रातो कागज

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकामा सोमबार राति भएको गोली प्रहार घटनामा संलग्न हरिपुर्वा –५ का २६ वर्षीय धर्मेन्द्र राय उर्फ धिरेन्द्र राय यादव पक्राउ परेका छन् ।
प्रहरीका अनुसार हरिपुर्वा–६ का ४० वर्षीय रामपुकार यादव आफ्नै घर अगाडि बसिरहेका बेला मोटरसाइकलमा आएका दुई जनामध्ये पछाडिबाट ओर्लिएका युवकले पेस्तोल प्रहार गरेका थिए । टाउकोमा गोली लागेर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा महोत्तरीको जानकी हेल्थ केयर लैजाँदै गर्दा मृत्यु भएको थियो ।
गोली प्रहारपछि भाग्ने क्रममा धिरेन्द्र चढेको मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएका उनलाई उपचारपछि मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकलमा सवार अर्का व्यक्ति भने फरार रहेका प्रहरीले जनाएको छ ।
घटनास्थल र धिरेन्द्र बस्दै आएको मलंगवा–९ स्थित डेराबाट नलकटुवा पेस्तोल र गोलीको खोका बरामद भएको प्रहरीको भनाइ छ । जिल्ला अदालत सर्लाहीले उनलाई सात दिनको म्याद थप अनुमति दिएको छ ।
धिरेन्द्र यसअघि पनि घातक अपराधमा संलग्न रहेका प्रहरीको दाबी छ । २०८१ असोज १० गते राति उनले आफ्नै घरमा श्रीमती चित्रलेखा कुमारी यादवलाई गोली प्रहार गरी हत्या गरेका थिए । सो घटनामा उनका बुबा राम दिनेश राय घाइते भएका थिए । त्यसयता फरार रहेका धिरेन्द्रविरुद्ध कर्तव्यज्यान र ज्यान मार्ने उद्योग मुद्दा दर्ता भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया