२३ आश्विन २०८१, बुधबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

राष्ट्रपति चुरे कार्यक्रमको जालझेलले एउटा विपन्न परिवारको उठिबास

‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रमसँग सम्झौता गरेर गरिएको तटबन्धको काम हाम्रो घरमा काल भयो । दुई पैसा कमाइको लोभमा फसेर हामी बर्बाद भयौं । बुहारीलाई हृदयघात भयो’, विजयकी वृद्ध आमा लाछोदेवीले हामीसँग पीडा पोखिन् ।

१ असोज, जनकपुरधाम । २०८० वैशाख पहिलो साता सर्लाही चक्रघट्टा गाउँपालिका–३ सुन्दरपुर नजिक ढेंग्रे खोलाको तटबन्धका लागि स्थानीय रञ्जु साहको अध्यक्षतामा सात सदस्यीय उपभोक्ता समिति गठन भयो । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम इकाइको पत्र अनुसार वडा कार्यालयको सूचना बमोजिम भेला बसेर सो समिति बनेको थियो ।

यसरी रामजानकी नदी नियन्त्रण उपभोक्ता समिति गठन भएपछि रञ्जुको परिवारमा खुसी छायो । कन्टिजेन्सी सहित २६ लाख ३१ हजार ४६३ रुपैयाँमा तटबन्धको काम हुने भएपछि श्रम लगानी गर्न पाइने र त्यसबाट केही आम्दानी पनि हुने आशाले रञ्जुका श्रीमान् विजय मक्ख भए ।

‘श्रीमती उपभोक्ता समितिको अध्यक्ष भएर तटबन्धको काम गर्दा केही कमाइ पनि होला भनेर खुसी भयौं । वैशाख पहिलो साता उपभोक्ता समितिसँग इकाइले काम सम्झौता गर्‍यो । उधारो माटो, ढुंगा र तारजाली ल्याएर धमाधम काम अघि बढायौं’, विजय भन्छन् ।

विजयका अनुसार २०८० जेठमा इकाइले ७ लाख पेश्की दियो । उपभोक्ता समितिले असार १५ गतेसम्म लखनदेही नदी प्रणालीको ढेंग्रा नदीको झोलुंगे पुलको उत्तरपश्चिमतर्फ सम्झौता बमोजिम डेढ सय जालीमा तटबन्धको काम गर्‍यो । जसको अहिलेसम्म भुक्तानी भएको छैन ।

तटबन्धको काम गर्दा विजयले उठाएको ऋण, उधारोले परिवारमा कलह बढ्यो । कलहले उपभोक्ता समिति अध्यक्ष रहेकी रञ्जुको गत माघमा हृदयघात भयो । सगोल परिवार ऋण, मनमुटाव र तनावको दलदलमा फसेको आमा लाछोदेवी गुनासो पोख्छिन् ।

तटबन्धको काम हाम्रो घरमा काल भयो । दुई पैसा कमाइको लोभमा फसेर हाम्रो घर बर्बाद भयो । बुहारीलाई हृदयघात भयो’, विजयकी वृद्ध आमा लाछोदेवीले हामीसँग पीडा पोखिन् । शुक्रबार मध्याह्न विजयको घर पुग्दा वृद्ध बुबाआमा योगनारायण र लाछोदेवी घरको सानो किराना पसलमा बसेका थिए ।

बुबा योगनारायणका तीन छोराको सगोल परिवार छ तर घरमा अन्य कोही थिएन । बारम्बार उधारो ताकेताको कारण विजय केहीबेर अघि ढुंगा व्यवसायीलाई भेट्न बरहथवा निस्केका थिए । हृदयघातपछि विजयकी श्रीमती रञ्जु गएको माघदेखि दिल्लीमा उपचाररत छिन् ।

दिल्लीमै बसिरहेका सालाको डेरामा उनका दुई छोराछोरी छन् । पारिवारिक खटपटले विजयका दुई भाइको परिवार आफ्नै पाराले बसिरहेका छन् । सानो किराना पसल, दूध डेरी र कुटानी–पिसानी मिलको भरमा वृद्ध आमाबुबाले घर धानेका छन् ।

योगनारायणका अनुसार विजयको छोराछोरीको पठनपाठन प्रभावित भयो । मामाले दिल्ली बोलाए । ऋण, कलह र तनावले घर नर्क झैं बनिसकेको छ ।

१५ असारसम्म काम सम्पन्न गरे पनि योजनाका साइट इन्चार्ज तत्कालीन सव–इन्जिनियर रामईश्वर साहले समयमा मूल्यांकन नगर्दा भुक्तानी नभएको विजयको गुनासो छ । नजिकै चक्रघट्टा गाउँपालिका १ स्थित लखनदेही नदी तटबन्धको योजनाको निरीक्षण र मूल्यांकनमा सव–इन्जिनियर रामईश्वर पटक–पटक पुगे ।

