सुर्खेत । प्रथम कर्णाली पर्यटन महोत्सव शुरु भएको छ । कर्णाली प्रदेश सरकारका वन, वातावरण, उद्योग र पर्यटनमन्त्री सुरश अधिकारीले एक समारोहकाबीच महोत्सव उद्घाटन गरेका हुन् । महोत्सव उद्घाटन गर्दै मन्त्री अधिकारीले कर्णालीको आर्थिक आधार पर्यटन क्षेत्रलाई बनाउन सकिने भन्दै त्यसका लागि सरकार आवश्यक वातावरण बनाउन प्रतिबद्ध रहेको बताए ।
कर्णालीको आर्थिक बिकासको आधार पर्यटन सम्भावना रहेको भन्दै उनले कर्णालीमा पर्यटकका लागि आकर्षक गन्तव्य बनाउने गरी सरकारले प्रयास गरिरहेको बताए ।
कर्णाली पर्यटनमात्र होइन, संस्कृति र सभ्यताको पनि धनी प्रदेश भएकाले यसको मौलिक सभ्यता, इतिहास र पर्यटनको बिकास नै कर्णालीको पहिचान भएको बताए ।
‘कर्णालीका पर्यटकीय गन्तव्यहरुको पहिचान गर्दै प्रदेश सरकार अगाडि बढीरहेको छ’ उनले भने, ‘अब सबैको सहकार्यबाट यसको प्रचार प्रसार भई पर्यटन बिकासमा टेवा पुर्याउने छ ।’
आइतबारसम्म सञ्चालन हुने महोत्सवमा छिमेकी देश भारत, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पर्यटन सरोकारवालाहरुको सहभागिता रहेको छ ।
कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धन र दीर्घकालीन सम्भावनाबारे छलफल तथा प्रवद्र्धनात्मक गतिविधि गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा भारतको उत्तर प्रदेश, उत्तराखण्ड र दिल्लीबाट पर्यटन व्यवसायी, लगानीकर्ता, ट्राभल भ्लगर तथा पर्यटन क्षेत्रका सरोकारवालाको सहभागिता रहेको कर्णाली पर्यटन महोत्सवका संयोजक तर्कबहादुर शाहीले बताए ।
‘महोत्सवमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पर्यटन व्यवसायी तथा पर्यटनसँग सम्बन्धित संस्थाका प्रतिनिधि सहभागी छन्,’ उनले भने, ‘नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना, दैलेखको दुल्लू नगरपालिका र गुराँस गाउँपालिकाको सहआयोजनामा महोत्सव आयोजना गरिएको हो ।’
महोत्सवमार्फत कर्णालीका प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटन क्षेत्रको सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने लक्ष्य राखिएको संयोजक शाहीले बताए । पर्यटन महोत्सवले कर्णाली प्रदेशका बिभिन्न पर्यटकीय क्षेत्रको विकासमा टेवा पुग्ने कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले बताए । उनले देश तथा विदेशबाट पनि पर्यटन व्यवसायी सहभागिता रहेको कर्णाली धार्मिक तथा पर्यटकीय क्षेत्र बिषयमा जानकारी मिल्ने बताए ।







