रौतहट। जाडो बढेसँगै तराइका जिल्लाहरू बढी प्रभावित बनेका छन्। वृद्धवृद्धाका लागि जाडो मौसम जोखिमपूर्ण हुने भएकाले मानवसेवा आश्रम रौतहटको चपुर शाखामा बिहीबार विभिन्न सरकारी निकायका प्रमुख तथा जनप्रतिनिधिहरूले अवलोकन गर्दै आश्रितहरूका लागि दाउरा वितरण गर्नुभएको छ।
इलाका प्रशासन कार्यालय चन्द्रपुरका प्रमुख माधवप्रसाद शर्मा, डिभिजन बन कार्यालय चन्द्रपुर रौतहटका प्रमुख हेमन्तप्रसाद शाह, नेपाली सेना चपुर पोस्टका प्रमुख चक्रबहादुर शाही, इलाका प्रहरी कार्यालय चन्द्रपुर रौतहटका प्रमुख रूपा लाबुङ, चन्द्रपुर–६ का वडाध्यक्ष सहदेव केसी, सशस्त्र प्रहरी बल सुरक्षा बेस सन्तपुरका शंकरबहादुर थापा तथा जिल्ला पत्रकार महासङ्घका अध्यक्ष संजय कार्की लगायतका प्रमुख व्यक्तिहरूले शाखा अवलोकन गर्नुभएको थियो।
साे क्रममा आश्रममा आश्रितहरूको बसोबास, सेवा व्यवस्थापन र आवश्यकताबारे जानकारी लिइएको थियो। मानवसेवा आश्रमले जाडो मौसममा सहज जीवन सुनिश्चित गर्न आश्रितहरूलाई दाउरा वितरण गरिएको जानकारी दिएको छ। आश्रम परिवारले सहयोग र साथ दिनुहुने सम्पूर्ण राष्ट्रसेवक, जनप्रतिनिधि तथा सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरेको छ।







