नेपाल न्युज बैंक

काठमाडौं । देशको जनसांख्यिक चुनौती सम्बोधन गर्ने उद्देश्यका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनसंख्या नीति शुक्रबार सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा नीति सार्वजनिक गरेका हुन् ।
देशका हिमाली क्षेत्रका ३४ जिल्ला र तीन सय १९ तहमा जनसंख्या वृद्धिदर ऋणात्मक रहेको अवस्थामा अहिलेको चुनौतीसँग जुध्नका लागि भन्दै मन्त्री पौडेलले परिवर्तित समस्या समाधान गर्न नीति अघि बढाउने तयारी गरेका थिए । सोहीअनुसार गत सोमबारको मन्त्रिपरिषद बैठकमा मन्त्री पौडेलको प्रस्ताव पारित भएपछि नयाँ नीति आएको हो ।
यसले २०७१ सालमा आएको जनसंख्या नीतिपछि देखिएका जनसंख्या चुनौती समाधान तथा बढिरहेको युवा जनसंख्याबाट लाभ लिने विषय समेटेको छ ।
नीतिले हाल घटिरहेको प्रजनन दरलाई एक दशमलव ९४ बाट जनसंख्या वृद्धिदर सहज अवस्थामा पुर्याउन २ दशमलव १ प्रतिशतमा पुर्याउने लक्ष्य राखेको छ । साथै हाल उच्च रहेको १५ देखि ५९ वर्ष उमेर समूहको ६१ दशमलव ९ प्रतिशत जनसंख्याबाट अर्थतन्त्रले लाभ लिने परिकल्पना गरेको छ ।
जनसंख्याको अहिलेको अवस्थाका आधारमा योजना बनाउन आवश्यक रहेको र यसका लागि तीनै तहबीच समन्वय गर्नका लागि नीतिले जोड दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीको अध्यक्षतामा राष्ट्रिय जनसंख्या निर्देशन तथा समन्वय समितिको परिकल्पना गरेको नीतिले तीनै तहका समस्या सम्बोधन गर्न व्यवस्थापन मार्गदर्शन जारी गर्ने लक्ष्य लिएको छ ।
विकास योजनाहरु बने पनि उपभोग हुन नसकेको अवस्थालाई सम्बोधन गर्न नीतिले यस्ता पूर्वाधार बनाउँदा जनसंख्याको प्रभाव मूल्यांकन गर्ने लक्ष्य लिएको छ । साथै, जनसंख्याका सबै खालको तथ्यांक तीनै तहबीच एकीकृत प्रतिवेदन बन्ने प्रणालीका साथै व्यक्तिगत जनसंंख्या विवरण प्रणालीमा आबद्ध गरी सरकारका अंगहरुले एकीकृत रुपमा प्राप्त गर्न सक्ने लक्ष्य नीतिले राखेको छ ।
साथै, नागरिकको स्वास्थ्य पहुँच अभिवृद्धिका लागि स्वास्थ्य बीमामार्फत सबै नागरिकको पहुँच पुर्याएर स्वास्थ्य उपचारमा आर्थिक सहायता प्रदान गर्ने लक्ष्य नीतिले लिएको छ । नीतिको कार्यान्वयनले समृद्ध देश निर्माणको लक्ष्य प्राप्तिका लागि युवा परिचालनबाट जनसांख्यिक लाभ हुने अपेक्षा मन्त्रालयको छ । आन्तरिक बसाईंसराइ व्यवस्थि तगर्ने तथा ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव क्षमताको उपयोग गरेर मर्यादित र सम्मानित जीवनको लक्ष्य प्राप्त हुने परिकल्पना नीतिले गरेको छ ।
यसका लागि अहिलेको शिक्षा प्रणालीमा परिमार्जन गर्दै उद्यमशील सीपयुक्त शिक्षामा जोड दिइएको छ । साथै, विदेश गएका र फर्किएका आप्रवाशी जनशक्तिलाई उपभोग गर्ने गरी योजना तथा कार्यक्रम निर्माण गर्ने विषय नीतिले समेटेको छ ।
राज्यबाट प्रदान गर्ने सार्वजनिक सेवा राष्ट्रिय परिचय पत्रमा आवद्ध भएमा यसले नागरिकलाई सहजता र राज्यलाई सेवा र आवश्यकता तथा उपभोगको तथ्यांक दिने अपेक्षा नीतिले लिएको छ ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको जनसंख्या चुनौती सम्बोधन गर्न सरकार गम्भीर रहेको भन्दै नागरिकबाट साथको अपेक्षा गरे । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जनसंख्यामैत्री सरकार निर्माण गर्न चाहेकाले मानिसको संख्या मात्र नभै उनीहरुका चाहनालाई समेत सम्बोधन गर्ने गरी का मगर्न नीति ल्याएको बताए ।
उनले सरकार जनसांख्यिक लाभ लिन र कम भएका क्षेत्रको समस्या सम्बोधन गर्न समन्वय गर्न तयार रहेको भन्दै तीनै सरकारसँग मिलेर युवाको परिचालनबाट देशलाई समृद्ध पार्न का मगर्ने प्रतिबद्धता जनाए ।
‘नीतिले सरकारको प्राथमिकता अहिलेको समस्या सम्बोधन र अवसरबाट लाभ लिने भएको पुष्टि गरेको छ,’ उनले भने,‘यसको कार्यान्वयनमा तीनै तहका सरकार र सबैको साथ अपेक्षा गरेका छौं ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया