महोत्तरी, ६ पुसः बर्दिबास–१४ स्थित गौतम होटलले बर्दिबास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका बालबालिकाको शिक्षाका लागि रु तीन लाख ११ हजारको अक्षयकोष प्रदान गरेको छ । होटलका सञ्चालक हीरालाल गौतमले शनिबार आफ्नो ५०औँ जन्मदिनको अवसर पारेर मुसहर बालबालिकाको शिक्षामा खर्च हुनेगरी स्थापना गरिएको कोष मुसहर बस्तीका शिक्षा अभियानी मञ्जय सदा मुसहरसहितका बालबालिकालाई रु तीन लाख ११ हजारको चेक हस्तान्तरण गरेका हुन् ।
धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेर २०७४ साल वैशाख १ गते हस्तान्तरण गरेको ५२ घर बस्तीका बालबालिकाको शिक्षामा खर्च गरिने गरी गौतम होटलले अक्षयकोष स्थापनाका लागि यो रकम प्रदान गरेको हो । शिक्षामा धेरै पछि परेको मुसहर समुदायका बालबालिकाको शैक्षिक सामग्री, औपचारिक पोसाक र विपद्मा सहयोग पुग्नेगरी स्थापना हुने कोषका लागि यो रकम प्रदान गरिएको नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्षसमेत रहेका गौतमले स्पष्ट पारे।
जिल्लाभरिकै तथ्याङ्कले मुसहर शैक्षिक, सामाजिक, राजनीतिक र आर्थिक रूपमा पछि परेको जाति समुदाय देखिन्छ, हामीले यिनको उत्थानका लागि शिक्षा पहिलो प्राथमिकता हुने ठानेर यो रकम प्रदान गरेका हौँ”, गौतमले भन्नुभयो । यो रकममा आपूmमात्र नभई होटलका एक सय ३० जना कामदारको पनि योगदान मिसिएको उनले स्पष्ट पारे ।
विसं २०७४ मा ५२ घरमा २०० हाराहारीको जनसङ्ख्या रहेको यो मुसहर बस्तीमा त्यसयता भिन्न भई बस्ने बढ्दै गएर अहिले ७५ परिवारभन्दा बढी छन् । यहाँको करिब ३०० जनसङ्ख्यामा एक जना युवा मञ्जय सदाले स्नातक उत्तीर्ण गरेका छन् । अन्य बालबालिका विद्यालय पुर्याउन र टिकाउन निरन्तर प्रयत्न भइरहे पनि यहाँबाट माध्यमिक शिक्षा परीक्षा एसइई उत्तीर्ण गर्ने थपिन नसकेका बस्तीका शैक्षिक अभियानी मञ्जय सदा बताउछन।
गौतम होटलले यो कोषमा बर्सेनि एक लाख थप्दै जाने घोषणा गरेको छ । यसअघि आफ्नो होटल परिवारबीच नमूना बस्तीकै लागि ‘गौतम होटल शिक्षा अक्षयकोष’ नाम दिएर परिवारभित्रबाट सङ्कलन भएको रु एक लाख २० हजार रकमबाट मुसहर बालबालिकाको पोसाक, स्कुल ब्याग कापी पुस्तक राख्ने झोला र कापी, सिसाकलमसहितका शैक्षिक सामग्री प्रदान गरेको थियो । बस्तीबाट अहिले ५० जना बालबालिका विद्यालय जाने गरेका सदाको भनाइ छ ।
मुसहर जातिमा यो पछौटेपन यहाँ नमूना मुसहर बस्ती मात्र नभई जिल्लाभरिमै उस्तै देखिन्छ । विसं २०७८ को पछिल्लो राष्ट्रिय जनगणनाअनुसार जिल्लामा मुसहरको जनसङ्ख्या २७ हजार ३५२ छ । यो जिल्लाको कूल जनसङ्ख्या सात लाख छ हजार ९९४ को ३।८७ प्रतिशत रहेको जिल्ला तथ्याङ्क कार्यालयले जनाएको छ । मुसहरको यो जनसङ्ख्याभित्र माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गर्ने अझै ५० सङ्ख्या नाघ्न सकेको छैन । उच्च शिक्षामा प्रवेश गर्ने २० जनामुनि रहेका जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमार लाल कर्ण बताउछन । यो जाति समुदायलाई शिक्षामा जोड्न आर्थिक गतिविधिमा सँगसँगै डोहोर्याउनेगरी कार्यक्रम बन्न आवश्यक रहेको कर्णको ठम्याइ छ ।







