Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

कलैया उपमहानगरले सामुदायिक विद्यालयको स्तर सुधार्न योजनाबद्ध पहल गर्ने

रातो कागज
5 घण्टा अघि

वीरगञ्ज पर्सा, ११ साउनः कलैया उपमहानगरले चालु आर्थिक वर्षमा यहाँका सामुदायिक विद्यालयको पठनपाठन र स्तर सुधार्नका लागि विशेष योजना बनाएर कार्यान्वयन गर्ने भएको छ । उपमहानगरले गत वर्षको एसइई परीक्षामा नतिजा खस्किएसँगै सामुदायिक विद्यालयको पठनपाठन र स्तर सुधार्नेतर्फ विशेष कार्यक्रम अघि बढाउने भएको हो ।

कलैया उपमहानगरका प्रमुख विनोदप्रसाद साहले आज वीरगञ्जमा कारखाना समूहले आयोजना गरेको ‘शिक्षा नीति संवाद’ कार्यक्रममा विसं २०८२ मा सामुदायिक विद्यालयको गुणस्तर सुधारमा योजनाबद्ध काम गरिने प्रतिबद्धता व्यक्त गरे ।

कलैयामा रहेका सामुदायिक विद्यालयको नतिजा राम्रो नआएपछि दोष सबै शिक्षकलाई दिने चलन छ । नतिजा राम्रो ल्याउन शिक्षक, विद्यार्थी, अभिभावक सबैको महत्त्वपूर्ण भूमिका रहन्छ”, उनले भने, यस वर्षको नतिजा सुधारका लागि सुरुवाती चरणदेखि आवश्यक मेहनत गरेर शैक्षिक गुणस्तर सुधार्नेतर्फ ध्यान दिनेछौँ । यसमा सबैले सहकार्य र समन्वय गर्नु जरुरी छ ।

प्रमुख साहले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको अनुपस्थितिदर अत्यधिक हुने भएकाले यसलाई सरोकारवाला निकाय, शिक्षक, अभिभावक र विद्यार्थीको सामूहिक पहलबाट जरुरी हुनेमा जोड दिए ।

उनले भने, “उपमहानगरमा २० वटा माध्यामिक विद्यालयमध्ये अधिकांशमा मावि तहका शिक्षकको दरबन्दी नहुँदा पनि पठनपाठनमा समस्या भइरहेको छ । उनले प्रावि दरबन्दीका शिक्षक तथा आन्तरिक स्रोतबाट शिक्षक जुटाएर माविमा अध्ययन अध्यापन गराउनुपर्ने बाध्यता रहेको बताए।

उपमहानगरका शिक्षा महाशाखा प्रमुख राजिवकुमार यादवले सामुदायिक विद्यालयमा शिक्षकको दरबन्दी नहुँदा पठनपाठनमा समस्या हुँदै आइरहेको गुनासो गर्नुभयो । उनका अनुसार उपमहानगरभित्र ७१ वटा सामुदायिक विद्यालय छन् ।

उपमहानगर शिक्षा समिति सदस्य महम्मद सगीरले यहाँका सामुदायिक विद्यालयमा गणित, विज्ञान, अङ्ग्रेजी लगायत विषयका शिक्षक नहुँदा पनि समस्या भइरहेको बताए । उपप्रमुख रोशन प्रविणले विद्यालय सुधार्न सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए । कारखाना समूहका मधेश प्रदेश संयोजक निरजकुमार मिश्रले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर बढाउनका लागि स्थानीय सरकारले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया