काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमणको तयारी भइरहेका बेला अमेरिकी सहायक विदेशमन्त्री एस. पावल कपुर तीन दिने औपचारिक भ्रमणका लागि सोमबार नेपाल आउँदै छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार वर्तमान सरकार गठन भएयताको यो सबैभन्दा उच्चस्तरीय अमेरिकी भ्रमण हुनेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकट मानिने कपुरलाई ट्रम्प प्रशासनले तत्कालीन सहायक विदेशमन्त्री डोनाल्ड लुलाई हटाएर नियुक्त गरेको थियो । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने जिम्मेवारीमा रहेका कपुर भारतीय मूलका अमेरिकी अधिकारी हुन् । उनको जन्म भारतको दिल्लीमा भएको हो । उनका बुवा भारतीय र आमा अमेरिकी मूलकी हुन् ।
एस. पावल कपुर यसअघि अमेरिकी विदेश विभागको नीति योजना टोलीमा रहेर दक्षिण एसियाली मामिला हेर्थे । उनी अमेरिकी नाभल पोस्ट ग्राजुएट स्कुलमा प्राध्यापकसमेत रहिसकेका छन् । दक्षिण एसियाली सुरक्षा, आणविक रणनीति, भारत–पाकिस्तान सम्बन्ध र क्षेत्रीय सुरक्षाका विषयमा उनी जानकार मानिन्छन् ।
यसअघि तत्कालीन सहायक विदेशमन्त्री डोनाल्ड लु आफ्नो कार्यकालमा चार पटक नेपाल आएका थिए । नेपालमा एमसीसी कार्यान्वयन गराउनमा उनको महत्वपूर्ण भूमिका रहेको चर्चा हुँदै आएको छ । संसदबाट एमसीसी पारित हुनुअघि उनले नेपालमा उच्चस्तरीय भेटवार्ता गरेका थिए ।
कपुरको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । दक्षिण तथा मध्य एसियामा बढ्दो भूराजनीतिक प्रतिस्पर्धाका बीच नेपालको परराष्ट्र नीति र कूटनीतिक सन्तुलन फेरि चर्चामा आएको छ ।
भ्रमणका क्रममा कपुरले परराष्ट्रमन्त्री शिशिर खनालसहित उच्चस्तरीय नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । उनले क्षेत्रीय स्थिरता, सुरक्षा, सहकार्य र आपसी सम्बन्धका विषयमा नेपालसँग छलफल गर्ने बताइएको छ ।







