काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का कोषाध्यक्ष एवम व्यवसायी पंकज अग्रवालले नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को बजार पछिल्ला तीन–चार वर्षमै सफल भइसकेको दाबी गरेका छन् ।

उनका अनुसार यही कारण आगामी नाडा अटो शोमा सार्वजनिक हुने अधिकांश नयाँ चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी विद्युतीय हुनेछन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा अग्रवालले नेपालमा ईभी अब परीक्षणको चरणबाट बाहिर निस्केर मुख्यधारको बजारमा स्थापित भइसकेको बताए ।

‘पछिल्लो तीन–चार वर्षको तथ्यांक हेर्दा ईभी नेपालमा सफल भइसकेको छ । त्यसैले नयाँ आउने अधिकांश चारपाङ्ग्रे र दुईपाङ्ग्रे विद्युतीय हुनेछन,’ उनले भने । उनका अनुसार नेपाल सरकारले पनि ईभीलाई प्राथमिकतामा राखेर नीति अघि बढाएकाले बजार विस्तारमा थप टेवा पुगेको छ । पेट्रोलियम इन्धनमा निर्भरता घटाउने र स्वदेशी रूपमा उत्पादन भएको विद्युतको उपयोग बढाउने सरकारी उद्देश्यसँग पनि ईभीको विस्तार जोडिएको उनले बताए ।

‘हाम्रो देशको इन्धन भनेकै बिजुली हो । विद्युतीय सवारी बढ्दा स्वदेशी विद्युतको खपत बढ्छ र आयातित इन्धनमा निर्भरता कम हुन्छ,‘ उनले भने । उनका अनुसार भदौ ९ गतेदेखि सुरु हुने नाडा अटो शोमा नयाँ प्रविधिका सवारीसाधनलाई विशेष प्राथमिकता दिइएको छ । धेरै कम्पनीले आफ्ना नयाँ मोडलको विवरण सार्वजनिक नगरे पनि अटो शोमै सार्वजनिक गर्ने तयारी गरेका छन् ।

अग्रवालका अनुसार यस वर्ष करिब ४० देखि ५० वटा नयाँ उत्पादन सार्वजनिक हुने अपेक्षा गरिएको छ । तीमध्ये अधिकांश विद्युतीय प्रविधिमा आधारित रहने उनले बताए ।

ईभीको सफलतामा चार्जिङ पूर्वाधार विस्तारले महत्वपूर्ण भूमिका खेलेको अग्रवालको भनाइ छ । उनका अनुसार केही वर्षअघिसम्म ईभी सफल हुन्छ कि हुँदैन भन्ने अन्योल रहे पनि अहिले देशभर चार्जिङ स्टेसन तीव्र गतिमा विस्तार भएका छन् । ‘ईभी पूर्ण रूपमा नयाँ प्रविधि थियो। त्यसमा लगानी गर्नेहरूले पेट्रोल–डिजेल सवारीको व्यवसाय पनि सँगै चलाउनुपरेको थियो । त्यसका बाबजुद चार्जिङ स्टेसन विस्तारको गति निकै सराहनीय छ,‘ उनले भने ।

चार्जिङ पूर्वाधारको विस्तारले उपभोक्तामा विद्युतीय सवारीप्रतिको विश्वास बढाएको र त्यसको प्रत्यक्ष प्रभाव बिक्रीमा देखिएको उनको दाबी छ । यस वर्षको नाडा अटो शोमा विद्युतीय सवारीसँगै नेपालमै उत्पादन भएका अटो कम्पोनेन्ट, टायर, ब्याट्री, लुब्रिकेन्ट तथा नेपालमा एसेम्बल र उत्पादन हुन थालेका दुईपाङ्ग्रे सवारी पनि प्रदर्शन गरिने उनले बताए ।

उनका अनुसार अटो शोमा राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डलाई एउटै छानामुनि ल्याउने प्रयास गरिएको छ । प्यासेन्जर कार, दुईपाङ्ग्रे, कमर्सियल भेहीकल र अटो कम्पोनेन्टसहित विभिन्न वित्तीय संस्थाको पनि सहभागिता रहनेछ । अग्रवालले विद्युतीय सवारीको विस्तारसँगै गुणस्तरीय सडक पूर्वाधार र स्थिर सरकारी नीति आवश्यक रहेको बताए । उनका अनुसार दीर्घकालीन नीतिगत स्थिरताले अटोमोबाइल क्षेत्रमा थप लगानी आकर्षित गर्न सहयोग पुग्नेछ ।

एउटै छानामुनि सवारीदेखि बैंकिङसम्म

५० वर्षको इतिहास बोकेको नाडाले आयोजना गर्ने प्रदर्शनीमा नवीनतम प्रविधिका सवारीसाधनसँगै अटो कम्पोनेन्ट, टायर, ब्याट्री, लुब्रिकेन्ट, बैंक तथा बीमा कम्पनीलाई एउटै छानामुनि ल्याइएको अग्रवालले बताए ।

अग्रवालका अनुसार अटो शो सवारी प्रदर्शनमा मात्र सीमित रहने छैन । आगन्तुकले विभिन्न ब्रान्डका गाडी र मोटरसाइकलको प्राविधिक जानकारी, तुलना तथा खरिदपूर्व आवश्यक परामर्श पनि पाउनेछन् । विभिन्न कम्पनीले विशेष छुट, बम्पर डिस्काउन्ट र आकर्षक फाइनान्सिङ योजना उपलब्ध गराउने भएकाले उपभोक्तालाई बजेटअनुकूल सवारी छनोट गर्न सहज हुने उनले बताए ।

नाडा पारदर्शी र क्रियाशील छ

उनले नाडा अटोशो आयोजनाका लागि स्टलहरुबाटै शुल्क उठाएर खर्च व्यवस्थापन गर्ने पनि बताए । नाडाको संजाल प्रदेशस्तरमा पनि फैलिएकाले संस्थाले सामाजिक उत्तरदायित्वको कामहरु पनि गरिरहेको जानकारी दिंदै संस्थाभित्र आर्थिक पारदर्शिता कायम राखेको दाबी पनि गरे ।