‘छेउकै वडाको नदीमा तटबन्ध योजना हेर्न कतिपटक आए । मैले कैयौं पटक आग्रह गर्दा आजभोलि भन्दै बजेट फ्रिज गराइदिए’ विजय आक्रोश पोख्छन्, ‘दुई पैसा कमाइ हुने लोभमा हामीलाई फँसायो ।’ सव–इन्जिनियरको स्वार्थ पूरा नहुँदा आफूलाई फँसाएको विजयको गुनासो छ ।

‘सव–इन्जिनियर रामईश्वरले यो काम ठेकेदारलाई दिन आग्रह गरे । हामीले आफैं श्रमदान गरी काम गर्दा दुई पैसा बचत हुन्छ भनेर अस्वीकार गर्‍यौं’ विजय सुनाउँछन्, ‘नजिकै लेखनदेही नदीमा नामको उपभोक्ता समिति बनाएर उसले आफ्नो ठेकेदार नागेन्द्र मार्फत काम गराए । समयमै सबैथोक गरी भुक्तानी गरायो । हाम्रो चाहिं अल्झायो ।’

  • तत्कालीन सव–इन्जिनियर रामईश्वर
  • नयाँ कामको लागि सो उपभोक्ता
  • समितिसँग पुनः आर्थिक वर्ष २०८०/८१
  • मा सम्झौता गरेको बताउँदै
  • आफूहरूको सरुवा भएपछि
  • केही थाहा नभएको तर्क गर्छन् ।

तत्कालीन सव–इन्जिनियर रामईश्वरले आर्थिक वर्षको असार मसान्तमा काम अनुसारकै सात लाख भुक्तानी गरेको दाबी गरे । ‘असारमा सबै कामै गरेका थिएनन् । जति काम गरेका थिए त्यसको भुक्तानी भयो’ उनले भने, ‘साइट भिजिट गर्न आएन भन्ने कुरा झुटो हो । मैले ठेकेदार मार्फत काम गराउनुस् भनेको पनि होइन । विजय आफ्नै कारणले मनपरी र बढी काम गरेर फँसेका छन् ।’

विजयले ३६ प्रतिशत चर्को ब्याजदरमा गाउँघरबाट ऋण काढेर मजदुरको ज्याला, जाली, ढुंगा, माटो ल्याएका व्यवसायीको केही रकम तिरेका छन् । केहीको बाँकी छ । सगोल सम्पत्तिको नाममा चारकट्ठा खेत र दुईकट्ठा घडेरी मात्र रहेका उनको परिवारमा यसले कलह भएको छ ।

योजना इकाइले आर्थिक वर्ष २०८०/८१ मा बाँकी भुक्तानी दिने आश्वासन दियो । गरेकै काममा थपथाप गरिदिनु भनेर इकाइले ३२ लाख २२ हजार ९४० रुपैयाँ २० पैसाको अर्को नयाँ योजनाको सम्झौता रामजानकी नदी नियन्त्रण उपभोक्ता समितिसँग गर्‍यो ।

२१ भदौ २०८० मा गरेको सम्झौतामा यस अघिकी उपभोक्ता समिति कोषाध्यक्ष फुलबन्तीलाई अध्यक्ष राखियो । २५ असार २०८१ भित्र काम सम्पन्न गर्ने गरी इकाइले गरेको सम्झौता पत्रमा तत्कालीन इकाइ प्रमुख उपसचिव शिवकुमार पोखरेलको हस्ताक्षर छ । सम्झौताले विजयमा बाँकी भुक्तानी हुने आशा पलायो । तर धेरै दिन टिक्न सकेन ।

असोजमा तत्कालीन इकाइ प्रमुख पोखरेल उदयपुर भू तथा जलाधार कार्यालय र सव–इन्जिनियर रामईश्वरको जनताको तटबन्ध कार्यालय सर्लाहीमा सरुवा भएर गए । नयाँ इकाइ प्रमुखका रूपमा जनकपुरका मिथिलेश महतो आए ।

विजयको उपभोक्ता समितिसँग गरेको सम्झौता अनुसारको कार्यक्रम नै सो आर्थिक वर्षमा स्वीकृत नरहेको पाइयो । ‘म आउँदा सम्झौताको न त दर्ता चलानी थियो, न स्वीकृत कार्यक्रम । यो प्रक्रिया अनुसार काम र भुक्तानी हुँदैन’, प्रमुख महतो भन्छन् ।

