२९ असार २०८१, शनिबार
ब्लग मुख्‍य समाचार समाज

जहाँ नेपाली बोल्नै लजाउँछन् नेपाली

-मुना चौधरी, 

भाषा विचार संप्रेषण गर्ने माध्यम हो । भाषा भएन भने मानव विचार समस्यामा पर्छ । भाषा त्यस्तो माध्यम हो जसले व्यक्ति वा राष्ट्रहरूबीच सुमधुर सम्बन्ध स्थापना गर्न  मदत गर्छ  । अरूसामू आफ्नो विचार राख्न सक्ने माध्यम भाषा नै हो । जुन भाषा जति धेरै मानिसले प्रयोग गर्छन् र जति धेरै साहित्य सृजना हुन्छ  त्यो भाषा त्यति नै विकसित र समृद्ध मानिन्छ । भाषालाई जीवित राख्न भाषा प्रयोग गरिरहनुपर्छ । भाषा देशको गौरव हो ।

 

आफ्नै देशको भाषा अर्थात् नेपाली भाषा बोल्न  धेरै नेपालीहरूले लज्जास्पद अनुभव गर्छन्। आखिर यस्तो किन ?

 

म पोर्तुगल बसाइँको  क्रममा एक दिन ओरिअन्ते भन्ने ठाउँ घुम्न गएको थिएँ । घुम्दा घुम्दै मलाई तिर्खा लाग्यो । छेउमा लहरै तीनओटा क्याफे देखेँ । सबै क्याफेमा आँखा डुलाएँ । बीचको क्याफेमा दुईजना नेपाली युवायुवती काम गरिरहेको देखेँ । मैले नेपाली युवायुवतीलाई देखेर त्यही क्याफेमा पानी किन्ने सोच बनाएँ । नेपाली युवायुवतीलाई त्यहाँ देख्दा खुसी लाग्यो । मेरै देशका मान्छे हुन्  सोचेर एक प्रकारको आनन्द लाग्यो ।  विदेशमा कतै बाटो हिँड्दै गर्दा, मेट्रो चढेको वेला नेपाली दाजुभाइ, दिदीबैनीहरूलाई देखे भने कम्ता खुसी लाग्छ । आफनै परिवार, आफन्तलाई भेटेको अनुभव हुन्छ । आफ्नोपन अनुभव हुन्छ ।

म हतारिँदै त्यो क्याफे छिरेँ । ती युवायुवतीको अनुहारमा पालैपालो हेर्दै भनेँ,

नेपाली बोल्नुहुन्छ ?

युवकले,

नो, आइ डोन्ट स्पिक नेपाली भन्यो । तपाईँहरू नेपाली होइन र ? मैले फेरि सोधेँ ।

युवतीले जवाफ दिई, नो, वि डोन्ट स्पिक नेपाली ।

म उनीहरूसित वार्तालाप गरेको देखेर क्याफेको मालिक जो पोर्तुगिज थियो उसले मलाई पोर्तुगिज भाषामा भन्यो, तपाईँलाई स्वागत् छ ? के सेवा गरू ?

मलाई पानी चाहिन्छ मैले भनेँ ।

युवतीले एक बोतल पानी मलाई दिई  । उसले पानी दिने वेला मैले युवतीलाई भनेँ,  तपाईहरू नेपाली होइन भने, मैले बोलेको कसरी बुझ्नुभो ?

