१२ श्रावण २०८१, शनिबार
सूचना प्रविधि

अपराध अनुसन्धानको सारथी बन्दै सिसीक्यामेरा

५ साउन, काठमाडौं । साउन ३ गते बुधबार काठमाडौंको सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु फेला पर्‍यो । बिहान पौने १० बजेतिर प्रहरी कन्ट्रोलमा फोन आयो, ‘सिनामंगलस्थित खोटाङ हलेसी सुन चाँदी पसल अगाडि बम जस्तो देखिने वस्तु राखिएको छ ।’ लगत्तै यो सूचना प्रहरी वृत्त, गौशालासम्म पुग्यो, प्रहरीको टोली पुगेर घटनास्थललाई सुरक्षित गरायो ।

त्यहाँ ‘नेपाल उत्थान क्रान्तिकारी पार्टी’ को नाममा एउटा पर्चा पनि भेटियो । त्यसमा ज्वेलरीका सञ्चालकलाई आफ्नो पार्टीलाई सहयोग गर्न भनिएको थियो । ‘.. तपाईंको सहयोगले हाम्रो देश र जनताहरुलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो’, पर्चामा भनिएको थियो, ‘यहाँ आरडीएक्स बम बारुदको बम राखिएको छ, सावधान रहनु होला ।’

घटनास्थलमा पुगेर प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई खबर गर्‍यो । सेनाको टोली आएर डिस्पोज गर्ने प्रक्रिया थाल्यो । त्योबीचमा प्रहरी वृत्त, गौशालाका डीएसपी समिरबाबु खड्कासहितको टोली नजिकै रहेको पसलका क्लोज सर्किट (सीसी) क्यामराको दृश्यहरु हेर्न थाल्यो ।

त्यसक्रममा शंकास्पद वस्तु राखिएको पसल अगाडि सडक पारिपट्टी रहेको सीसी क्यामरामा शंकास्पद वस्तु राख्ने व्यक्तिको कम्मरमुनिको भाग देखियो ।

बिहान ७ बजेर ९ मिनेट जाँदाको फुटेजमा टिसर्टको थोरै भाग, निलो पाइन्ट र चप्पल लगाएको व्यक्तिले शंकास्पद वस्तु खसालेको देखिएको थियो ।

प्रहरीले अन्य पसलको पनि सीसी टीभी हेर्दै उनले त्यो ठाउँ छाडे नछोडेको निष्कर्ष निकाल्यो ।  त्यसक्रममा उनी टाढा नपुगेको हुनसक्ने देखियो । कतै आरोपी मानिसहरुको भीडतिरै पो छन् कि ? प्रहरीलाई शंका थियो । त्यसैले हुलियाका आधारमा प्रहरी टोली खोजीमा आसपास परिचालित थियो ।

त्यसक्रममा प्रहरीले घटनास्थल नजिकै रहेको सुदूरपश्चिम खाना खाजा एण्ड सेकुवा घर सिनामंगलबाट आरोपी रौतहटका २८ वर्षीय खजयन्ती पासवानलाई पक्राउ गर्‍यो । पक्राउ गरेर लैजाँदा प्रहरीको पक्षमा भीडले नारा लगायो ।

पक्राउ परेपछि खुल्यो, प्रहरीले पहिले शंका गरेझैँ आरोपी पासवान भीडमै बसेर रमिता हेरिरहेका रहेछन् ।

सीसीक्यामेरामा हेर्दा घटनास्थलको फोटोमा पासवान भिडको दोस्रो लहरमा देखिन्छन् ।

अगाडि सशस्त्र प्रहरीको टोली घटनास्थल सुरक्षामा खटिएको छ भने पछाडि उनी एक जना व्यक्तिबाट थोरै छेलिएर बसेका छन् । पछि १२ बजेर ४ मिनेट जाँदा प्रहरीले उनलाई नजिकै रहेको होटलबाट पक्राउ गर्‍यो ।

ज्वेलरीका सञ्चालक मने विश्वकर्माका अनुसार उनलाई ५ लाख रुपैयाँ माग्दै धम्कीसहितको फोन पटक-पटक आएको थियो ।

यस्तै गत वैशाख ७ गते कपनको सरस्वतीनगरमा भएको निरा पाण्डे आचार्यको हत्यालगत्तै आरोपी टेम्पो चढेर भागेको  रहस्य  प्रहरीले सीसी क्यामेराको मद्दतबाट पत्ता लगायो । सिक्री लुटपाटको उद्देश्यबाट भएको हत्यापछि आरोपी पहिले टेम्पु चढेर चाबहिलसम्म र त्यहाँबाट पठाओ चढेर मनोहरा पुलसम्म पुगेको प्रहरीले पत्ता लगायो। 

बागलुङ स्थायी घर भएकी निरा पाण्डे आचार्यको आफैले सञ्चालन गरेको निरु किचन नामक भाँडा पसलमा हत्या भएको थियो । हत्याको ९ दिनपछि शुक्रबार राति मात्रै आरोपीको पहिचान खुलेको थियो । प्रहरीको प्राविधिक विश्लेषणबाट हत्यामा संलग्न रहेका युवक विनोद विक भएको पत्ता लागेपछि प्रहरी विनोदको खोजीमा झापासम्म पुगेर उनलाई पक्राउ गरेको थियो ।

प्रहरीले हत्या भएको समय वरपरको सिसीटिभी फुटेज लगायतको प्राविधिक विश्लेषण पश्चात् हत्यामा विनोदको संलग्नता हुनसक्ने भन्दै उनको खोजी गरेको थियो । घटनास्थल नजिकै रहेको सिसीटिभी फुटेजमा देखिएको व्यक्तिको भिडियो फुटेज अध्ययन गर्दै जाँदा प्रहरी मनोहरा पुलसम्म पुगेको थियो ।

मनोहरा पुलमा पुगेर कोही व्यक्ति कुनै पठाओबाट झरेको पाएपछि प्रहरीले करिब ४ दिनसम्म ती व्यक्तिको खोजी गरेको थियो । सशंकितलाई उक्त क्षेत्रमा नदेखेपछि प्रहरीले अन्य विधि प्रयोग गरेर युवक बस्ने गरेको कोठासम्म पुगेको थियो ।

हत्यामा संलग्न भनी शंका गरिएका व्यक्ति झापाका विनोद विक रहेको र उनी साथीहरुसँग वीपी स्मृति अस्पताल नजिकै रहेको पिज्जा हब रेष्टुरेण्ट नजिकै कोठा भाडामा लिइ बस्ने गरेको पत्ता लागेको थियो ।

उक्त कोठामा पुगेको प्रहरीले खानतलासी गर्दा विनोदको डेरा कोठाबाट घटनाका समयमा प्रयोग भएको रगत लागेको सर्ट, ब्याग र जुत्तासमेत बरामद गरेको थियो । त्यसलगत्तै प्रहरी झापा पुगेर विनोदलाई पक्राउ गरी  केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीमा ल्यायो । 

गत असार २५ गते बागलुङ बजार नजिकै अपरिचित व्यक्तिबाट बलात्कृत भएको भन्दै कास्कीको पोखरा महानगरपालिकाकी एक युवतीले प्रहरीमा जाहेरी दिइन् । बागलुङ नगरपालिका-१ मालढुङ्गा नजिकैको जङ्गलमा बलात्कृत भएको प्रहरीमा दर्ता भएको जाहेरीमा उल्लेख छ ।

हुलियासमेत राम्रोसँग याद नगरेकी युवतीको जाहेरीपछि प्रहरीले आरोपीको खोजी गर्न थाल्यो । तर एकै दिनमा आरोपी फेला पर्नेमा प्रहरी ढुक्क थिएन । युवतीले बलात्कार गर्ने व्यक्ति युवा भएको बताएकी थिइन् ।

पीडितलाई न्याय दिलाउन प्रहरीले अनुसन्धान थाल्यो । प्रहरीको अनुसन्धानको सारथी बन्यो मालढुङ्गामा जडान गरिएको सिसीक्यामेरा ।

