रौतहट । रौतहट जिल्लाको स्वास्थ्य क्षेत्रमा एउटा ठुलो र ऐतिहासिक सफलता मिलेको छ ।
जिल्लाकै अग्रणी स्वास्थ्य संस्था चन्द्रपुर अस्पताल प्रा.ली. मा पहिलो पटक नवजात शिशुको फोक्सोको विकास नभएको जटिल अवस्थामा गरिने विशेष उपचार प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । समय अगावै (प्रि-म्योचर) जन्मिएका वा जन्मनासाथ फोक्सोको पर्याप्त विकास नभएर गम्भीर अवस्थामा पुगेका नवजात शिशुका लागि आवश्यक पर्ने अत्यन्तै संवेदनशील र जटिल ‘सर्फेक्टेन्ट एडमिनिस्ट्रेशन प्रोसिजर’ चन्द्रपुर अस्पतालमा पहिलो पटक सफलतापूर्वक गरिएको हो ।
अस्पतालका प्रख्यात तथा अनुभवी बालरोग विशेषज्ञ डा। श्याम बाबु साह को प्रत्यक्ष नेतृत्वमा यो उपचार प्रक्रिया सम्पन्न भएको छ । जन्मिएलगत्तै शिशुले श्वास फेर्न गम्भीर कठिनाइ भोगिरहेको र फोक्सो खुम्चिएको अवस्थामा डा. साहसहितको दक्ष पेडियाट्रिक (बालरोग) टोलीले तत्कालै उपचारमा खटीएको अस्पतालका प्रमुख डा. सुवास चौधरीले बताए ।
उनका अनुसार नवजात शिशुको फोक्सोलाई पूर्ण रूपमा खुलाउन र श्वासप्रश्वास प्रणालीलाई सामान्य अवस्थामा फर्काउन यो कृत्रिम तरल पदार्थ (सर्फेक्टेन्ट)लाई सिधै शिशुको श्वास नलीमार्फत फोक्सोमा पठाउनुपर्ने हुन्छ । यो अत्यन्तै संवेदनशील प्रक्रिया मानिन्छ, जसमा थोरै मात्र असावधानी भएमा शिशुको ज्यान जान सक्ने जोखिम रहन्छ। तर, डा. साह सहित अस्पतालको नवजात शिशु सघन उपचार कक्षको टिमको अथक प्रयासका कारण यो उपचार पूर्ण रूपमा सफल भएको उनले जानकारी दिए ।
यस ऐतिहासिक र सफल उपचार पश्चात चन्द्रपुर अस्पताल प्रशासनले बालरोग विशेषज्ञ डा। श्याम बाबु साह र उपचारमा खटिएका सम्पूर्ण नर्सिङ स्टाफ तथा पेडियाट्रिक टिमप्रति विशेष धन्यवाद एवं हार्दिक आभार प्रकट गरेको छ । अस्पतालले यस कार्यलाई आफ्नो टिमको सामूहिक दृढता र उत्कृष्ट नर्सिङ केयरको परिणाम भएको बताएको छ ।
यसअघि रौतहट जिल्लामा यस्तो जटिल समस्या भएका नवजात शिशुहरू फेला पर्दा थप उपचारका लागि वीरगन्ज, चितवन वा काठमाडौँका महँगा अस्पतालहरूमा रेफर गर्नुपर्ने बाध्यात्मक अवस्था थियो । बाटोमै शिशुको ज्यान जाने जोखिम र आर्थिक भार बेहोर्नुपर्ने जिल्ला बासीको बाध्यता अब अन्त्य हुने भएको छ ।
चन्द्रपुर अस्पतालमा यो सेवा सफलतापूर्वक सुरुवात भएसँगै जिल्लामै नवजात शिशु उपचार सेवामा नयाँ आशा र ठुलो विश्वास थपेको छ । अब स्थानीय स्तरमै जटिल प्रकृतिका शिशुहरूको ज्यान जोगाउन सकिने सुनिश्चितता बढेको छ, जसले समग्र रौतहट र आसपासका जिल्लाका सर्वसाधारणलाई ठुलो राहत मिल्ने विश्वास गरिएको छ ।







