२३ मंसिर २०८१, आईतवार
अर्थ बागमती बैंक–वित्त मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

डिजिटल भुक्तानीमा नेपालको फड्को : क्यूआर कोडप्रति बढ्दो आकर्षण

१३ मङ्सिर, काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक भुक्तानी प्रणाली सूचकांक प्रतिवेदनले नेपालमा डिजिटल भुक्तानीको प्रयोग उल्लेखनीय रूपमा बढेको देखाएको छ ।

प्रतिवेदनका अनुसार २०८१ को बैशाखमा (मध्य मे २०२४) सम्म मोबाइल बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर कोड र वालेटजस्ता सेवाहरूको प्रयोग उल्लेखनीय रूपमा वृद्धि भएको देखाएको हो ।

राष्ट्र बैंकको प्रतिवेदनका अनुसार बैशाख महिनामा मोबाइल बैंकिङमा ठूलो फड्को आएको छ । २०८१ को बैशाखमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ४२ लाख ४४ हजार ५१७ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ठुलो फड्को हो ।

बैशाखमा कनेक्ट आईपीएस प्रयोगकर्ताको संख्या ६३ लाख १४ हजार ९९६ पुगेको छ । वालेट सेवाको प्रयोग उल्लेखनीय रूपमा बढेर २ करोड ७८ लाख ५६ हजार ३२९ लेखन पुगेको छ । यसैगरी, क्यूआर कोडमार्फत भुक्तानीमा वृद्धि भएको छ ।

क्यूआर कोड भुक्तानीमार्फत १७ लाख ६३ हजार ९६५ कारोबार भएका छन्, जुन अघिल्लो महिनाको तुलनामा ९.५ प्रतिशतले वृद्धि भएको हो । यद्यपि, इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या केही घटेर ३ लाख ७ हजार ३१६ मा सीमित भएको छ ।

यसैगरी, राष्ट्र बैंकको प्रतिवेदनका अनुसार २०८१ जेष्ठ (मध्य जुन २०२४) सम्मको भुक्तानी प्रणालीको तथ्यांक अनुसार पनि नेपालमा डिजिटल भुक्तानी प्रणालीको निरन्तर विकास र यसको बढ्दो लोकप्रियता स्पष्ट पारेको छ ।

जेठमा मोबाइल बैंकिङ सेवाका प्रयोगकर्ताको संख्या ४४ लाख ३७ हजार २३१ पुगेको छ, जुन गत महिनाको तुलनामा करिब ५ प्रतिशतले वृद्धि भएको हो । वालेट प्रयोगकर्ताको संख्या ३ करोड २५ लाख १४ हजार ९६८ पुगेको छ । वालेटमार्फत गरिएको कारोबारको कुल रकम २९ अर्ब ३५ करोड ४ लाख रुपैयाँ पुगेको छ ।

कनेक्ट आईपीएस प्रयोगकर्ताको संख्या ६५ लाख २८ हजार ८५२ पुगेको छ । यसैगरी, क्यूआर कोडमार्फत गरिएका भुक्तानी १९ करोड ८२ लाख २२ हजार कारोबार पुगेको छ ।

इन्टरनेट बैंकिङ सेवाको प्रयोग अघिल्लो महिनाको तुलनामा थोरै सुधार भएर ३ लाख ३० हजार ४१४ पुगेको छ । यद्यपि, डिजिटल भुक्तानीको अन्य विधिमा आकर्षण बढेसँगै यसमा अपेक्षित सुधार देखिएको छैन ।

आषाढमा डिजिटल भुक्तानीको नयाँ रेकर्ड राखेको भुक्तानी प्रणालीको तथ्यांकले देखाएको छ । अषाढमा पनि मोबाइल बैंकिङ अग्रपंक्तिमा रहेको छ । मोबाइल बैंकिङ सेवाका प्रयोगकर्ताको संख्या ४५ लाख ६६ हजार ९०१ पुगेको छ भने यस माध्यमबाट गरिएका कारोबारको कुल संख्या ४५ करोड ६९ लाख नाघेको छ ।

असारमा कनेक्ट आईपीएसको उपयोगमा पनि वृद्धि भएको छ । जसमा कनेक्ट आईपीएस प्रयोगकर्ताको संख्या ७७ लाख ८७ हजार २८२ पुगेको छ, भने गरिएका कारोबारको कुल रकम ६६ अर्ब ६५ करोड नाघेको छ ।

क्यूआर कोडमार्फत गरिएका भुक्तानी २० करोड ८२ लाख ५६ हजार १५ पुगेको छ । यस विधिले डिजिटल कारोबारलाई अझ सरल र सुविधाजनक बनाएको देखिन्छ । वालेट सेवाको प्रयोग ३२ करोड १० लाख ५९ हजार ९१७ कारोबारसम्म पुगेको छ ।

त्यस्तै, ई–कमर्स मार्फत भएको कारोबार १ लाख ४५ हजार ९७७ पुगेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी, डेबिट कार्ड प्रयोग र शाखारहित बैंकिङको तुलनामा अन्य डिजिटल भुक्तानी माध्यमहरूको लोकप्रियता बढेको देखिन्छ ।

साउन महिनाको तथ्याङ्क अनुसार डिजिटल भुक्तानीमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या ४७.४६ लाख पुगेको छ, जुन २०८० साउनको तुलनामा ५०.६५% को वृद्धि हो । साउनमा कनेक्टआईपीएस र क्यूआर कोडको प्रयोगमा तीव्र वृद्धि भएको छ ।

कनेक्टआईपीएस मार्फत गरिएको कारोबार संख्या ६८.४४ लाख रहेको छ, भने क्यूआर आधारित भुक्तानी २२.९३ लाख पुगेको छ । यी दुबै प्रणालीको लेनदेन रकम पनि क्रमशः ५२५.३३ करोड र ६२.२८ करोड पुगेको छ ।

साउनमा मोबाइल वालेट प्रयोगकर्ताहरू ३०.८८ लाख, ई–कमर्स कारोबार १.५० लाख, इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरू ४.०९ लाख भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार, २०८१ भदौमा केही डिजिटल भुक्तानी माध्यमहरूको प्रयोगमा कमी आए पनि, समग्रमा डिजिटल भुक्तानी प्रणालीको प्रयोग प्रभावकारी रहेको छ । भदौमा मोबाइल बैंकिङको प्रयोगमा गिरावट आएको छ ।

साउनमा ४७.४६ लाख प्रयोगकर्ता रहेकोमा भदौमा यो संख्या घटेर ४३.१४ लाखमा झरेको छ । कनेक्टआईपीएस र क्यूआर कोडको प्रयोग स्थिर रहेको छ । कनेक्टआईपीएसको कारोबार ६८.५६ लाख रहेको छ भने क्यूआर आधारित कारोबारको संख्या २१.५७ लाख पुगेको छ । त्यस्तै भदौमा इ–कमर्स कारोबारमा वृद्धि भएको छ । साउनको तुलनामा भदौमा १.५७ लाख कारोबार पुगेको छ । साउनको ३०.८७ लाख प्रयोग भएको वालेट भदौमा घटेर २९.१३ लाख प्रयोगकर्तामा सीमित भएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको २०८१ असोज महिनाको तथ्याङ्कले डिजिटल भुक्तानी प्रणालीमा क्रमिक सुधारको संकेत गरेको छ । असोजमा मोबाइल बैंकिङ, कनेक्टआईपीएस र डेबिट कार्डको प्रयोगमा वृद्धि भएको छ ।

असोजमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या ४४.०४ लाख पुगेको छ, जसले गत भदौको तुलनामा सुधार देखाएको छ । लेनदेनको कुल रकम ४०१.२४ करोड पुगेको छ । कनेक्टआईपीएसमार्फत ७४.९४ लाख कारोबार सम्पन्न भएका छन । साथै, डेबिट कार्ड प्रयोगकर्ताको संख्या १२.८८ लाख पुगेको छ, जुन गत महिना भन्दा धेरै हो ।

असोजमा क्यूआर कोड आधारित भुक्तानी स्थिर रहँदा क्यूआर कोड कारोबार संख्या २०.४९ लाख पुगेको छ ।ई–कमर्स कारोबारमा भने कमी आएको छ । भदौको तुलनामा ई–कमर्स कारोबार थोरै घटेर १.५१ लाखमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्