१२ श्रावण २०८१, शनिबार
अर्थ

भन्सार कटेर सिनामंगल पुगेको झण्डै १०० किलो सुन बरामद, सिनामंगलबाट एकजना पक्राउ

३ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर झण्डै एक क्वीन्टल सुन बाहिरिएको भेटिएको छ ।

राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै ८० देखि १०० किलो सुन बरामद भएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए । उनले भने, ‘नेपालमा हालसम्म बरामद भएको यो नै सबैभन्दा ठूलो परिणामको सुन हुनसक्छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्रोतका अनुसार, बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो ।

मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना राजश्व अनुसन्धान विभागसम्म पुगेको थियो । त्यसपछि विभागले गरेको कारबाहीमा ठूलो परिमाणमा सुन बरामद भएको हो ।

‘अझैसम्म बरामद सबै सुनको तौल लिइसकेको छैन, अनुसन्धान गरिरहेका छौं’, ढुंगानाले भन्छन् । हङकङबाट आएको सुन भारततर्फ तस्करी गरेर लैजान लागिएको आशंका गरिएको छ ।

त्यसलगत्तै जारी अप्रेसनमा भरखरै मात्र विभागले दिलिप भुजेललाई पक्राउ गरेको छ । उनी प्रमुख रहेको फर्मबाट सुनसहितको ‘ब्रेक शु’ बरामद भएको थियो ।

सुनको केल परिमाण ८ हजार ८७३.५ तोला हुन आउँछ । जसको आजको दिनको बजार मूल्य एक अर्ब ५३ लाख ६७ हजार ५५० रुपैयाँ पर्छ ।

सुन तस्करीको फेरिएको शैली

२०७४ सालमा चुडामणि उप्रेती ‘गोरे’ नेतृत्वको समूहले यूएईबाट ९ माघ २०७४ मा ल्याएको ३३ किलो सुन हराएको थियो । खोजीका क्रममा भरिया सनम शाक्य मारिएपछि सुरु भएको अनुसन्धानपछि गम्भीर मोड लिएको थियो ।

त्यसक्रममा छानबिनका लागि गठन भएको उच्चस्तरीय समितिले गोरेको समूहले चार वर्षमा झण्डै ३८ क्वीन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो । यो प्रकरणका क्रममा प्रहरी अधिकारीहरु, भन्सार कर्मचारीदेखि तस्करीमा समूह ठूलो र्‍याकेट मुछिएको थियो । त्यसयता नेपालमा सुन बरामद भएको थिएन ।

पछिल्लो पाँच वर्षयता सुन बरामदको दर ह्वात्तै घटेका बेला राजश्व अनुसन्धान विभागले चलाएको अपरेशनका क्रममा झण्डै १०० किलो सुन बरामद भएको हो ।

प्रतिक्रिया दिनुहोस्