१२ श्रावण २०८१, शनिबार
अर्थ बैंक–वित्त सूचना प्रविधि

नेपालबाट ६७ अर्ब बढीको आईटी सेवा निर्यात, एक वर्षमा ६४ प्रतिशतले वृद्धि

१५ साउन, काठमाडौं । नेपालबाट सन् २०२२ मा करिब ५१ करोड ५० लाख अमेरिकी डलर अर्थात ६७ अर्ब ९३ करोड नेपाली रूपैयाँको सूचना प्रविधि सेवा निर्यात भएको छ ।

सर्वाङ्‍गीण विकास अध्ययन केन्द्र (आईआईडीएस) को नेतृत्वमा भएको अध्ययनले सन् २०२२ मा मात्रै करिब ६८ अर्ब रुपैयाँको सूचना प्रविधि सेवा निर्यात भएको देखाएको हो ।

सन् २०२२ मा १०६ वटा सूचना प्रविधि कम्पनी र १४ हजार ७२८ स्वतन्त्र निर्यातकर्ता (फ्रिलान्सर) यो सेवा निर्यात गरेका हुन् ।

यस्तै घरमै बसेर ६६ हजार ५०९ जना फ्रिलान्सरहरू डिजिटल प्ल्याटफर्ममा आईटी सेवा निर्यात गरिरहेको अध्ययनले देखाएको छ । देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा आईटीको योगदान १.४ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ । मुलुकको कुल विदेशी विनिमय सञ्चितिमा आईटी सेवाको योगदान ५ दशमलव ५ प्रतिशत रहेको पनि अध्ययनले देखाएको छ ।

आईटी कम्पनीले सन् २०२२ मा २० करोड १० लाख, आईटी फ्रिलान्सरले ६ करोड ९० लाख र सूचना प्रविधि सेवा इनेबल सर्भिस (आईटीईएस) फ्रिलान्सरले २४ करोड ४० लाख अमेरिकी डलर बराबरको सेवा निर्यात गरेको अध्ययनमा उल्लेख छ ।

यस्तै सन् २०२१ को भन्दा सूचना प्रविधि सेवा निर्यात ६४.२ प्रतिशतले वृद्धि भएको छ । सन् २०२१ मा ३१ करोड ३० लाखको आईटी सेवा निर्यात भएको थियो । यस्तै सन् २० सय २० मा ३० करोड ८० लाख बराबरको आईटी सेवा नेपालबाट निर्यात भएको थियो ।

आईआईडीएसले प्राइमरी डेटाको रूपमा ३८९ फ्रिल्यान्सर र ८६ आईटी कम्पनीको सहभागीतामा उक्त अध्ययन गरेको थियो । यस बाहेक १०० बढी सरोकारवालासँग परामर्स समेत गरिएको थियो ।

सेकेन्डरी डेटाको रूपमा नेपाल राष्ट्र बैंक, आन्तरिक राजस्व विभाग, राष्ट्रिय तथ्यांक कार्यालय, कम्पनी रजिष्टारको कार्यालय र अनलाइन लबर इन्डेक्सको तथ्यांकलाई लिइएको थियो ।

नेपालमा आईटी सम्बन्धी सीप सीमित मात्रामा रहेको रिपोर्टले देखाएको छ । नेपालमा आईटी क्षेत्रको विकासका लागि यस क्षेत्रमा जनशक्तिको सीप र क्षमता बढाउनुपर्ने, उच्च गतिको इन्टरनेटको पहुँच बढाउनुपर्ने सुझाव पनि अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्