News and Updates

काठमाडौं । दीपेन्द्र के.खनालको निर्देशनमा बनेको नेपाली फिल्म ‘के घर के डेरा : घर नम्बर २’ एक साधारण तर गहिरो कथावस्तु बोकेको पारिवारिक चलचित्र हो । जसले ‘घर’ को अवधारणालाई केवल ईँट्टाप्रस्त संरचनामा सीमित नराखी, आत्मीयता, सम्झना र सम्बन्धसँग गाँसिएको भावनाको रूपमा प्रस्तुत गर्छ ।
जीवनमा डेरा र घरभन्दा महत्त्वपूर्ण हुन्छन् सम्बन्ध । इट्टाको संरचनाभन्दा सम्बन्धको डोरी बलियो, त्यही सम्बन्ध नै हाम्रा लागि घर हुन् । दीपेन्द्र के.खनाल निर्देशित फिल्म ‘के घर के डेरा घर नम्बर २’ ले भन्न खोजेको पनि यहि हो ।
फिल्म साहित्यिक मात्रै छैन्, फिल्म जस्तो हुनुपर्ने हो त्यस्तै छ । ‘के घर के डेराः घर नं २’ दर्शकको दिमागमा लामो समयसम्म बस्ने फिल्म बनेको छ । धेरै फिल्म हलमा बत्ती बलेर बाहिर निस्किएपछि सकिन्छ । तर यो त्यस्तो छैन । यो घर पुगेपछि पनि दिमागमा रहिरहने चलचित्र बनेको छ । त्यसैले यो मान्छेलाई सोच्न बाध्य बनाइरहने फिल्म बनेको छ ।
‘के घर के डेराः घर नं २’ फिल्ममा रुवाउने मात्रै होइन हसाउने सिन समेत धेरै छन् । यो फिल्म सहरीया मध्यमवर्गीय परिवारले भोग्नुपर्ने कठिनाइको कथामा आधारित छ । फिल्मले मध्यम वर्गीय जीवनशैली, डेरामा बस्दा आउने असहज परिस्थिति र त्यसभित्र लुकेको आत्मीयता देखाउने प्रयास गरेको छ ।
कथा साधारण भए पनि संवाद र पात्रहरूको स्वाभाविक अभिनयले दर्शकलाई तान्छ । निर्देशकले हाँस्यलाई जबर्जस्ती हैन, पात्रहरूको व्यवहारबाट नै झल्किने बनाएका छन् ।
मुख्य कलाकारहरू केकी अधिकारी र आर्यन सिग्देलको अभिनय अत्यन्तै स्वाभाविक र जीवन्त देखिन्छ । विशेषगरी हाँस्य क्षणहरूमा अभिनयको टाइमिङ राम्रो छ । केही स्थानमा अभिनय अलिकति बनावटी लागे पनि समग्रमा सबै पात्रहरूले आफ्नो भूमिका न्यायपूर्वक निर्वाह गरेका छन् ।
पैसालाई सबथोक मान्ने र पैसालाई सबथोक नमान्नेहरूको कथा पनि हो ‘के घर के डेरा’ । ‘के घर के डेरा’ मा सबै पात्रको आ–आफ्नै कथाव्यथा छन् । आ–आफ्नै संघर्ष छन् । सम्बन्धमाथि सबैले आ–आफ्नै खाले उतारचढाव भोगेको देखाइएको छ ।
यो घरभित्र ऋणमा चुर्लुम्म डुबेका घरभेटी रौनक र उसकी श्रीमती छन् । यो घरभित्र डेरामा बस्ने टाट पल्टिएका व्यापारी र मैनबत्ती बनाएर बेच्ने उसकी छोरी पूजा छन् । यो घरभित्र मिटरब्याज साहुले ¥याख¥याख्ती पारेर भागिरहेको दिवाकर छन् । यो घरभित्र बस दुर्घटनामा बाआमा र बहिनी गुमाएर जाने ठाउँ कतै नभएका राजाराम छन् ।
चलचित्रमा ठूलो मात्रामा पैसा गुमाएर सडकमा आएकाले बिरामी भएका व्यापारी र बैंकको किस्ता तिर्न नसकेर बिजोग अवस्थामा पुगेका घरभेटी रौनक छन् । परिवार गुमाएपछि त्यही बिमाको पैसाले सम्बन्धहरू किन्दै हिँडेका राजाराम छन् । जति जोर चलाए पनि जीवनमा केही तरक्की गर्न नसकेका दिवाकर छन् ।
चलचित्रमा खनालले उठाएको अर्को गम्भीर पाटो भनेको घरको वातावरण पनि हो । बा–आमाको घरझगडाको साक्षी बस्न बाध्य बच्चाहरूको मानसिक हालत के होला ? खनालले घरभेटी रौनक र श्रीमतीको झगडाको बीचमा सानी बच्ची (रुविना घिमिरे) लाई उभ्याएर सबै अभिभावकलाई सोधेको प्रश्न हो यो । ती बच्चीले सामना गरिरहेको एन्जाइटी वा अन्य मानसिक तनावलाई पनि देखाएको भए अझै गज्जब हुने थियो ।
फिल्ममा आर्यन सिग्देल र केकी अधिकारी एक विवाहित जोडी हुन्, जसले आफ्नी छोरीसहित काठमाडौंको पूरानो, पूख्र्यौली घरमा जीवन बिताइरहेका छन् । आर्यनका लागि त्यो घर उनका बुबाआमाको सम्झना, पुर्खाको सम्पत्ति र भावनाको केन्द्र हो । त्यसैकारण उनले स्पष्ट रूपमा भन्छन्, ‘यो घर बेच्नुपरे डिभोर्स हुन्छ ।’
तर अर्कोतर्फ ऋचा अर्थात् केकी अधिकारी नयाँ सोचकी प्रतिनिधि हुन् । उनी पूरानो घरको शैलीभन्दा शहरको केन्द्रमा, सुविधासम्पन्न नयाँ घर चाहन्छिन् । यही फरक सोच फिल्मको मूल द्वन्द्व बन्छ ।
त्यसपछि फिल्मले देखाउँछ—कसरी एउटै घरभित्रको दुई सोच, दुई सपना, अनि एक छोरीको भविष्यबीचको संघर्षले हाँस्य, भाव, र रहरको मिसावट ल्याउँछ ।
निर्देशकले पूरानो घरका दृश्यहरूलाई कलात्मक ढंगले उतारेका छन् । त्यहाँ झ्याल, झ्यालका गहना, भित्ताको पुराना फोटो, अनि गाउँको झल्को दिने काठमाडौँको मुटु यी सबैले दर्शकलाई फिल्मसँग भावनात्मक रूपमा जोड्न सघाउँछन् ।
द्वन्द्व गम्भीर भएपनि कथालाई हल्का शैलीमा बुनिएको छ । हाँस्य क्षणहरू अत्यधिक बनावटी लाग्दैनन्, बरु प्राकृतिक लाग्छन ।
संगीत पक्षले कथा अनुसार नै काम गरेको छ । ‘के घर के डेरा घर नम्बर २’ केवल घरको कथा होइन—यो पुर्खाको सम्झना, परिवारभित्रको समझदारी र बदलिँदो समयसँग तालमेल राख्ने कथा हो ।
फिल्मको छायांकन सामान्य भएपनि कथा अनुसार मेल खाने खालको छ । संगीत पक्ष औसत छ, तर कथासँग मेल खाने दृश्यहरूमा संगीतले भावनालाई बल पु¥याएको छ ।
फिल्मले नेपाली समाजमा ‘घर’ भन्ने अवधारणामाथि व्यंग्यात्मक ढंगमा प्रश्न उठाउँछ—के साँचो घर ईँट्टा सिमेन्टले बनेको हुन्छ कि मान्छेको आत्मीयताले ? डेरामा बस्नेहरू र घरधनीबीचको सम्बन्ध, साना–साना झगडाभित्रको हास्य र अन्ततः उब्जने आत्मीयता फिल्मको मूल सन्देश हो ।
