रातो कागज

महोत्तरी, १९ साउन : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले धार्मिक पर्यटन मधेसको समृद्धिको मुख्य आधार भएको बताएका छन् । आज साउने सोमबारको अवसरमा महोत्तरीको बर्दिवास–५ टुटेश्वरस्थित टुटेश्वरनाथ महादेवको दर्शनपछि मुख्यमन्त्री सिंहले धार्मिक पर्यटन मधेसको कृषिपछिको आर्थिक समृद्धिको मुख्य आधार बन्ने उल्लेख गरे ।
मधेसका कोशीदेखि ठोरीसम्म प्रसिद्ध धार्मिकस्थल छन्, हामीले यहाँ पर्यटन प्रवर्द्धन केन्द्रित पूर्वाधार निर्माण र सम्पदाको संरक्षण गर्न पर्दछ, सिंहले भने, “मधेस प्रदेश सरकार यिनको विकास र सम्वर्द्धनप्रति प्रतिबद्ध छ । महोत्तरीका टुटेश्वरनाथ, पञ्चधुरा माईस्थान र राइमण्डलधाम क्षेत्रमा प्रदेश सरकारको चासो यसबीचमा थालिएका कामबाट देखिने उनले बताए ।
महोत्तरीका टुटेश्वरनाथ, पञ्चधुरा माईस्थान र राइमण्डलधाम सघन वनक्षेत्रभित्र चुरे पर्वत श्रेणीेका काखमा भएका हुँदा भौगोलिक र प्राकृतिक रूपले रमणीय ठाउँ भएको मुख्यमन्त्री सिंहको भनाइ छ । प्रदेश सरकारले आफ्नो भूगोल क्षेत्रका पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि स्थानीय सरकारसँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।
आज टुटेश्वरनाथ र पञ्चधुरा माईस्थानको दर्शनपछि मुख्यमन्त्री सिंहले त्यहाँ थालिएका पूर्वाधार निर्माणका कामको अवलोकन गर्नुभयो । त्यस अवसरमा बर्दिवास नगरपालिकाका जनप्रतिनिधि, नगरको संस्कृति तथा पर्यटन प्रवर्द्धन समिति र नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घका पदाधिकारीले पर्यटन प्रवद्र्धनका क्षेत्रमा गरिन पर्ने कामबारे मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया