रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ५, नहरको डिलमा एउटा झुपडी शैलीको घर छ । त्यही झुपडी भित्र १९ वर्षका विजय यादव विगत नौं महिनादेखि मृत्युसँग लडिरहेका छन् । गरिबीको चपेटामा परेको यो परिवारमा अहिले खुसी होइन, केवल आँसु र छटपटी मात्र छ ।
जयराम यादवका छोरा विजयको शरीर अहिले सुकेर अस्थिपञ्जर जस्तै भएको छ । मासु सुकेर करङका हड्डीहरू प्रस्टै देखिन थालेका छन् । हिँडडुल गर्न त परको कुरा, उनी ओछ्यानबाट उठ्न समेत नसक्ने गरी थलिएका छन् ।
विजयको व्यथा नौं महिनाअघि पेटको दुखाइबाट सुरु भएको थियो । बुबा जयरामले छोरालाई निको हुने आशमा चन्द्रपुरका विभिन्न अस्पतालहरू धाए । तर, नियति कस्तो भने अहिलेसम्म उनको रोग के हो भन्ने नै पत्ता लाग्न सकेको छैन ।
विभिन्न चिकित्सकले फरक-फरक रोगको शंका गरी धेरैथरीका औषधि खुवाइयो, तर कुनैले काम गरेन । उपचार नहुँदा रोग झन् बल्झिँदै गएर अहिले विजय ओछ्यानमै थुनिएका छन् ।
‘ठूलो र सुविधा सम्पन्न अस्पताल लैजानसके रोग पत्ता लाग्थ्यो कि, मेरो छोरा बाँच्थ्यो कि,’ जयराम भक्कानिँदै भन्छन् । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका जयरामलाई बिहान-बेलुकाको छाक टार्नै धौ-धौ छ । यस्तो अवस्थामा छोरालाई महँगो अस्पताल लैजाने कुरा उनका लागि एउटा अधुरो सपना जस्तै बनेको छ ।
छोराको रेखदेखका लागि कहिले बुबा त कहिले आमा घरमै बस्नुपर्छ । यसले गर्दा उनीहरूको कमाउने बाटो पनि बन्द भएको छ । घरमा खाने अन्न छैन, छोराको ओखती गर्ने पैसा त टाढाको कुरा ।
छोराको छटपटी देख्न नसकेर जयरामले सबैसामू हात फैलाएका छन् । ‘कसरी उपचार गरौं, म त गरिब मान्छे, कसैले मेरो छोरालाई बचाइदिए हुन्थ्यो,’ उनले भावुक हुँदै अपिल गरे ।
यदि समयमै उचित उपचार र खानपान पाए विजय फेरि आफ्नो खुट्टामा उभिन सक्थे । एउटा तन्नेरी छोरालाई आँखै अगाडि सुकेर मर्न लागेको देख्नुपर्ने बाबुको यो पीडा वर्णन गर्न सकिँदैन । विजयलाई अहिले आर्थिक र मानवीय सहयोगको खाँचो छ ।







