाँ तिर्नुपर्छ । अहिले हामीले उत्पादन गरेको प्लेटको मूल्य बजारमा प्रतिकिलो ३० रुपैयाँ छ ।

 

३० रुपैयाँको प्लेटले ४ हजार २ सय किलो क्यालोरीको इनर्जी उतपादन गर्दछ । भाग गर्दाखेरी २ दशमलव २ केजी प्लेट हुँदा एक केजी ग्याँस बराबर हुन्छ । करीब ७५ रुपैयाँमा १ सय १३५ रुपैयाँको काम गर्दछ । त्यसकारण यसले एलपिजीमा करीब ४५÷५० प्रतिशत सम्म फाईदा गर्दछ । अझ डिजेलको तुलनामा त ५० प्रतिशत नै सस्तो पर्दछ ।

 

नेपाल सरकारले सन् २०४५ सम्म वातावरण प्रदूषणलाई नेट जिरो पार्ने उद्देश्य लिएको छ । त्यसको लागि पनि हरित उर्जाले ठुलो भुमिका निर्वाह गर्न सक्छ । कोईलाको तुलनामा हरित कोईलाले करीब एक टन कार्बन उत्सर्जन कम गर्दछ । त्यसकारण वातावरणीय हिसाबले पनि यो कार्वन न्युट्रल हो ।

 

एलपिजी ग्याँसले ६ प्रतिशत सल्फरडाइअक्साइड ग्याँस उत्पादन गर्दछ भने हरित कोईलाले ०.१ प्रतिशत मात्रै सल्फरडाइअक्साइड ग्याँस उत्पन्न हुन्छ । यो ग्याँस भनेको कासिनोजेनीक ग्याँस हो । यसले क्यान्स बनाउन सहयोग गर्ने हुन्छ । त्यसकारण मानव स्वास्थ्यका लागि पनि राम्रो छ ।

 

यस्तै सलम्बु चिप्स उद्योगका सिइओ हरि दुलालले आफ् उद्योगमा हरित उर्जाको प्रयोग गर्ने गरेका छन् । उनले पनि पहिला डिजेल नै प्रयोग गर्ने गरेका थिए त्यसबाट खर्च पनि बढि हुने र वातावरणलाई पनि प्रभाव पार्ने भएको हुनाले हरित उर्जाको प्रयोग गर्न थालेको उल्लेख गरेका छन् ।

 

उनले वायोमास प्रयोगले इन्धनमा भएको लगानी केही हदसम्म भएपनि कम भएको भन्दै यसले आर्थिक र वातावरणको रुपमा पनि नेपाललाई फाइदा पु¥याएको बताए ।

 

उनले भने, ‘जुन हरित कोइला छ यसलाई प्यालेट भनिन्छ । यो बायो उर्जा हो । यो हाम्रै जंगलहरुबाट निस्किने वनस्पती उपजहरु, काठको धूलोहरुबाट बनेको हुन्छ । यसको प्रयोग हामीले पनि भर्खरै सुरु गरेका हौं । ४, ५ महिना मात्र भएको छ । हामीले पहिला डिजेलको प्रयोग गर्दै आएका थियौं भने यो उर्जा सम्बन्धी ज्ञान पाएपछि बायोमास कै प्रयोग गर्दै आएका छौ ।

 

यो वायोमास प्रयोग गर्दा इन्धनमा भएको लगानी केही हदसम्म भएपनि कम गर्न सक्छौ । यसले आर्थिक र वातावरणको रुपमा पनि नेपाललाई फाइदा पु¥याउन सकिन्छ । यसको फाइदा भनेको एउटा वातावरणलाई स्वच्छ बनाउछ ।’

 

डिजेल प्रयोग गर्दा धूवाहरु धेरै आउने हुन्छ भने यो उर्जाको प्रयोग गर्दा धुँवाहरु एकदमै न्यून नै हुन्छ, अर्को कुरा यो नेपालकै उत्पादन भएको हुनाले पनि यसले डिजेल, पेट्रोलको आयातलाई पनि विस्थापित गर्न सक्छ ।

 

यसको प्रयोग बढ्नु देशको लागि आवश्यक भएको हुनाले सरकारी तहबाट नै यसको प्रवद्र्धन आवश्यक छ । उद्योगको हिसाबले यसले सफाइमा पनि महत्वपूर्ण भूमिका खेल्छ र नेपाल प्राकृतिक स्रोतहरुले धनी देश भएको हुनाले नेपालमा यसको सम्भावना उच्च रहेको छ । यसबाट देश भित्रको पैसा देशमै बस्छ ।

 

उद्योगमा बायोमासको प्रयोगले व्यवसायीहरुलाई पनि फाइदा हुन्छ र देशको लागि पनि राम्रो योगदान हुन्छ । उर्जाको प्रयोग बढाउनको लागि सरकारले उद्योग खोल्नेहरुको लागि सामानहरु खरिद गर्दा विभिन्न समयमा अनुदानहरु दिने योजनाहरु पनि ल्याइ रहेको छ । यसले व्यवसायीहरुलाई झन् प्रोत्साहन गरेको पाइन्छ । अहिलेको लागि सर्लाही, नारायणघाट र झापाबाट यो बायोमास उत्पादन हुने गरेको छ ।

 

भारतमा वार्षिक रुपमा ५०० मिलियन टन बायोमास उत्पादन हुने गरेको छ । इन्डिया रिन्युएबल इनर्जीका अनुसार बायोमासबाट छोटो समयमै १८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य भारतले राखेको छ ।

 

चीन सरकारले पनि पछिल्ला दिनमा बायोमासबाट ऊर्जा उत्पादन गर्ने कार्यलाई दीर्घकालीन लक्ष्यका रुपमा अगाडि बढाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया