११ श्रावण २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

सुन तस्करीमा मुछिएका कलेज सञ्चालक गुरुङ पक्राउ

१४ फागुन, काठमाडौं । प्रहरीले सुन तस्करी प्रकरणमा जोडिएका प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गुरुङलाई काठमाडौंको सामाखुशीबाट पक्राउ गरेको हो ।

२१ मंसिरमा फ्लाई दुबईबाट आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको थियो । त्यो प्रकरणमा अनुसन्धानपछि जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दामा उनलाई प्रतिवादी बनाइएको थियो ।

ब्युरोका एक अधिकृतले गुरुङलाई विमानस्थल भन्सार कार्यालय बुझाउने तयारी गरिएको अनलाइनखबरसँग बताए । यो गिरोहले ल्याएको सुन अध्यागमन क्षेत्रमा रहेको शौचालयमा लुकाएर कर्मचारीकै मिलेमतोमा बाहिर ल्याउने गरिएको अनुसन्धानबाट खुलेको थियो ।

प्रहरी अनुसन्धानका क्रममा दुबईमा रहेका अंकित अग्रवाल र गुरु भनिने भारतीय नागरिकले १३८ किलो सुन तस्करी गरिसकेको खुलेको थियो । उनीहरुको सम्पर्क प्लाटिनम कलेजका सञ्चालक गुरुङसँग देखिएको अधिकृतहरुको भनाइ छ ।

गुरुङमार्फत तस्करीमा संलग्न मुख्य नाइकेहरुसम्म पुग्न सहज हुने अधिकृतहरु बताउँछन् । उनको माओवादी नेताहरुसँग पनि निकट सम्बन्ध रहेको अधिकृतहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्