फिल्ममा खगेन्द्र लामिछानेसँगै निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, र आर्यन सिग्देलको अभिनय रहेको छ ।
नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जनको लगानी रहेको फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् ।
यसैगरी फिल्मको बारेमा नेपाल न्यूज बैंकसँग कुरा गर्दै अभिनेत्री केकी अधिकारीले यो फिल्मसँग आफ्नो जीवनका धेरै कुराहरुले मेल खाएको बताइन् । उनले चलचित्रमा हामीले सबै जनाको जीवनसँग मेल खानेगरि नै चलचित्रको कथा वस्तुलाई निर्माण गरिएको बताइन् ।
उनले भनिन्, ‘फिल्मसँग आफ्नो जीवनका धेरै कुराहरुले मेल खाएको छ । लामो समय नै काठमाडौंको डेरामा बसेको अनुभव र आफ्नै घरमा बसेको दुईवटै अनुभव मैले यो फिल्मबाट पनि लिन पाए । चलचित्रमा हामी सबै जनाको जीवनसँग मेल खानेगरि नै चलचित्रको कथा वस्तुलाई निर्माण गरिएको छ ।’
साथै उनले फिल्म जस्तै घटनाहरु रियल लाइफ भए यसको सामना गर्न निकै नै चुनौतिपूर्ण नै हुने बताइन् । उनले रियल लाइफ रिल लाइफ भन्दा गाहे नै हुने गरेको बताइन् ।
उनले भनिन्, ‘सबै जनाले आफूलाई कुनै न कुनै पात्रसँग मेल खाएको अनुभव पाउनुहुन्छ । जुन प्रकारले कथा अगाडि बढेको छ सबै पात्रलाई कसरी मिलाएर अगाडि बढ्छ होला, कनेक्सन एउटै डोरी भेट्नलाई एकदमै गा¥हो हुन्छ । राइट फिङ्सिङ् दिन धेरै नै गा¥हो छ । यसलाई निर्देशकले मज्जाले बुन्नु भएको छ । कुनै पनि पात्र विना काम त्यहाँ छैन् । महत्वपूर्ण कामका लागि मात्रै सिनेमामा देखिन्छ त्यो नै चुनौतिपूर्ण थियो फिल्ममा । साच्चिकै फिल्म जस्तै घटनाहरु रियल लाइफ भए यसको सामना गर्न निकै नै चुनौतिपूर्ण नै हुन्छ । हामी त्यस्तो अप्ठ्यारोहरुलाई सामना गर्न त्यति सहज मान्दैनौं । रियल लाइफ रिल लाइफ भन्दा गाहे नै हुन्छ ।’
यसैबिचमा नेपाल न्यूज बैंकले दर्शकहरुको समेत प्रतिक्रिया लिएको छ । प्रतिक्रियामा सिनेमा हेर्ने दर्शकले ‘के घर के डेरा : घर नं २’को तारिफ गरेका छन् । आम नेपाली नागरिकले हेर्नैपर्ने सिनेमा भनेका छन् । घरभेटी र डेरावालमात्रै नभएर आम नागरिकको कथा सिनेमामा रहेको उनीहरूको प्रतिक्रिया छ ।
फिल्मले एकैसाथ हसाउँछ, भावुक बनाउँछ, र सोच्न बाध्य पार्छ । यसले दर्शकलाई फिल्म सकिएपछि पनि मनमा बाँधिरहन्छ –जुन राम्रो चलचित्रको मुख्य गुण हो ।
निष्कर्षः
‘के घर के डेरा : घर नम्बर २’ केवल मनोरञ्जनको लागि मात्र होइन, आत्मीयता, समझदारी र नेपाली समाजको यथार्थ बुझ्नका लागि पनि हेर्नैपर्ने फिल्म हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया