Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

दलमा लाग्नु समस्या होइन तर दलदलबाट सबैलाई फसाउनु समस्या हो : गगन थापा

News and Updates
4 घण्टा अघि

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले नवराज लम्सालले राजनीतिक चेतनालाई पुँजी बनाएर महाकाव्यको निर्माण गरेको बताएका छन् ।

शुक्रबार महाकाव्यकार डा.नवराज लम्सालकृत चौथो महाकाव्य ‘कल्प’ को लोकार्पण समारोहमा उनले नवराजले राजनीतिक चेतनालाई पुँजी बनाएर त्यसबाट समाजलाई हेर्ने प्रयास गरेको भन्दै यसले नयाँ पुस्ता र साहित्यमा कलम चलाउनेहरुलाई प्रेरित गर्ने बताए ।

उनले भने, ‘दलमा लाग्नु समस्या होइन, दलमा लाग्ने वित्तिकै दलदलमा फसेर सबैलाई फसाउने हो भने समस्या हो । त्यसकारण यो कुरामा नवराज लम्साललाई बधाई दिन चाहन्छु । किनभने राजनीतिक चेतनालाई आफ्नो पुँजी बनाएर त्यसबाट समाजलाई हेर्ने जुन प्रयास गर्नुभयो यो एकदमै राम्रो कुरा हो । यसले नयाँ पुस्तालाई र साहित्यमा कलम चलाउनेलाई प्रेरित गर्छ भन्ने कुरा राख्न चाहन्छु ।’

साथै, उनले नवराज लम्सालको महाकाव्यलाई आम मानिससम्म पु¥याउने सबैभन्दा सशक्त हस्ताक्षर भएको भन्दै अहिलेको जस्तो आधुनिक अवस्थामा महाकाव्य रचना गरेर मानिसको बीचमा राख्ने कुरा आफैमा बेजोड रहेको बताए ।

सोही क्रममा नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले लोकार्पण भएको कल्पमाथि संकल्प गरेर प्रश्नको उत्तर होइन उपायको खोजी गर्ने संकल्प गर्नुपर्ने बताए ।

राष्ट्रिय एकता सम्भव हुने गरि नेपाली साहित्यको पुनःलेखन नभएको भन्दै नेपालीलाई नेपालमा नै केही हुन्छ भन्ने विश्वास दिलाउनसके मात्र देशलाई राम्रो उचाइमा लान सक्ने उनको भनाई छ ।

उनले भने, ‘तपाईहरुले आफ्नो कलम तिखार्नु, नेपाली साहित्यको पुनलेखन भएको छैन् । जसले राष्ट्रिय एकता सम्भव भएको छैन् । सबै नेपालीलाई यो मेरो देश हो भन्ने विश्वास दिलाउन सकेमात्र देशलाई राम्रो उचाइमा लान सक्छौ । आजको आवश्यकता पनि त्यही नै हो ।’

यस्तै, नेकपा एमालेकी सांसद विद्या भट्टराईले हिजोका सम्बन्धहरु कति बचाएका छौं, कति भत्कायौं र यसलाई अब कसरी संरक्षण गरेर अगाडि बढ्नुपर्छ भन्ने कुरामा नवराजले महाकाव्यमा चिन्तन गरेको भन्दै हामीले पनि यही विषयलाई चिन्तन र मनन गर्नुपर्ने बताइन् ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया