२८ चैत्र २०८२, शनिबार
मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

रक्त अभावले थलिएको स्वास्थ्य सेवा : बाजुरामा ब्लड बैंकको समस्या, भनसुनको भर

बाजुरा । अप्रेशन गरेर बच्चा जन्माउँदा होस् अथवा रक्तश्राव हुँदा यसबेला रगतको आवश्यकता पर्दछ । साथै कुनै गम्भीर प्रकारको दुर्घटना भएपछि अस्पताल पु¥याउँदा विरामीलाई रगत आवश्यक पर्ने गर्दछ । तर बाजुरा जिल्लामा रक्त सञ्चार केन्द्र अर्थात् ब्लड बैंक नहुँदा बिरामीलाई समस्या हुने गरेको छ ।

यहाँको जिल्ला अस्पताल, कोल्टी आधारभूत अस्पताल कोल्टीलगायतका अस्पतालमा ब्लड बैंक नहुँदा रक्त अभावका विरामीलाई दिनहुँ समस्या हुने गरेको हो । यो समस्या केवल एक अस्पतालको मात्र नभई सिंगो जिल्लाकै बिकराल समस्याको रुपमा स्थापित रहेको छ ।

दिनहुँ रगतको समस्या भइरहँदा पनि बाजुरामा अहिलेसम्म दिर्घकालीन आकस्मिक रक्तसञ्चार केन्द्र (ब्लड बैंक) स्थापना हुन सकेको छैन् ।
आकस्मिक रक्त सञ्चार सेवा केन्द्र नाम दिएको केन्द्रमा समेत रगत अभाव छ । रक्त संकलन गर्न ल्याइएको डि–फ्रिज समेत जनशक्ति र प्राविधिकको कमीका कारण थन्किएको छ ।

कोही बिरामी भएर रगत चाहिएको खण्डमा सुरक्षाकर्मी, पत्रकार, समाजसेवीकै भर पर्नुपर्ने बाध्यता छ । बाजुरामा कयौं घटनामा घाईते भएका व्यक्ति, सुत्केरी तथा रगतको अभावमा छट्पटाई रहेकालाई सुरक्षाकर्मी, पत्रकार नै भगवान हुने गरेका छन्।

गत २०८१ पुस २१ गते सामाजिक विकास मन्त्रालय र नेपाल रेडक्रस सोसाइटी बाजुराबिच ब्लड बैंक स्थापनाका लागि सम्झौता भएको थियो ।
सम्झौता भएको एक बर्ष वितिसक्दा पनि दिर्घकालीन रुपमा समस्या समाधान गर्ने व्लड बैंक स्थापना भने हुन सकेको छैन् । गत बर्ष जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लास्थित सरोकारवाला निकायको बैठकले जिल्लामा तत्काल ब्लड बैंक स्थापना गर्ने निर्णय गरेको भए पनि उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन् । दिनहुँ यहाँका नागरिकले रगत अभावमा तड्पिनु पर्ने बाध्यता छ ।

नेपाल रेडक्रस सोसाइटीका उपमन्त्री विपिन बिष्टले पहाडी जिल्लामा दिर्घकालीन ब्लड बैंक स्थापना गर्न निकै जटिल रहेको बताए ।
उनले भने, ‘रेडक्रसले स्थायी ब्लड बैंक स्थापनाको लागि पहल नगरेको होइन, सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयसँग सम्झौता समेत भएको छ । तर ब्लड बैंक स्थापना गर्न सकिएको छैन् ।’

उनले रगत अभावमा विरामीहरुले तड्पिनु पर्ने बाध्यता रहेको स्वीकार समेत गरेका छन् । तत्काल जिल्लास्थित सरोकारवाला निकायसँग बसेर यसको दिर्घकालीन समस्या समाधान गर्न पहल गरिने बताए ।

जिल्ला अस्पताल प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चन्द्रशेखर यादवले जिल्लामा ब्लड बैंक नहुँदा रगतको समस्या हुने गरेको स्वीकार गरे । उनले भने, ‘जिल्लामा दिर्घकालीन रक्त सञ्चार केन्द्र स्थापनाको लागि नेपाल सरकारले जिल्लास्थित नेपाल रेडक्रसलाई जिम्मेबार यन्त्र उपकरण, आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन गर्न सहयोग गर्नुपर्दछ ।’

जिल्ला अस्पतालका व्यवस्थापन समिति अध्यक्ष धन बहादुर रावतका अनुसार दुई बर्षअघि आकस्मिक रक्तसञ्चार केन्द्र ‘ब्लड बैंक’ स्थापना गर्ने गरि डि–फ्रिज मेसिन ल्याइएको छ ।

उनले भने ,‘मेसिन प्राविधिक र जनशक्तिका कारण थन्किएको छ । थन्किएको मेसिन सञ्चालनको लागि छिट्टै समन्वय गरेर सञ्चालनको बाटोमा लाग्नेछौँ ।’

रगतका लागि पत्रकार, सुरक्षाकर्मी कै भर
स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत कुमार न्यौपानेले जिल्लामा शल्यक्रियाबाट सुत्केरी गराउने महिलालगायत अन्य रगत अभावको विरामीलाई समस्या हुँदै आएको बताए ।

उनले भने, ‘दिर्घकालीन रक्त सञ्चार केन्द्र(ब्लड बैंक) को अभावमा बिरामीका आफन्त र स्वास्थ्यकर्मीले समस्या भोग्दै आएका छन् । स्वास्थ्य कार्यालयको तर्फबाट ब्लड बैंक स्थापनाको लागि समन्वय,सहकार्यमा प्रतिबद्द छौँ ।’

जिल्लामा ब्लड बैंक अत्यन्त आवश्यक रहेको १३ औँ पटक रक्तदान गरिसकेका पत्रकार तथा नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेम रौलेले बताए ।

उनले भने, ‘बाजुरामा ब्लड बैंकको अत्यन्त आवश्यक छ । उपचारका लागि अस्पताल पुग्यो, कसैलाई रगत चाहियो भने रगत हुँदैन् । अन्त्यमा सुरक्षाकर्मी र पत्रकारकै भर पर्नुपर्ने बाध्यता हुन्छ ।’

विशेषगरी गर्भवतीको शल्यक्रिया गरेर सुत्केरी गराउनुपर्दा बढी रगत खोजिन्छ । जिल्लामा रगतको आवश्यकता रहेको र जिल्लामै रगत संकलन गर्ने र खपत हुन नसकेको रगतलाई जिल्ला बाहिर पठाउनेगरी  समन्वयात्मक ढंगबाट ब्लड बैंक सञ्चालन गर्न अनिवार्य रहेको उनको भनाइ छ ।
जिल्लामा सुरक्षाकर्मी र पत्रकारको भरमा रक्तदान गर्नुपर्ने बाध्यता रहेको पत्रकार लक्ष्मीराज पाध्यायले बताए ।

उनले भने, ‘रक्त समस्या समाधान गर्न र दिर्घकालीन सहजताको लागी ब्लड बैंक स्थापना गरेको खण्डमा बाजुराको रक्त अभावमा थलिएको स्वास्थ्य सेवा सहज र मजबुत हुनेछ ।’

उनले जिल्लामा दिर्घकालीन रक्त अभाव समस्या समाधान गर्न सम्बन्धित निकाय नेपाल रेडक्रस र जिल्ला अस्पताल जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

उनका अनुसार,नेपालको परिदृश्यमा आकस्मिक रक्तसञ्चार सेवा केन्द्र रेडक्रसले चलाईरहेको हुँदा मुख्य जिम्मेवारी रेडक्रसकै रहने बताएका हुन् ।
रगत दिन समेत आनाकानी
बाजुरामा जनचेतनाको कमीले सबै कतिपय मानिसहरुले रक्तदान गर्न समेत गर्न नमान्ने अवस्था छ । रक्तदान गरे शारीरिक रुपमा कमजोर हुने अन्धविश्वास छ । रगत दियो भने कमजोर भइन्छ भन्ने गलत बुझाईले समेत प्रभाव पारेको छ ।

तर,स्वास्थ्यकर्मीका अनुसार रक्तदान गर्दा कुनै किसिमको कमजोरी नहुने भनाइ छ । समुदाय र विद्यालय तहमा रक्तदानसम्बन्धी चेतनामूलक कार्यक्रमसँगै रक्तदाताको सूची अति आवश्यक रहेको देखिन्छ ।

जिल्लाको रक्त समस्या समाधान तथा स्थायी ब्लड बैंक सञ्चालनको लागि रेडक्रस, जिल्ला अस्पताल, सरोकारवाला निकाय सबैले जिम्मेवार बन्नुपर्नेमा अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जोड दिए ।

बाजुरा जस्तो दुर्गम जिल्लामा दिर्घकालीन र प्रभावकारी व्लड बैंक सञ्चालन गर्न कठिनाई हुने गिरीले बताए ।
त्यस्तै आरसी मेडिकल हलका सञ्चालक रामचन्द्र यादवले भने,‘जिल्लामा सधैं रगतको कमी हुने गरेको छ । सर्वप्रथम रेडक्रस जिम्मेवार भइ दिर्घकालीन व्लड बैंक स्थापना गरि रगत संकलन गरेर खपत नभएको रगत बाहिर जिल्ला पठाउने काम गरिनुपर्दछ ।’

