Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने

नेपाल न्युज बैंक
10 घण्टा अघि

काठमाडौँ, १ साउनः नेपाल–बेलायत संसदीय मैत्री समूहले नीति निर्माण अनुभव आदानप्रदान र लगानी प्रवर्द्धनबारे छलफल गरेको छ ।

 

आज सिंहदरबारमा बसेको सो समूहको बैठकले वेष्ट मिन्स्टर फाउन्डेसन फर डेमोक्रेसी डब्लुएफडी र नेपाल बेलायत चेम्बर अफ कमर्सका पदाधिकारीसँग छलफल गर्दै नीति निर्माणमा अनुभव आदानप्रदान तथा दुई देशका विविध क्षेत्रमा लगानी प्रवर्द्धनका लागि संसदीय कुटनीति प्रयोग गर्ने निष्कर्ष निकालेको हो ।

 

समूहका संयोजक विराजभक्त श्रेष्ठकाअनुसार वेष्ट मिन्स्टर फाउन्डेसन सँग नेपाल र बेलायतको संसदीय अभ्यास, नीति निर्माणको प्रक्रियाबारे अनुभव आदान प्रदानमा सहकार्य गर्ने समझदारी बनेको छ ।

 

यसैगरी नेपाल बेलायत चेम्बर अफ कमर्ससँग दुई देशबीच सम्भावनाका क्षेत्र, लगानी प्रवर्द्वनबारे सहकार्य र मैत्री समूहले संसदीय कुटनीति प्रयोग गर्ने समझदारी बनेको संयोजक श्रेष्ठले बताए । दुवै संस्थासँग सहकार्यको खाका बनाएर अगाडि बढ्ने उनको भनाइ छ ।

 

मैत्री समूहले नेपाल बेलायत सम्बन्धको संसदीय आयाम, विविध सम्बन्धबारे परराष्ट्र मन्त्रालय सँग छलफल गर्ने निर्णय पनि गरेको छ । बैठकमा वेष्ट मिन्स्टर फाउन्डेसनका निर्देशक दिनेश वाग्लेले नेपालमा हालसम्म गरेको काम, साझेदारीका ढाँचा तथा भविष्यका योजना बारे प्रस्तुति गरे थियो ।

 

नेपाल–बेलायत चेम्बर अफ कमर्सका प्रमुख राजेन्द्र खेतानले बैठकमा नेपालको लगानी सम्भाव्यता, बेलायती लगानीकर्ताका लागि आकर्षक क्षेत्र, दुवै देशबीचको आर्थिक साझेदारीमा रहेका अवसर र चुनौतीहरूबारे धारणा राख्नुभयो । समूहले नेपाल–बेलायत सम्बन्धलाई अझ सुदृढ बनाउने र संसदीय कूटनीति तथा आर्थिक सहकार्यलाई बलियो बनाउने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया