१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

एक वर्षभित्रै पुलको निर्माण सम्पन्न हुन्छ : भौतिक मन्त्री ज्वाला

 

१४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग गरेका छन् ।

प्रतिनिधि सभा सदस्य डा. नारायण खड्का, प्रदेश सभा सदस्य राजन किराँतीसहितको टोलीले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पुल निर्माणको माग गरेको हो ।

 उक्त टोलीले स्थानीय जनप्रतिनिध, कांग्रेस, एमाले, माओवादी,  समाजवादी, चौदण्डी नगरपालिकाका सबै वडाअध्यक्षसहित स्थानीय सरोकारवालाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई ज्ञापनपत्र बुझाएका छन् ।

मन्त्री ज्वालाले ज्ञापनपत्र बुझ्‍दै चौदण्डीगढी नगरपालिका वडा नम्बर-५ मा सिवाई- बेल्हा जोड्ने पुल एक वर्षभित्र निर्माण सम्पन्न गर्ने आवश्वासन दिए ।

उनले भने, ‘ चौदण्डीगढी-५का सबै जनप्रतिनिधि, दल र सबै सरोकारवालाहरूलाई म के आश्वस्त पार्न चाहन्छु भने उक्त भक्तिएको पुलको पुन: निर्माणको काम एक वर्षभित्रै हुन्छ। यसमा चिन्ता नलिन म आग्रह गर्दछु। काम नयाँ शिराबाट सुरू हुन्छ।’

साथै उक्त पुलको प्रक्रियामा लैजान केही समय लाग्‍ने र पुलको भेरिएशन मन्त्रिपरिषदबाट पास गराएर कामलाई द्रूत गतिमा अगाडि बढाउने प्रतिबद्धता मन्त्री ज्वालाले बताए ।

यस्तै सडक विभाग विभागको  निर्देशक सुशिलबा बाबु ढकालले उक्त पुलको टेक्निकल समस्‍याको सबै पत्ता लगाइ सकिएको बताए । उनले भने, ‘ हामीले पुलको फिल्ड भिजिट नै गरेका थियौं। त्यसको बिम्ब र स्ल्याबसहितको निरीक्षण गरे रिपोर्ट आइसकेको छ।अब खाली प्रक्रिया र मन्त्रिपरिषदबाट भेरिएशन पास गराएपछि काम सुरू भइहाल्छ।’

यस्तै भौतिक मन्त्रालयका  निमित्त सचिव ई. अर्जुङ जङथापाले आगामी बर्खा सिजनमा चौदण्डीगढी-५मा रहेको सिवाई-बेल्हा जोड्ने पुल सम्पन्न गर्ने गरी प्रक्रिया सुरू भइसकेको बताए । उनले भने, ‘ हामीले यसबारेमा सडक विभाग र निर्माण कम्पनीसँग बसेर छलफल गरिसकेका छदं। अब खाली मन्त्रिपरिषदबाट पुलको भेरिएशन पास गराउन बाँकी छ।यसपछि निर्माण कम्पनीले काम थाले हुन्छ।’

यता, चौचण्डीगढी-५ का वडाअध्यक्ष तुलसी ढकालले अब पनि पुन निर्माणमा ढिलाइ भए माइतीघरमा आन्दोलन गर्ने चेतावनी दिए ।

‘ उद्‌घाटन अगाडि नै पुल भाँचिएपछि निराश भएका हामी स्थानीयबासीलाई प्रत्‍येक वर्खामा वार-पार गर्न समस्या हुन्छ। त्यतिमात्र होइन विद्यार्थीहरू स्कुल जान पाउँदैनन्। सिवाई-सुन्दरपुरका स्थानीयहरू यही त्रियुगाको बाढीले बेल्टार बजार जान पाउँदैनन्,’ उनले भने, ‘दैनिक जीवन नै असहज हुने तरिकाले भइरहेको यही पुलले हो। अब पनि नबने हामी काठमाडौंमै अनशन बस्ने गरी आएका छौं।’

चौदण्डीगढी नगरपालिका वडा नम्बर-५ सिवाई-बेल्हा जोड्‍ने पुल २०६६ सालमा शिलान्यास भई २०७७-०७८ मा निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेको थियो । तर पुलका दुईवटा पिलर भासिएर तीन वटा स्पानमा क्षति पुगेपछि पुल अलपत्र अवस्थामा छ ।

यो पुलले उदयपुरलाई खोटाङको दक्षिणी भेग र भोजपुरको पश्चिमी भेगलाई तराई-मधेशसँग जोड्ने गर्दछ । साथै उदयपुरकै चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ५, ९ र १० का करिब २० हजार जनसंख्यालाई नगरको केन्द्रसँग सिधा सम्पर्क गराउँछ। तर पुल निर्माण सम्पन्न नहुँदा जिल्लावासीलाई आउ-जाउ गर्न समस्या भएको छ ।

पुल नबन्दा सर्पदंश लगायतका बिरामीहरुलाई उपचारका लागि अस्पताल लैजानसमेत समस्या भएकाले तत्काल पुल निर्माण सम्पन्न गरिदिन प्रतिनिधिमण्डलले मन्त्रीसँग माग गरेको हो ।

बाढीले क्षति पुगेको पुलमा २५/ २५ मिटरका १२ स्पान छन् भने दुई स्पान र एक पिलर धसिएको छ । पुलको लम्बाई ३ सय ७ मिटर र ५ मिटर चौडाइ रहेको छ ।

पुलको निर्माण महालक्ष्मी/लोकप्रिय जेभी कन्स्ट्रक्सन कलंकी काठमाडौंले गरेको थियो । पुलको डिजाइन र माटोको परीक्षण काठमाडौं बालाजुस्थित स्वाइल कन्सल्टेन्सी कम्पनीले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्