४ फाल्गुन २०८२, सोमबार
मधेश मुख्‍य समाचार समाचार समाज

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

सिरहा, १८ मङ्सिरः सिरहाको धनगढीमाई ३ कुर्वा गाउँको सानो मुसहर बस्तीमा यतिबेला सन्नाटा छाएको छ । जाडो मौसमसँगै बिहानीको हावा जति चिसो छ, बस्तीको रमेशी सदायको मन त्यसभन्दा धेरै चिसिएको छ । बुधबार दिउँसो घर आँगनको छेउमा चुपचाप बसिरहेका उनी वर्षभरि पसिना बगाएर फलाएको धान एकैरातमा खरानी बनेको क्षण सम्झिँदै टोलाइरहेका थिए ।

पाँच जनाको परिवार रहेको ७२ वर्षीय रमेशी र उनको घरपरिवारका आँखा चार दिनसम्म पनि ओभाएको सकेको छैन । अज्ञात समूहले शनिबार खेतमा रहेको कुन्यूमा आगजनी गरेपछि विपन्न मुसहर परिवारमाथि बज्रपात परेको छ ।

करिब १४ क्विन्टल धान जलेर खरानी भएपछि सदाय परिवारको वर्षभरिको अन्नको जोहो गर्ने सपना पनि खरानी भएको छ । मानो रोपेर मुरी उब्जाएको त्यो अन्नसँग वर्षभरि पेट पाल्ने आशा पनि थियो । खडेरीका बेला अतिरिक्त पैसा तिरेर सिँचाइ गरी दुई दिन लगाएर छोरा–बुहारीसहित काटेको धान भित्र्याउन नपाउँदै मध्यरातमा कसैले आगो लगाएपछि धानसँगै यो परिवारको सपना पनि जलेको हो ।

खडेरीका बेला अतिरिक्त रकम तिरेर छिमेकीको बोरिङबाट सिँचाइ गरेँ । दुःख गरेर रोपेको धान भित्र्याउन नपाउँदै एकैरातमा खरानी बनाइयो, एकछिन आवाज अवरुद्ध गर्दै सदायले भने, अब हामी के खाएर बस्ने ? हामीले कसको के बिगारेका थियौँ र ? गरिबको हातले उब्जाएको अन्नको के दोष थियो ? नाति, छोराबुहारीसहित पाँच जनाले वर्षदिन खाने अन्न नै जलाइदिएर हामी गरिबमाथि ठूलो अन्याय गरे ।

सदायकी श्रीमती भुल्लीदेवी सदायका अनुसार १३० वटा बोझा बिटा बनाएर त्रिपाल बिछ्याई धानको कुन्यू लगाइएको थियो । आठ कट्ठा खेतको करिब १६ क्विन्टल धान भित्र्याउन नपाउँदै जलेर नष्ट भएको उनले बताए ।

बाबुआमासँग बस्दै आएका कान्छा छोरा लाले सदाय पनि दुःख गरेर फलाएको धान भित्र्याउन नपाउँदै शत्रु लागेको बताउछन्। साँझ पर्न लागेकाले कुन्यू बनाएर १३० बोझा राखेका थियौँ । भोलिपल्ट बोरामा हालेर घर ल्याउने तयारी थियो, तर बिहान पुग्दा एक गेडा धान पनि बाँकी रहेन । मान्छेले कसरी यस्तो गर्न सक्छ ः यो प्रश्नले रात–दिन सताइरहेको छ, उनले भने,त्यो १६ क्विन्टल धान अन्न मात्र थिएन, त्योसँग वर्षभरिको पराल, गुइँठा, चामल, चाडपर्व, छोरोको शैक्षिक खर्च जस्ता थुप्रै योजनाहरू जोडिएका थिए ।

सदाय परिवारले आगलागी भएको कुन्यू नजिकै मदिरा पसल चलाउने आशाकुमार रायसहित अन्य केही व्यक्तिविरुद्ध भोलिपल्टै प्रहरीमा उजुरी दिएपछि घटनाको अनुसन्धान भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार स्थानीय प्रहरी टोलीले घटनास्थलमा पुगेर कागजी प्रमाण सहित सूक्ष्म अनुसन्धान गरिरहेको छ । धनगढीमाईस्थित इलाका प्रहरी कार्यालयमा कुर्वा गाउँका आशङ्का गरिएका पाँच जनालाई बोलाई सोधपुछ गरिएको छ र उनीहरूलाई दैनिक हाजिरीमा राखिएको छ, उनले भने ।

धनगढीमाई–३ का वडाध्यक्ष वीरेन्द्रकुमार साह विपन्न मुसहर परिवारले उब्जाएको धानमा गरिएको आगजनीलाई अक्षम्य अपराध भएको बताउछन् । उनी भन्छन्, “जो–जसले गरे पनि गरिबको पेट जलाउनु अक्षम्य अपराध हो । जस्तोसुकै रिसइवी भए पनि खाने अन्न जलाउनु हुँदैनथ्यो । प्रहरीले जसरी भए पनि अपराधी पत्ता लगाएर कारबाही गर्नुपर्छ र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ ।

वडाध्यक्ष साहका अनुसार नगरप्रमुख शिव शङ्कर महतोसहितको टोलीले घटनाको भोलिपल्ट घटनास्थल निरीक्षण गरेको थियो । त्यस क्रममा नगरप्रमुख महतोले पीडितलाई उचित राहत उपलब्ध गराउने आश्वासन दिएका थिए ।

सदाय परिवारले पनि यो पीडालाई केवल अन्न जलन मात्र होइन, विपन्नता माथि भएको निर्मम प्रहारको रूपमा लिएको छ । यो परिवार घटनामा जोडिएका व्यक्तिलाई कारबाही, सम्बन्धित निकायबाट तत्काल राहत र न्यायको पर्खाइमा छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि