Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सुबोध स्मृति पत्रकारिता पुरस्कार पत्रकार शाहलाई

रातो कागज
10 घण्टा अघि

वीरगञ्ज पर्सा, १ भदौः स्वर्गीय सुबोध स्मृति पत्रकारिता पुरस्कारबाट वीरगञ्जका पत्रकार क्रान्ति शाह सम्मानित भएका छन ।

प्रतीक प्रकाशन समूहले वीरगञ्जका फोटो पत्रकार स्वर्गीय सुबोध सिंहको स्मृतिमा स्थापना गरिएको पुरस्कारबाट अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत पत्रकार शाह सम्मानित भएका हुन् ।

यहाँको प्रतीक दैनिक पत्रिकाको ३९औँ वार्षिकोत्सव समारोहमा वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले पत्रकार शाहलाई प्रमाणपत्रसहित नगद रु ५१ हजार राशिको पुरस्कार वितरण गरेका हुन् ।

साथै प्रतीक प्रकाशन समूहको वार्षिकोत्सवका अवसरमा उत्कृष्ट संवाददाताका रुपमा प्रमोद यादवलाई नगद रु १५ हजारसहित सम्मान गरिएको छ । उत्कृष्ट स्तम्भकारका रुपमा नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष समेत रहेका ओमप्रकाश खनाललाई नगद रु १० हजार र प्रमाणपत्रले सम्मानित गरिएको छ ।

त्यस्तै स्व चीरञ्जीवी कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट युवा पत्रकार सूर्यनारायण विकलाई नगद रु १५ हजारसहित सम्मानित गरिएको छ ।

सोही अवसरमा प्रतीक दैनिकका कर्मचारी श्यामजीप्रसाद गुप्तालाई नगद रु पाँच हजारसहित सम्मानपत्रले सम्मानित गरियो । त्यस्तै स्तम्भकर अनन्तलाल दासलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

वीरगञ्ज महानगर प्रमुख सिंहले मर्यादित पत्रकारको विकासका लागि हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताए । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पत्रकारिता क्षेत्र समाजको ऐनाका रुपमा रहनुपर्ने बताए ।

प्रतीक दैनिकका प्रधान सम्पादक जगदीश शर्माले पत्रकारितालाई व्यावसायिक ढङ्गले अघि बढाउनुपर्ने बताए । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले पत्रकारिता क्षेत्रले औद्योगिक क्षेत्रलाई प्रवद्र्धन र संरक्षण गर्नुपर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया