सिरहा, ९ भदौः यहाँको लहान नगरपालिका–२३ गढियाका लखन रामको नौ दिनअघि भएको सवारी दुर्घटनामा ज्यान गएको थियो । मसला मिलमा ज्यालामजदुरी गरी जीविकोपार्जन गर्दै आएका रामको असामयिक निधनले उहाँको परिवार विचल्लीमा परेको छ । घरका मुख्य सहारा गुमेपछि परिवार भोक, चिन्ता र अन्योलमा परेको छ ।
यो दुःखद् घडीमा लहान नगरप्रमुख महेशप्रसाद चौधरीले आज मृतकको घर पुगेर परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । उनले एक क्विन्टल चामल, पाँच किलो दाल, पाँच किलो नुन, तीन लिटर खानेतेल, चना, मटर, सोयाबिन लगायत खाद्यसामग्री हस्तान्तरण गर्दै पीडित परिवारप्रति सहानुभूति प्रकट गरे ।
खाद्यसामग्री हस्तान्तरणपछि नगरप्रमुख चौधरीले भने, हामीले नगरका दलित, मुसहर तथा विपन्न परिवारमा कसैको मृत्यु भएमा राहत सामग्री वितरण गर्ने नीतिअनुरुप खाद्यसामग्री प्रदान गरेका हौँ । यसले मृत्युपछि गरिने कार्यमा सहयोग पुग्ने छ । थोरै भए पनि यस दुःखद् घडीमा परिवारलाई राहत पुगेको अनुभूति गरेको छौँ ।
आगामी दिनमा उक्त परिवारको फुसको छानो हटाएर जस्तापाता राखिदिने प्रतिबद्धता जनाउँदै नगरप्रमुख चौधरीले मृत्युपछिको क्रियाकर्ममा बढी खर्च नगर्न पनि आग्रह गरे । लखन रामका दुई छोरा र एक छोरी छन् ।
उनका जेठा छोरा कासीकुमार रामले भने, बुबाकै भरमा बाँचेका थियौँ । अब कसरी परिवार चलाउने भन्ने चिन्ता छ । हामीसँग पर्याप्त जग्गाजमिन पनि छैन, त्यसैले मजदुरी हाम्रो विकल्प हो । उनले नगरपालिकाले गरेको यो मानवीय सहयोगले तत्काललाई राहत दिएको बताए । नगरप्रमुखको प्रतिबद्धताले भविष्यप्रति आशा जगाएको मृतक रामका छोरा पेसनकुमार रामले बताए ।