मालढुङ्गा नजिकैको जङ्गल घटनास्थल भएकाले प्रहरीले त्यही क्षेत्रमा शङ्कास्पद व्यक्तिको खोजी थाल्यो । बलात्कार गरेका व्यक्ति त्यहाँबाट फरार भइसकेको भए पनि युवतीले दिएको सामान्य हुलियाका आधारमा सिसीक्यामेराको मद्दतमा आरोपी फेला परे ।

‘शंङ्कास्पद व्यक्तिबारे सिसीक्यामेराबाटै जानकारी लियौँ’, प्रहरी निरीक्षक राजाराम खड्काले भने, ‘श्रव्यदृश्य र तस्बिरकै आधारमा हामी आरोपी नजिकै पुग्यौँ ।’

गत असार २६ गते गुल्मीको कालीगण्डकी गाउँपालिका-७ छापचौरका २८ वर्षीय विमल हमाल बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेराबाट पक्राउ परे ।

सुरुवातमा केरकार गर्दा आरोप अस्वीकार गरेका हमालले सिसीक्यामेराको श्रव्यदृश्य देखाएपछि अपराध स्वीकार गरेको प्रहरी निरीक्षक खड्काले बताउँछन् । अहिले उनीविरुद्ध जिल्ला अदालतबाट म्याद थप भएर अनुसन्धान भइरहेको छ ।

प्रहरीलाई सिसीक्यामेराले सघाएको यो पहिलो घटना भने होइन । केही महिनाअघि बागलुङ नगरपालिका-१ माझीबस्तीकी फूलमाया माझीको हत्यामा संलग्नलाई पनि प्रहरीले सिसीक्यामेराकै मद्दतमा पक्राउ गरेको थियो ।

लामो समयपछि बागलुङ बजारभित्र सिसीक्यामेरा व्यवस्थापन गर्ने काम भएपछि अपराध अनुसन्धान र नियन्त्रणमा सहज भएको उनी बताउँछन् । 

बागलुङ नगरपालिका र उद्योग वाणिज्य सङ्घ तथा सुरक्षा निकायको सहकार्यमा बजार क्षेत्रमा सिसीक्यामेरा जडान गर्न थालिएको हो ।

गत आर्थिक वर्षमा बागलुङ नगरपालिकाको रु १२ लाख अनुदान र उद्योग वाणिज्य सङ्घको रु तीन लाख ५० हजारको लागतमा बजार भित्रिने र बाहिरिने मुख्य नाका तथा मुख्य चोकमा १३ सिसीक्यामेरा जडान गरिएका छन् ।

चालु आर्थिक वर्षमा थप १४ सिसीक्यामेरा जडानका लागि काम भइरहेको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले बताए । ‘बैंकले १४ क्यामेराका लागि सहयोग गरेको छ, छिट्टै काम सकिन्छ’, उनले भन्छन् ।

बागलुङ बजारमा एक सय ८६ सिसीक्यामेरा जडान गर्ने योजना छ । बागलुङ-१ मालढुङ्गाबाट वडा नं ४ को तिरुपति चोकसम्म रु १५ लाख खर्चेर फाइवर बिछ्याउने काम सकिएको कँडेल बताउँछन् । बहुवर्षीय योजना भएकाले क्रमैसँग क्यामेरा जडान हुने उनले भनाइ छ ।

‘प्रहरी कार्यालयमा कन्ट्रोल रुम बनाउनेदेखि फाइवर बिछ्याउनेसम्मका काम भइसकेका छन्’, कँडेलले भने ।  बागलुङ बजारको शान्ति सुरक्षालाई ध्यानमा राखेर बजारका विभिन्न चोकमा सिसीक्यामेरा जडान गर्ने प्रक्रिया अघि बढेको छ । यसअघि बागलुङ बजारमा जडान भएका २९ सिसीक्यामेरा प्रयोगविहीन छन् ।