फेरि उसको त्यही जवाफ थियो,

नो, आइ डोन्ट स्पिक नेपाली । उसले बोल्ने बित्तिकै मैले फेरि सोधेँ, तपाईहरू नेपाली होइन र? युवती केही नबोली भित्र पसी । म नेपाली हो वा होइन केही जवाफ फर्काइन ।

 

म एकछिन अलमलमा परेँ । किन सोधेछु भनेर मनमा कताकता अप्ठ्यारो लाग्यो ।  म पैसा तिरेर निस्केँ । मानौँ उनीहरू नेपाली थिएनन् भने मैले नेपाली भाषा बोल्नुहुन्छ भन्दा उनीहरूले अंग्रेजी भाषामा नेपाली बोल्दैनौँ भन्यो । उनीहरू नेपाली भाषा नबुझेको भए, नेपाली भाषा बोल्दिनँ भनेर कसरी जवाफ फर्काउन सके ? तपाईहरू नेपाली होइन र ? सोध्दा मौन बस्नुको अर्थ के हो ?  नेपाली होइनौँ वा हौँ किन भन्न सकेनन् ? आफनो पहिचान लुकाउन समेत पछि परेनन् । भाषा बोल्न समेत मानेनन्  ।

 

उनीहरूभन्दा मलाई क्याफेको मालिक आफ्नो भाषाप्रति इमानदार लाग्यो । कमसेकम उसले विदेशिसित आफ्नो देशको भाषामा कुरा गर्यो । तर, एक नेपालीले अर्को नेपालीसित नेपाली भाषामा कुरा गर्न लजायो ।

“कोही आफ्नो भाषाप्रति यति विधि बेइमान कसरी बन्न सक्छ कोही आफ्नो पहिचान कसरी लुकाउन सक्छ ? नेपालीहरू नै होलान् जो आफ्नो भाषाप्रति इमानदार बन्न नचाहने । आफ्नो पहिचानलाई ध्वस्त पार्न खोज्ने नेपाली नै होलान् । कोही कसरी आफ्नो भाषाप्रति यति गैर जिम्मेबार बन्न सक्छ ? परिचय दिन नचाहने र  नेपाली भाषा समेत बोल्न नखोज्नु भनेको आफ्नो भाषा र देशप्रति गद्दार बन्नु हो । नेपाली भाषा बोल्नै नखोज्ने कारण के हो ? नेपाली भाषामा कुरा गर्दा किन सर्वश्व गुमाएको अनुभव गर्छन् ?” 

 

अर्को प्रसंग जोड्न मन लाग्यो । समुद्र घुम्न गएको थिएँ   त्यहाँ  धेरै युवायुवतीहरू बालुवामा आ–आफ्ना समूहमा बसेर घाम ताप्दै थिए । कोही नुहाउन व्यस्त थिए । कोही  ड्रिङ्कस लिँदै गफिँदै थिए । नेपाली युवायुवतीका तीनओटा  टोलीहरू पनि थिए । एक युवायुवतीका टोलीले स्पिकर बोकेर गएका रहेछन् । उनीहरूले,

किन समयसँगै

तिमी बदलिँदै गयौ

तिमीलाई सधैँ

उस्तै पाउन सकिनँ

 

बोलको गीत घन्काए स्पिकरमा । विदेशमा त्यो पनि समुद्री किनारमा त्यति विदेशीहरूको भिडमा नेपाली गीत सुन्न पाउनु खुसी र गर्वको कुरा हो । नेपाली गीत घन्किन थालेपछि अर्को समूहमा भएका युवाहरू गीत घन्काएको टोलीतिर हेर्दै भनी, जहाँ गए नि रङ् देखाइहाल्ने कस्तो नराम्रो नेपालीको बानी यार । अनि त नेपालीहरूलाई विदेशिहरूले हेप्छन् ।

 

अर्को युवाले नेपाली गीत सुनेर आफनो इज्जत गुमाएकै जस्तै गरेर कान थुन्दै गीत बज्दै गरेको युवकको टोटी छेउ गएर भन्यो, के नेपाली गीत बजाइरा । लाजैमर्दो ।

उसको कुरा सुनेर स्पिकर बजाइरहेको युवकले भन्यो, कुन गीत बजाउनु त ? अंग्रेजी गीत बजाउनुस् । भन्यो  त्यो युवकले । उसले भनेअनुसार अंग्रेजी गीत घन्कायो ।

 