बाजुरामा नेतृत्व फेरिए पनि समस्या भने फेरिन नसकेको बडीमालिका वडा.नम्बर २ का स्थानीय डम्बर कठायले बताए । उनले स्वास्थ्य जस्तो संवेदनशील कुरालाई अवज्ञा गर्न नहुने जिकिर गरे । स्थानीयले पटकपटक ब्लड बैंक स्थापनाका लागि माग गरे पनि मागको सुनुवाइ नभएको उनको भनाई छ ।

कठायतले थपे, ‘सेना, प्रहरी, स्वास्थ्यकर्मी कै भर पर्नुपर्ने अवस्था छ । ब्लड बैंक भएको भए यस्तो समस्या हुने थिएन् । दिनुहुँ रगतका विरामी आए पनि रगत अभावमा भौतारिनुपर्ने बाध्यता छ ।’

दिर्घकालीन ब्लड बैंक स्थापना गर्न जटिलता
प्रदेश सरकारवाट रक्त सञ्चार केन्द्र स्थापनाको लागि पहल भएको भएपनि स्थापनामै समस्या देखिएको छ । दुर्गम जिल्लामा दिर्घकालीन ब्लड बैंक स्थापना गर्न निकै कठिन हुने प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।

प्रत्येक जिल्लामा ब्लड बैंक सञ्चालन हुनु स्वास्थ्य क्षेत्रको हकमा राम्रो बिषय हो । उनले भने, ‘ब्लड बैंक सञ्चालन गर्न दक्ष जनशक्ति, आवश्यक यन्त्र उपकरण र भौतिक संरचना को आवश्यक पर्छ । तत्काल ब्लड बैंक स्थापना गर्न नसके पनि दिर्घकालीन समस्या समाधानको बिषयमा भने सोच्न जरुरी छ ।’

‘ब्लड बैंकको आवश्यकताका साथै यसको महत्त्व बुझ्नुपर्छ । दिर्घकालीन व्लड बैंक सञ्चालनको लागि व्यवस्थापकीयले पक्ष जिम्मेवार बनेको खण्डमा जिल्लामा दिर्घकालीन समस्या समाधानको लागी ब्लड बैंक राम्रोसँग सञ्चालन गर्न सकिन्छ ।’ उनले भने ।

नेपाल रेडक्रस र जिल्ला अस्पतालबिच आपसी तालमेल नमिलेर रक्त सञ्चार सेवा केन्द्र ब्लड बैंक सञ्चालन हुन नसक्दा त्यसको प्रत्यक्ष मार नागरिकलाई परेको जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले बताए।

पटकपटक आकस्मिक रक्तसञ्चार सेवा केन्द्रको उद्घाटन भए पनि त्यसले निरन्तरता पाउन नसकेको रोकायाको भनाई छ ।
उनले भने, ‘आवश्यक परेको बेला रगत नपाइनु बिडम्बना हो । दिनुहुँ रगत अभावका विरामीलाई मार परेको छ । स्थायी रुपमा बैंक सञ्चालनको लागि यथोचित ढंगले अघि बढ्नुपर्छ । जिसस यसमा समन्वयकारी भुमिका निर्वाह गर्न सधैं तम्तयार छ ।’

आठ महिनाको अवधिमा सात सय बढिको रक्त समूह पहिचान
रगत आवश्यक परेका विरामीलाई रक्तदान गर्न सहयोग पुगोस् भन्ने उदेश्यका जिल्लामा आठ महिनाको अवधिमा सात सय बढिको रक्त समूह पहिचान गरिएको छ। नेपाल रेडक्रस सोसाईटी बाजुराको तथ्यांक अनुसार हालसम्म ७ सय ३९ जनाले आफ्नो रक्त समूह पहिचानको लागी रगत परिक्षण गरेको जनाएको छ।

रक्त समूह पहिचानले रक्त आवश्यक परेका व्यक्तिलाई रक्तदानमा सहयोग पुग्नुका साथै आफ्नो रगत कुन समुहको हो भन्ने थाहा नपाएकाहरुको लागी पहिचानमा सहयोग पुग्ने गरेको रेडक्रस सोसाइटीकी कर्मचारी सुनिता रावतले जानकारी दिइन् ।

उनले बाजुरामा पटकपटक रक्त अभाव भएको कुरा स्वीकार गर्दै रेडक्रसले मात्रै केही गर्न नसक्ने हुँदा स्वास्थ्य जस्तो अति संवेदनशील र जीवन बचाउने कुरामा सबैले एकजुट भएर लाग्नुपर्नेमा जोड दिइन्।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि