काठमाडौँ । मानवसेवा आश्रम रानीवन शाखामा आश्रित लक्ष्मीनारायणहरूको व्यक्तिगत सरसफाइ, नङ तथा कपाल सुधारसम्बन्धी सेवामा आईटीसी ब्यूटी ट्रेनिङ स्कूलले निःशुल्क रूपमा सहजीकरण गरेको छ।
बुधबार आयोजित उक्त सेवाअन्तर्गत रानीवन शाखामा रहेका करिब २०० जना लक्ष्मीनारायणहरूलाई कपाल काट्ने, म्यानिक्योर–पेडिक्योर तथा सरसफाइसम्बन्धी सेवा प्रदान गरिएको हो। यस सेवाका लागि आईटीसी ब्यूटी ट्रेनिङ स्कूलका कलंकी, गंगबु र डिल्लीबजारस्थित शाखाबाट आएका २५ जना प्रशिक्षार्थी तथा प्रशिक्षकहरूले सक्रिय सहभागिता जनाएका थिए।
मानवसेवा आश्रममा विभिन्न समय र अवसरमा व्यक्ति, समूह तथा संस्थाहरूको पहलमा स्वास्थ्य परीक्षण, सरसफाइ, भोजन, कपडा वितरण तथा परामर्श सेवा जस्ता निःशुल्क सेवाहरू उपलब्ध हुँदै आएका छन्। यसै क्रममा आईटीसी ब्यूटी ट्रेनिङ स्कूलले सामाजिक उत्तरदायित्व वहन गर्दै आफ्ना प्रशिक्षार्थीहरूलाई सेवामूलक कार्यमार्फत व्यावहारिक अनुभवसमेत प्रदान गरेको छ।
मानवसेवा आश्रम परिवारले लक्ष्मीनारायणहरूको सेवामा समर्पित भई निःस्वार्थ रूपमा योगदान पुर्याएकोमा आईटीसी ब्यूटी ट्रेनिङ स्कूल तथा सहभागी सम्पूर्ण प्रशिक्षक र प्रशिक्षार्थीप्रति हार्दिक आभार व्यक्त गरेको छ।







