१२ श्रावण २०८१, शनिबार
समाचार सूचना प्रविधि

प्रविधिको दुरूपयोग : अनलाइन ठगी र यौन दुर्व्यवहार बढ्यो

३० जेठ, काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रविधिको दुरूपयोग गरी नेपालमा १२ प्रकारका अपराधहरु बढिरहेको बताएको छ।

अपराध अनुसन्धान कार्यालयका अनलाइनबाट ठगी हेर्ने निकायका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) लिलाराज डाँगीका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि आर्थिक वर्ष २०७९/८० सम्मको त्रिवर्षीय तथ्याङ्कमा सबैभन्दा बढी सामान पार्सल गरेर ठग्ने गरिएको पाइएको छ। यो तीन आर्थिक वर्षमा ठगिनेको संख्या बढ्दै गएको डीएसपी डाँगीको भनाइ छ।

उनका अनुसार आर्थिक वर्ष ०७७/७८ मा विभिन्‍न अपराधमार्फत ठगिनेको संख्या २४४ रहेको छ भने आर्थिक वर्ष ०७८/७९ मा ठगिनेहरु ६७१ जना पुगेको छ। यस्तै आर्थिक वर्ष ०७९/८० मा ठगिनेको संख्या भने दोब्बरले बढेर १२४९ मा उक्लिएको छ। यी अपराधहरु प्रविधिको दुरूपयोग गरेर मात्रै नभइ जनता आफै र सम्बन्धित निकाय( बैंक, मोबाइल सेवा प्रदायक र वालेट)ले पनि सचेत नगराएका कारण बढिरहेको उनको दाबी छ।

उनी भन्छन्, ‘बैंकले खाता खोल्दा सम्बन्धित व्‍यक्तिको ठेगाना, फोन नम्बर, फोटो  र नागरिकता अनिवार्य गरेन। वालेट पनि यही पक्रिया नपुर्‍याएर अपराधको दुरूपयोगमा फस्दै गयो।र जनता आफै पनि सबै सूचना सार्वजनिक रुपमा सामाजिक सञ्जालमा मनलाग्दी हाल्दै जानुभयो।’ यी तीन कुरामा सचेत भए प्रविधिमार्फत हुने ठगी र अपराध स्वत: कम हुँदै जाने डीएसपी डागीको दाबी छ ।

उनका अनुसार यो त्रिवर्षीय तथ्याङ्कमा सामान पार्सलमार्फत सबैभन्दा बढी पीडित र ठगीमा परेका छन् जसको सख्या ४८० छ । यस्तै मोबाइल, ल्यापटप, क्यामेरा आदि खरिद विक्रीमा ठगिनेको संख्या दोस्रो नम्बरमा पर्छ। त्रिवर्षीय तथ्याङ्क अनुसार ३९२ जना ठगीमा परेका छन् ।

यसैगरी  चिठ्ठा परेको भनी ठगिनेमा पर्नेहरु २३५ जना, फेसबुक आइडी ह्याकमार्फत ठगिनेमा २०५ जना, ओटीपीको प्रयोगमार्फत ठगिनेमा १३९ जना,  इन्भेस्टमेन्ट स्क्याममार्फत ठगिनेमा १२० जना, अनलाइन वालेट प्रयोगमार्फत ठगिनेमा ६९ जना रहेको आपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यस्तै ईसेवाको आइडी प्रयोगमार्फत ठगिनेमा ५४ जना पीडित रहेका छन् भने अनलाइन रोजगारीको विज्ञापनमार्फत ठगिनेमा ५३, वैदेशिक मार्फत ठगिनेमा ३२ जना, थर्ड पार्टी कन्ट्रोल एपमार्फत ठगिनेमा २३ जना र सिमकार्ड डुब्लिकेशनमार्फत ठगिनेमा १५ जना रहेको डीएसपी डाँगी बताउँछन्।

उनका अनुसार अन्यमार्फत ठगिनेमा यो त्रिवर्षीय चालू आर्थिक वर्षमा ३४५ जना ठगिएका छन्।

यस्तै मोबाइल, ईसेवा, चिठ्ठा, सामान पार्सल, ओटीपी, वालेटलगायतबाट ठगी र सामाजिक सञ्जालमार्फत साइबर अपराध बढिरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मी बताउँछन् ।

उनी भन्छन्, ‘ अहिले त मोबाइलबाट ठगी गर्नेहरुको संख्या बढ्दो छ। त्यो पनि प्राय युवाहरु छन्। उनीहरुले मोबाइलबाटै बैंक ह्याक गरेर चोरी गरिदिन्छन्। मानिसहरुलाई झुक्याएर ओटीपी लिएर पैसा निकालिदिन्छ।’

उनका अनुसार महिनामा यस्ता केसहरु धेरै आउने गरेको छ। उनी भन्छन्, ‘सामाजिक सञ्जालबाट पनि यौन दुर्व्यवहारका घटनाहरु धेरै आउँछन् र उजुरी पनि आइपुग्छ।’

खासगरी महिला तथा बालबालिकाहरु पीडित हुने गरेको उनको भनाइ छ। ‘मोबाइलबाटै फेसबुक, ह्वाट्स एप चलाउने महिला, दिदी बहिनीहरु धेरै हुनुहुन्छ। उहाँहरु एकै पटकमा नचिकेको मान्छेलाई विश्वास गरिहाल्नुहुन्छ।साथै आफ्नो मोबाइल नम्बर र ओटीपी दिइहाल्नुहुन्छ। यसको फाइदा ठगहरुले उठाउँछन्। पछि उहाँहरुले नै उजुरी लिएर आउनुहुन्छ।’

यसबारेमा को मान्छे हो? कस्तो मान्छ हो ? भनेर सतर्क र सचेतना गराउन हुन जरुरी रहेको उनको भनाइ छ। हालसम्म अनुसन्धान कार्यालयमा दैनिक वा हप्तामा ३/४ केस त अनलाइन ठगी र अनलाइन दुर्व्यवहारको आउने गरेको छ। यसबारेमा सचेत हुनु जरुरी छ।’

पक्राउ पर्नेहरु प्रायको अवैध मोबाइल र  पार्सलका सामानहरु हुने गरेको छ। उनीहरु उक्त मोबाइलबाट ठगी गर्दा अनुसन्धानमा समेत कठिनाइ हुने गरेको उनको भनाइ छ।

यस्तै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख दानबहादुर कार्कीले अपराध अनुसन्धानमा मोबाइल फोन र सामाजिक सञ्जाल प्रयोगलाई गम्भीर रूपमा विश्लेषण गरिने भएकाले यो प्रणालीलाई प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताउँछन्।

कर नतिरेर अवैध रूपमा ल्याइएका मोबाइल फोनबारे अनुसन्धान गर्नु पनि प्रहरीको काम रहेको उनको भनाइ छ। ‘भन्सार नतिरीकन कर छलेर मोबाइल ल्याउनु आफैँमा अपराध हो। यस्तो कर्मबाट नाफा कमाउन चाहाने व्यक्तिले उन्मुक्ति पाउन सक्दैनन्। ढिलोचाडो कानुनी दायरामा आउँछन्’, कार्की भन्छन्, ‘अवैध मोबाइलको प्रयोग, सामान पर्साल, ओटीपी, ईसेवा र चिठ्ठामार्फत हुने अपराधको अनुसन्धान पनि प्रहरी गर्छ।’

बिलबिजक र प्याकेट बिनाका मोबाइल चोरीका हुने भएकाले त्यस्तो सामान उपभोक्ताले खरिद गर्न नहुने पनि उनको भनाइ छ। मासिक रूपमा दुईदेखि तीन सय वटा मोबाइल फोन हराएको गुनासो आउने र एमडिएमएस प्रणालीमा दर्ता नभएका मोबाइल सेट ट्र्याकिङ गर्न गाह्रो हुने उनी बताउँछन्।

यता, साइबर सुरक्षा विद् एवं भैरव टेक्नोलोजीका सीईओ विजय सेनिहाङ लिम्बूले बैंक, वित्तीय संस्था, वालेट र आम नागरिक सचेत हुनु पर्ने बेला आएको बताउँछन् । उनी भन्छन्, ‘ पहिला त घरको झ्याल, ढोका फुटाएर चोरले चोरी गर्थ्यो। तर अब समय बदलिएको छ। अहिले थाहै नपाइ तपाइको बैंकबाट रकम निकासा हुन सक्छ। फेसबुकको पासवर्ड ह्याक हुन सक्छ र वालेटमार्फत पनि पैसा ट्रान्फर हुन सक्छ। त्यसकारण सचेतना गर्नु र गराउनु अति जरुरी छ।’

प्रतिक्रिया दिनुहोस्