  • तटबन्धमा गरेको ऋणले विजयले सगोलको
  • सम्पत्तिबाट दुई  कट्ठा खेत र ६ धुर घडेरी करिब
  • ५ लाखमा बेचेर केही उधारो र उपचार खर्च तिरेका छन् ।
  • चर्को ब्याजको  ऋणको भारीले परिवार थिचिंदै गएको छ ।

तत्कालीन सव–इन्जिनियर रामईश्वर नयाँ कामको लागि सो उपभोक्ता समितिसँग पुनः आर्थिक वर्ष २०८०/८१ मा सम्झौता गरेको बताउँदै आफूहरूको सरुवा भएपछि केही थाहा नभएको तर्क गर्छन् ।  तत्कालीन इकाइ प्रमुख शिव पोखरेल अघिल्लो वर्षको भुक्तानी काम अनुसार नै गरेको दाबी गर्दै पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा गरेको अर्को सम्झौतामा त्रुटि भएको स्वीकार गर्छन् ।

‘उपभोक्ता समिति धेरै कार्यालयमा आएपछि पुनः रामजानकी उपभोक्ता समितिलाई नयाँ योजनाको सम्झौता गर्‍यौं । सम्झौतामा सव–इन्जिनियर रामईश्वरले कागजात तयार गरेर दिए । मैले नहेरी हस्ताक्षर गरें । त्यसमा मेरो त्रुटि भएको छ’, तत्कालीन प्रमुख पोखरेल भन्छन् ।

नयाँ योजनामा पनि समस्या परेपछि विजय तनावमा परेका छन् । जबकी विजय सँगसँगै भदौमा नयाँ सम्झौता गरेको चक्रघट्टा गाउँपालिका १ मै अघिल्लो आर्थिक वर्षमा भएको नदी स्तरीकरणको काममा केही थपेर तत्कालीन प्रमुख र सव–इन्जिनियरले प्रकटनाथ लखनदेही नदी नियन्त्रण उपभोक्ता समितिलाई २०८० असोजमै २५ लाख ४९ हजार रुपैयाँ भुक्तानी गरेका थिए ।

त्यसअघिकै तटबन्धमा गरेको ऋणले विजयले सगोलको सम्पत्तिबाट दुई कट्ठा खेत र ६ धुर घडेरी करिब ५ लाखमा बेचेर केही उधारो र उपचार खर्च तिरेका छन् । चर्को ब्याजको ऋणको भारीले परिवार थिचिंदै गएको छ । उधारोको ताकेताले कहिलेकाहीं विजयलाई मोबाइल स्वीच अफ गरेर लुक्नुको विकल्प हुन्न ।

‘ऋण त छँदैछ, उधारोको ताकेताले कहिलेकाहीं स्वीच अफ नगरी हुन्न । घडेरी बेच्दा आएको ५ लाखले केही उधारो तिरें र श्रीमतीको उपचारमा लगाएँ । उपचारमा अझ थप पैसा चाहिन्छ’ विजय भन्छन्, ‘यसअघि कहिल्यै पनि उपभोक्ता समितिबाट काम गरेका थिएनौं । पहिलो चोटिमै हामीलाई यसरी फँसायो । घर नै नर्क बनायो ।’

वडा नम्बर ३ का वडाध्यक्ष दिनेश साहले पनि इकाइले तटबन्धको काम गराई भुक्तानी नदिएर विजयको गरिब परिवारलाई दलदलमा फँसाएको गुनासो गरे । उनले भने, ‘गरिब मान्छे, जसोतसो काम गर्‍यो । तर भुक्तानी नदिंदा तनावले श्रीमतीलाई हर्टअट्याक भयो । खेत बेचेर उपचार गराइरहेका छन् ।’

भुक्तानी नदिंदा बिचल्लीमा कामदार

आर्थिक वर्ष २०७९/८० मा रौतहटको गुजरा नगरपालिका ३ धन्सार खोलामा तटबन्धको काम गराएर इकाइ जनकपुरले उपभोक्ता र ठेकेदारलाई फँसाएको थियो । राजकुमार पहरी अध्यक्ष रहेको झोलुंगे पुल उपभोक्ता समितिले झोलुंगे पुलको दक्षिणतर्फ अढाइ सय मिटर तटबन्ध गरेको थियो ।

  • विधि प्रक्रियाले काम नभएकाले भुक्तानी दिन सक्ने
  • अवस्था नरहेको इकाइ प्रमुख महतो बताउँछन् ।
  • भुक्तानी नपाएर उपभोक्ता समिति र ठेकेदार तनावमा छन् ।

