१२ श्रावण २०८१, शनिबार
सूचना प्रविधि

ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को तयारी पूरा, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

८ असार, काठमाडौं । ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को तयारी पूरा भएको छ। आइसिटी फाउण्डेसन नेपालको आयोजनामा आज विहान ९ बजेबाट सुरू हुने कन्क्लेभको तयारी पूरा भएको आइसिटी फाउण्डेसन नेपालका अध्‍यक्ष राजन लम्सालले जानकारी दिए। उनका अनुसार कन्क्लेभसँगै ह्वावेले मोवाइल नेपाल कंग्रेश(एमएनसी)को पनि आयोजना गर्नेछ।

कार्यक्रमको उद्‌घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् भने डिजिटल नेपाल कन्क्लेभ २०२३का संरक्षक मनोहर कुमार भट्टराईले गर्नेछन्।

उद्घाटन कार्यक्रममा विभिन्न राष्ट्रिय र अन्तर्रास्ट्रिय विज्ञहरुको ४ वटा कि-नोट र सरकारका सञ्चारमन्त्री रेखा शर्मासँग पावर संवाद सेशन हुनेछ।

कन्क्लेभमा विभिन्न देशका आइसिटी विज्ञहरुसहित ७० बढी स्रोत व्यक्तिहरू रहेका छन् भने विभिन्न ६ थिममा १५ बढी सेसनहरु सञ्चालन हुनेछन्।

२ दिने कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशबाट विषय विज्ञहरुको उपस्थिती रहनेछ। ‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’ को नारा सहित आयोजना हुने कन्क्लेभले डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता र यसको लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिनेछ।

यसैगरी पहिलो दिनको सेसनमा  डिजिटल पूर्वाधार, डिजिटल परिचय (आइडेन्टिटी) र डिजिटल गभर्नेन्स सम्बन्धि सेसनहरु रहेका छन्। 

कन्क्लेभको दोस्रो दिन डिजिटल इन्नोभेसन र उद्यमशीलता, टेक स्टाक र डिजिटल सक्षमता, डिजिटल इकोनोमी र फिनटेक सक्षमताको सेसनहरु रहेका छन् । यसैगरी कन्क्लेभमा डेटा गभर्नेन्स र डिजिटल सेक्युरिटी, डिजिटल लिडरसिप र डिजिटल सक्षमताको लागि अबको बाटो सेसनहरु सञ्चालन हुनेछन्।

कन्क्लेभसँगै शीर्ष प्रायोजक ह्वावेले छुट्टै हलमा मिनि मोबाइल वर्ल्ड कंग्रेशको रुपमा मोबाइल नेपाल कंग्रेशको आयोजना गर्नेछ। सहभागीले फाइभजी, एआईसँगै नयाँ प्रविधिहरुको जानकारी मोबाइल कंग्रेशमा पाउनेछन्।

ह्वावे मोबाइल नेपाल सम्मेलन  जुन विषय वस्तुमा केन्द्रित छ, त्यसैमा आधारित रहेर सम्मेलनले गिगाभर्स इनिसिएिटिभ, अल्ट्रा-अटोमेसन स्पीड अप, सेवाको रुपमा इन्टिलिजेन्ट कम्प्युटिङ्ग एण्ड नेटवर्क, भिन्न भिन्न अपेक्षाकृत मागहरु, र वातावरण, सामाजिक तथा सुशासनका लागि आफ्नो मार्ग निर्देशिका तय गरेको छ।

मोबाइल नेपाल कँग्रेस २०२३ ले डिजिटल नेपालतर्फको यात्रालाई गति दिनका लागि नेपालमा उपयोगी र व्यापारिक सम्भावना भएको विश्वव्यापी आविष्कार र समाधानहरुलाई छलफलमा ल्याउन मद्दत पुग्ने विश्वास ह्वावेको रहेको छ।

आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभको दोस्रो संस्करण हो। कन्क्लेभको प्रि-इभेन्टको रुपमा फाउण्डेसनले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम सञ्चालन गरेको थियो।

सातै प्रदेशको डिजिटल अवस्था र सक्षमताको जानकारी सहितको डिजीटल प्रदेश परिदृश्यको दोस्रो संस्करण कन्क्लेभमा सार्वजनिक गरिनेछ ।

कन्क्लेभमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ लगायतको सहयोग रहेको छ । यसैगरी कार्यक्रमको कनेक्टेड बाइमा नेपाल टेलिकम, सेक्युरिटी पार्टनरमा चेकपोन्ट, पेमेन्ट पार्टनरमा आइएमइपे, आइटी ट्रेनिंङ पार्टनरमा ब्रोडवे इन्फोसिस, इन्टरनेट पार्टनरमा डीसहोम रहेका छन्।

सहयोगी सस्थाहरुमा एसिया फाउण्डेसन, फ्रोस्ट एण्ड सुलेभन नेपाल, कोड हिमालय, स्काई ब्रोडब्याण्ड, बारकोड, टेक्नोरियो लगायतको सहकार्य रहेको छ। वर्षकै ठूलो डिजिटल कन्क्लेभको रुपमा आयोजना हुन लागेको दुई दिने सम्मेलनमा सहभागि हुन र अन्य जानकारीको लागि www.digitalconclave.org वेबसाइट हेर्न सक्‍नेछन्। साथै कार्यक्रमको लाइभ आइसीटीसमाचार डटकमले वेबसाइटमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्