नेपाल विद्युत् प्राधिकरणले विद्युत्का पोल स्थानान्तरण गर्ने क्रममा बिग्रिएका र निकालिएका सिसीक्यामेरा पुनः जडान हुन नसक्दा बागलुङ बजारमा हुने आपराधिक घटनाको अनुसन्धानमा समस्या हुँदै आएको थियो । बागलुङ–४ उपल्लाचौर र पाखाथरमा समेत मुख्य चोकमा सिसीक्यामेरा जडान गर्ने योजना छ ।

साथै अपराधको अन्तिम सारथी नै सीसी क्‍यामेरा हुने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मी बताउँछन् । उनी भन्छन्, ‘ काठमाडौं उपत्यका भएका घटनाहरू प्राय हामीले सीसी क्यामेराको मद्दतबाटै बाहिर ल्याएका छौं। अपराध गरेर भाग्‍नेहरूको पहिचान गर्न पनि सीसी क्यामेराले साथ दिएको छ। सीसी क्यामेरा अहिले वास्तवमा सारथी बनिरहेको छ प्रहरीको।’

असार २६ गते विराटनगरमा साइकल यात्रीलाई अमानवीय तरिकाले कुटपिट गरेको आरोपमा एक जना पक्राउ पर्‍यो।

उक्त भिडियो असार २० गते राति साढे ८ बजेतिर विराटनगरको दुधफारमस्थित कोशी राजमार्गमा साइकल चालक पवन साहलाई विपरीत दिशाबाट कारमा आएकाहरुले अमानवीय तरिकाबाट कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो ।

साहलाई कुटपिट गर्नेमा बा १५ च ३४४५ नम्बरको कारमा सवार वर्ष १९ को आयुष भेटुवाल, १८ को कुशल भेटुवाल र जिल्ला तेह्रथुम घर ठेगाना भएका वर्ष ३० का रोशन कार्की रहेका र त्यसमध्ये आयुषलाई २१ गते नै पक्राउ गरी ज्यान मार्ने उद्योगमा म्याद थप भई कानुनी कारबाही अगाडि बढायो । यो घटनामा संलग्नलाई पहिचान गर्न पनि सीसी क्यामेराकै सहायताले हो ।

भिडियोमा देखिए अनुसार असार २० गते राति कोशी राजमार्गमा बा १५ च ३४४५ नम्बरको कार गइरहेको दिशामा विपरीत दिशाबाट साह साइकलमा आइरहेका हुन्छन् ।

कारको अगाडि साइकल आएपछि कार स्लो हुन्छ । साह छेउबाटै साइकलमा अघि बढ्छन् ।

कार साइडमा रोकिन्छ । ढोका खोलेर आयुष बाहिर निस्किन्छन् र कुदेर गएर साइकलमा गइरहेका साहलाई टाउकोमा मुक्काले हान्छन् ।

मुक्का लागेर साह सडकमै ढल्छन् । त्यसपछि आयुष सडकमा यताउता गर्छन् । साहको पछि पछि साइकलमै आइरहेका व्यक्ति यो सबै देखेर अलमल परेको भिडियोमा देख्न सकिन्छ ।

कारबाट निस्केका आयुषका एक जना साथीले साइकललाई साइड लगाउँछन् । आयुषले बेहोश भएर घोप्टो परेका साहलाई दुई खुट्टामा समातेर घिसार्दै साइड लगाएको भिडियोमा देख्न सकिन्छ । कार चालकको सिटमा बसेका व्यक्तिले ढोका खोलेर त्यहीं उभिई घटनालाई हेरिरहेको देखिन्छ ।

यसैगरी अपराध गरेर भाग्‍ने, सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्रामलगायत)मा लाइभ गरेर आत्महत्या गर्न खोज्‍नेहरूको पनि ज्यान जोगाउन सीसीक्यामेराले महत्वपूर्ण भूमिका खेलेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)का प्रवक्ता एवम् प्रहरी उपरीक्षक संजय सिंह थापा बताउँछन् ।

उनी भन्छन्, ‘अहिले त अपराध गरेर भाग्‍ने चलन बढी छ । सामाजिक सञ्जालहरूमा लाइभ गरेर आत्महत्या गर्न खोज्‍नेहरू पनि छन्। यस्ता प्रकारका अपराधहरू रोक्न सीसी क्यामेराले धेरै महत्वपूर्ण रोल खेलेको छ ।’