छेउको पोर्तुगिज टोलीमा,

एला दिज केमे अमा

मास सेउ के नाउ

आते फिन्ङगे वाइ मास इ एइ भाउ

पुर्के एउ सेउ

भामुस फिकार पुर आकि

 

बोलको पोर्तुगिज गीत घन्किरहेको थियो ।

 

छेउकै अफ्रिकनहरूको टोलीमा,

आते फिन्ङगे वा

जेरूसालेमा  इखाया लामी

इङ्गिलोन्डोलोजे उहाम्वेनामी

जुङ्गाङ्गीसिईलाना

 

“बोलको अफ्रिकन गीत घन्किरहेको थियो  । उनीहरूले आफ्नो भाषाको गीत सार्वजनिक ठाउँमा घन्काउँदा रमाउछन् भने नेपाली गीत घन्काउँदा नेपालीहरूले आफ्नो इज्जतमा किन धक्का महसुस गर्छन् ?  के नेपाली भाषा यति नराम्रो छ गीतमा सुन्न र भाषामा संप्रेषण गर्न अपमानित अनुभव किन गर्छन् नेपालीहरू ? नेपाली भाषाका शब्दहरूमा जस्तो मिठास विदेशि भाषाको शब्दहरूमा कहाँ पाउनू ? यो किन बुझ्दैनन् नेपालीहरूले ?” 

 

एक दिन म स्टेसनमा मेट्रोको पर्खाइमा थिएँ । दुईजना युवतीहरू मेरै छेउ उभिरहेका थिए । मेट्रो चढ्न पाँचजना नेपाली युवायुवती आइरहेका थिए । उनीहरूलाई देखेर दुई युवतीमध्ये आउँदै गरेका युवायुवतीहरूतिर हेर्दै एकले भनी, नेपालीहरू जहाँ देख्दा नि चिनिने । लुगा लगाउने ढङ्ग हुँदैन । जिउ पनि भ्यात्त परेको हुन्छ । भुँडी पनि त्यस्तै लागेको हुन्छ । विदेशीहरूको जिउ सर्लक्क हुन्छ जे लाउँदा पनि सुहाउने ।

 

अर्की युवतीले उसको कुरामा सहमति जनाउँदै भनी, त्यही भएर मलाई बोकाहरूसित बोल्नै मन पर्दैन ।

 

ओहो ! नेपाली भएर नेपालीहरूलाई हेर्ने यस्तो विषाक्त भाव ? एक नेपालीले अर्को नेपालीको शारिरीक संरचना र लवाइखवाई समेत  मन नपराउने रहेछन् । नेपालीले नेपालीलाई हेर्ने कस्तो नकारात्मक दृष्टिकोण ?

 

म युरोपमा जति पनि ठाउँ घुमेँ । विद्यालय, अस्पताल, सरकारी, गैरसरकारी कार्यालयदेखि  क्याफे , होटेल र सपिङ सेन्टरहरूको नाम, सेवा, सुविधाबारे जानकारी  होडिङ बोर्डहरूमा  त्यहीको भाषामै लेखिएको देखेँ। अङ्ग्रेजी भाषामा लेखिएको कहिकतै  देखिनँ । यसको अर्थ उनीहरू अङ्ग्रेजी भाषा नबोल्ने होइन । बोल्छन् । तर, आफनो देशको भाषाप्रति गौरव गर्छन् । आफ्नो भाषालाई सम्मान् गर्छन् । आफ्नो देशको भाषालाई संरक्षण गर्छन् ।

 

एकपल्ट म बिरामी परेँ । जचाउनका लागि टिकट कटाउन सेन्त्रो साउद गएँ । जसलाई प्राथमिक उपचार केन्द्र भनिन्छ । त्यहाँ जाँदा टिकट काट्ने ठाउँमा चारओटा काउन्टर थियो । मेरो पालो चार नम्बर काउन्टरमा पर्यो । त्यतिवेला मलाई  पोर्तुगिज भाषा बोल्न आउँदैनथियो । अलि अलि बुझ्थेँ मात्र । काउन्टरमा बसेकी महिलाले मलाई उताबाट के भएर आउनुभाको ? भनेर सोधी  । मलाई पोर्तुगिज भाषामा भन्न आएन । मैले अङ्ग्रेजीमा भनेँ, ज्वरो आएर र टाउको दुखेर आको ।

