लहान । सिरहाको लहान बजार क्षेत्रमा बसोबास गर्दै आएका दलित मुसहर समुदायका सुकुम्बासीहरू आइतबार आन्दोलनमा उत्रिएका छन् । पछिल्लो समय बालेन नेतृत्वको सरकारले विभिन्न स्थानका सुकुम्बासी बस्ती हटाउने तयारी गरिरहेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले आफूहरूलाई हाल बसोबास गर्दै आएको स्थानमै लालपुर्जा उपलब्ध गराउनुपर्ने, अन्यथा वैकल्पिक सुरक्षित व्यवस्थापन गरेर मात्रै हटाउनुपर्ने माग गरेका छन् । उनीहरूले “व्यवस्था बिना हटाउने निर्णय अन्यायपूर्ण हुने” बताएका छन् ।
प्रदर्शनमा सहभागी महिलाहरूले सरकारको कदमले आफूहरू डर र त्रासमा बाँच्न बाध्य भएको गुनासो गरेका छन् । एक महिलाले भनिन्, “हामीलाई स्पष्ट सूचना पनि आएको छैन, तर घर भत्काइने डरले रातदिन त्रासमा बस्नुपरेको छ ।”
स्थानीय बासिन्दाहरूका अनुसार सुकुम्बासी समस्या समाधानको नाममा गरिब नागरिकलाई विस्थापित गर्ने प्रयास भइरहेको छ । केही नागरिकले बालेन नेतृत्वको सरकारप्रति असन्तुष्टि बढ्दै गएको प्रतिक्रिया दिएका छन् । “घन्टीमा भोट हालेर पछुतो भइरहेको छ” भन्ने आवाज समेत प्रदर्शन स्थलमा सुनिएको स्थानीयले बताएका छन् ।
प्रदर्शनकारीहरूको मुख्य प्रश्न अहिले वर्षायाम नजिकिएको अवस्थामा उठेको छ । “पहिला सुरक्षित बास, गाँस र कपासको व्यवस्था गरियोस्, त्यसपछि मात्रै घर हटाउने कुरा गरियोस्,” एक महिलाले भनिन्, “वर्षा सुरु भइसकेको बेला हामी कहाँ जाने ?”
सुकुम्बासीहरूले सरकारले “जनता सुकुम्बासी रहनु हुँदैन” भन्ने नीति लिएको भए पनि त्यसअनुसारको पुनः स्थापना र व्यवस्थापनको स्पष्ट योजना नदेखिएको आरोप लगाएका छन् । बिना वैकल्पिक व्यवस्था घर तोडफोड गरिनुले विपन्न समुदाय थप असुरक्षित बनेको उनीहरूको भनाइ छ ।
स्थानीय स्तरमा अहिले सुकुम्बासी समुदायमा अन्यौलता र त्रास बढ्दै गएको देखिन्छ। विशेष गरी दैनिक मजदुरी गरेर जीविका चलाउने मुसहर समुदायका नागरिक वर्षाको समयमा आश्रयविहीन हुने चिन्तामा छन् ।
सामाजिक अगुवाहरूले पनि सुकुम्बासी समस्या समाधानका लागि बल प्रयोग वा हटाउने नीति मात्रै पर्याप्त नहुने बताएका छन्। उनीहरूले दीर्घकालीन पुनः स्थापना, रोजगारी, शिक्षा र सुरक्षित आवाससहितको योजनामा सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
लहानका प्रदर्शनकारीहरूले तत्काल संवाद, स्पष्ट सूचना र मानवोचित व्यवस्थापनको माग गर्दै आफ्नो आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।