त्यो काम स्थानीय ठेकेदार घनश्याम कार्कीले गरेका थिए । उपभोक्ता समितिका अध्यक्ष पहरीका अनुसार सव–इन्जिनियर रामईश्वरको आश्वासनमा ४२ लाख लाग्ने काम पछि भुक्तानी हुने भन्दै काम अघि बढाउन भने ।

ठेकेदार कार्कीका अनुसार डेढ सय मिटर काम गरेर सम्झौता गर्न पुग्दा अढाइसय मिटर काम गर्न सव–इन्जिनियर रामईश्वरले कर गरे । भने अनुसारकै काम गरेर असारमा ८० मिटरको मात्र सम्झौता गरी ११ लाख २५ हजार रुपैयाँ भुक्तानी दिएको कार्की बताउँछन् ।

‘सुरुमा अढाइ सय मिटर काम गर्न भन्यो । गरेपछि मात्रै ८० मिटरको सम्झौता गरी भुक्तानी दियो । ड्याम बनाउन, तारजाली, ढुंगा र मजदुर गरी ३४ लाख रुपैयाँ मेरो खर्च भएको छ । साउन दोस्रो सातामै नयाँ सम्झौता गरेर भुक्तानी गरिदिने भन्यो । पछि रामईश्वर र प्रमुखको सरुवा भयो । हामी समस्यामा पर्‍यौं’, ठेकेदार कार्कीले आक्रोश पोखे ।

उनको त्यो भुक्तानीको बाटो बन्द भइसकेको छ । विधि प्रक्रियाले काम नभएकाले भुक्तानी दिन सक्ने अवस्था नरहेको इकाइ प्रमुख महतो बताउँछन् । भुक्तानी नपाएर उपभोक्ता समिति र ठेकेदार तनावमा छन् । उनीहरू बोर्डसम्म पुगेर हारगुहार गरे पनि भुक्तानी पाउने कुनै छाँटकाँट छैन ।

‘हामीले बोर्डका अध्यक्ष किरण पौडेलसम्म पुगेर समस्या राख्यौं । उहाँले बोर्ड सदस्य सुनिता ढकाल र कर्मचारी नयनबहादुर तामाङलाई फिल्ड निरीक्षणमा पठाउनुभयो । निरीक्षणपछि पनि कुनै समाधान भएन । पछि भुक्तानी नहुने भनियो’, ठेकेदार कार्कीले भने ।

पैसा नदिंदा उधारोमा ल्याएको तारजाली, ढुंगा व्यवसायी र मजदुरबाट पटक–पटक गालीबेइज्जती सहनु परेको ठेकेदार कार्कीको गुनासो छ । ‘दिएको चेक बाउन्स भएर लफडा हुने गरेको छ । गालीबेइज्जती हुन्छ । म ऋणमा डुबेको छु’ कार्की चेतावनी दिन्छन्, ‘अब कुनै उपाय नभए म तारजाली र ढुंगा उखेलेर लैजान्छु ।’

उपभोक्ता समिति अध्यक्ष पहरीले काम भए पनि भुक्तानी नदिंदा समिति सहित ठेकेदार ठूलो समस्यामा परेको बताए । ‘नदी उकास जग्गा छ । तटबन्धले धेरै जग्गा–जमिन जोगिएको छ । एकदम राम्रो काम भएको छ । तर भुक्तानी नदिएर सव–इन्जिनियर रामईश्वरले सबलाई फँसाए’, पहरी भन्छन् ।

यता सव–इन्जिनियर साहले आफूले मौखिक आदेशमा काम नगराएको दाबी गरे । उनले भने, ‘मैले मौखिक आदेशमा काम गराएकै छैन । जति काम भएको थियो त्यति सम्झौता गरेर भुक्तानी दियौं । भुक्तानी पाउने लोभमा उनीहरूले आफै बढी काम गरे ।’

सव–इन्जिनियर रामईश्वरका अनुसार आर्थिक वर्ष २०७९/८० मा इकाइले सञ्चालन गरेको १५० मध्ये १०३ योजना सञ्चालन गरेको इकाइको ‘एक्टिभिटी प्रोफाइल’ मा उल्लेख छ । राष्ट्रपति चुरे इकाइ जनकपुरको धनुषा, महोत्तरी, सर्लाही, रौतहट र सिन्धुली जिल्ला कार्यक्षेत्र रहेको छ ।

समितिका बोर्ड सदस्य शशिकुमार शर्माले स्थलगत निरीक्षण र अध्ययन गरी तयार गरेको प्रतिवेदनमा सो आर्थिक वर्षमा ५ करोड २४ लाख ३२ हजार रुपैयाँ अनियमितता भएको ठहर गरेको छ । २०८० फागुनमा उनले बोर्डमा पेश गरेको प्रतिवेदन आन्तरिक भन्दै अहिलेसम्म लुकाएर राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्