गत असार १ गते बिहान ४:४० बजे काठमाडौं-२६ कपुरधारास्थित ४६ वर्षीया रमा पाण्डे मर्निङ वाकमा निस्किएको समयमा लुटिएकी थिइन्। नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जनाले घाँटीमा लगाएको उनको १ तोलाको सुनको सिक्री लुटेर भागेका थिए।

यही असार १ गते नै बिहान ५:५५ बजे काठमाडौंको टोखा नगरपालिका-६ ग्राण्डी अस्पतालनजिक मर्निङ वाकमा निस्किएकी ४५ वर्षीया सरस्वती खतिवडाको घाँटीमा लगाएको १ तोलाको सुनको सिक्री नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जनाले लुटेर फररा भएका थिए।

असार ३ गते ५:५५ बजे काठमाडौंको नागार्जुन नगरपालिका-५ बुद्धचोकस्थित मर्निङ वाकमा निस्किकी ५५ वर्षीया रेखा घिमिरेले घाँटीमा लगाएको सिक्री मोटरसाइकलमा आएका २ अपरिचित व्यक्तिहरुले लुटपाट गरी फरार भएका थिए।

यही असार १३ गते बिहान ५:५० बजे काठमाडौंको टोखा नगरपालिका-३ विष्णुमती पुलनजिक करिब ७० वर्षीया मंगलीमाया डंगोलले घाँटीमा लगाएको सुनको सिक्री २ जना अपरिचित व्यक्तिहरु मोटरसाइकलमा आएर लुटेका थिए।

यही असार १९ गते बिहान ४:५० बजे काठमाडौंको टोखा नगरपालिका-४ कृष्ण मन्दिरस्थित मर्निङ वाकमा निस्केकी ३४ वर्षीया गंगा राना मगरले घाँटीमा लगाएको १ तोलाको सुनको सिक्री मोटरसाइकलमा सवार २ जनाले लुटेर भागेका थिए।

असार १९ गते बिहान ५:३७ बजे काठमाडौं महानगरपालिका-३ चक्रपथ बगालामुखी मन्दिरनजिक मर्निङ वाकमा निस्केकी ६० वर्षीयाकान्छी श्रेष्ठले घाँटीमा लगाएको आधा तोलाको सुनको सिक्री मोटरसाइकलमा सवार २ जना अपरिचित व्यक्तिहरुले लुटपाट गरी भागेका थिए।

असार २० गते बिहान ४:४५ बजे काठमाडौंको टोखा नगरपालिका-३ शेर्पा पेट्रोल पम्पनजिक मर्निङ वाकमा निस्केकी ४३ वर्षीया रिता श्रेष्ठले घाँटीमा लगाएको पौने १ तोलाको सुनको सिक्री मोटरसाइकलमा सवार २ जनाले लुटेर फरार भएका थिए।

असार २० गते बिहान ५:४५ बजे काठमाडौं महानगरपालिका-१५ चागल, जनसेवा मार्चस्थित मर्निङ वाकमा निस्केकी ६५ वर्षीया सरस्वती डंगोलले घाँटीमा लगाएको १.२५ तोलाको सुनको सिक्री मोटरसाइकलमै सवार २ जना अपरिचित व्यक्तिहरुले लुटपाटपछि फरार भएका थिए।

यी सबै घटनाहरूमा संलग्न भएकाहरूलाई प्रहरीले सीसी क्यामेराको सहयोगमा जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनाली बताउँछन् ।

उनी भन्छन्, ‘ हामीले नियमित रूपमा अपराधको कुनै क्लू नभेटेमा सम्बन्धित ठाउँको सीसी क्यामेराको रेकर्ड हेर्छौ । यसले अपराधको रहस्य उजागर गराउन धेरै ठूलो काम गरेको छ। प्रहरीलाई तेस्रो आँखाको रुपमा काम गर्न मद्दत गरिरहेको छ।’   

प्रतिक्रिया दिनुहोस्