मैले बोलेको सुनेर उसले भनी,

अङ्ग्रेजी बोल्दैनौँ हामी । पोर्तुगिजमा भन्नुस् ।

मलाई पोर्तुगिज बोल्न आउँदैन । मैले भनेँ ।

 

त्यसो भए पोर्तुगिज भाषा बोल्ने कुनै साथीलाई लिएर आउनुस् ।  तपाईँलाई के भाको हो उहाँले उल्था गरेर मलाई भन्नुहुन्छ अनि बल्ल तपाईलाई टिकट दिन्छु  ।

मेरा कोही साथी छैनन् । म यहाँ भर्खर आको नयाँ मान्छे हुँ भनेर टिकट दिन अनुरोध  गरेँ तर उसले मानिन । टिकट दिन अस्वीकार गरी ।

 

मजस्तै मार्कामा एउटा भारतीय युवक पनि परेको रहेछ । ऊ दुई नम्बर काउन्टरमा  अङ्ग्रेजीमा  कराइरहेको थियो, पखाला लागेको एक हप्ता भइसक्यो । यहाँ धाउँदा धाउँदा हैरान भइसकेँ । कहिले पोर्तुगिज भाषा बोल्ने साथीलाई लिएर आउ भन्छ । कहिले भोलि आउ भन्छ । कहिले के भन्छ ? कहिले के भन्छ?  अब सबैभन्दा राम्रो मलाई मारेर मेरो शव पोको पारेर मेरो देश पठाइदेऊ । अनि तिमीहरूलाई शान्ति मिल्छ ।  बुझ्यौ ?

 

ऊ क्रोधित भएको देखेर गार्डलाई बोलाएर त्यो युवकलाई त्यहाँबाट निकाल्न लगायो ।

 

“त्यो स्थिति देखेर म केही नबोली निस्केँ । त्योवेला आफ्नो देश सम्झेँ । ज्वरो आको बेला बाआमाले घरमै डाक्टर बोलाएर औंषधोपचार गराएको क्षण सम्झेँ ।  आफ्नो देशमा बाआमाको साथ त थियो । मन चस्स भयो ।  ठूलो सपना देख्नु  अरूको गुलाम बन्नु रहेछ । भन्ने खालको सोच पनि आयो ।” 

 

भोलिपल्ट पोर्तुगिज भाषा बोल्ने साथीलाई लिएर गएँ । उसले मलाई ज्वरो आएर सन्चो नभएको भन्यो । त्यो महिलाले तुरून्तै टिकट दिई । म भित्र डाक्टरकोमा गएँ । डाक्टरले कुन भाषामा कुरा गर्दा तपाईलाई सहज हुन्छ भने । अङ्ग्रेजी भाषामा मलाई सहज हुन्छ भनेँ । डाक्टरले नम्र तरिकाले मसित अंग्रेजी भाषामा कुरा गरे ।

 

विदेशिहरू आफ्नो भाषाप्रति धेरै गर्व गर्छन् । उनीहरूको देशमा बस्न आउने विदेशिहरूलाई आफ्नो देशको भाषा बोल्न बाध्य बनाउछन् । भाषा नबोले तेरो उपचार नै नगर्ने समेत शर्त राख्छन्  ।

तर, नेपालीहरू नेपाली भाषा बोल्न लजाउछन् । अपमानित अनुभव गर्छन् । अबका आउने पुस्ताहरूलाई नेपाली भाषा लज्जास्पद बोध हुने साधन नबनोस् । आत्मियता र मित्रता कायम गर्ने साधन बनोस् । गौरव अनुभूत गराउने माध्यम बनोस् ।

प्रतिक्रिया दिनुहोस्