काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमाथि गम्भीर आक्रमण भइरहेको बताएका छन् । उनले न्यायलयमाथि प्रहार भएको संकेत गरेका हुन् ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सरकारले संविधानको धारा माथि नै ग्रहण लाग्नेगरी अध्यादेश ल्याएको भन्दै संविधानलाई निष्क्रिय बनाइएको आरोप लगाए ।
उनले भने,‘यतिबेला सर्वोच्च अदालतमाथि गम्भीर आक्रमण भइरहेको छ । किनकी हामीले के देखिरहेको छौं भने एउटा गैर संवैधानिक, संविधानको धारा माथि नै ग्रहण लाग्नेगरी, संविधानको धारा २८४ संकुचित हुनेगरी यसको आधारभूत उद्देश्य पराजित हुनेगरी अध्यादेश ल्याइयो । नेपालमा संविधान संशोधन गरिँदैन छ । संविधानलाई निष्क्रिय बनाईँदै छ ।’
त्यस्तै उनले सरकारले प्रेस स्वतन्त्रता पनि खोस्ने खतरा रहेको टिप्प्णी गरे । सरकारले गर्ने काममा कुनै सिमितता नभएको भन्दै उनले नागरिकको अधिकार कटौती हुने काम सुरु भइसकेको धारणा राखे ।
उनले भने,‘खतरनाक स्थिति के छ भने भोली हाम्रो प्रेस स्वतन्त्रता खोसियो भने रिट पनि सर्वोच्च अदालतमा दर्ता नहुने स्थिति देखिएको छ । यो सरकारलाई लज्जाबोध छैन् । सरकारले के गर्छ के गर्दैन् भन्ने सिमित छैन् । अध्यादेशराज सुरु भयो देशमा । नागरिकको अधिकार कटौती हुने काम सुरु भइसकेको छ ।’
वरिष्ठ अधिवक्ता त्रिपाठीले मुलुक शासकको कानुनबाट होइन् विधिको शासनबाट चल्नुपर्ने भन्दै अहिले शक्तिको कानुन लागू गर्न खोजिएको आरोप लगाए ।
उनले भने,‘प्रधान्यायाधीशको नियुक्ति राजनीतिक होइन् संवैधानिक रुपमा हुनुपर्छ । मसँग दुई तिहाई छ भन्न पाइँदैन् । जति भएपनि विधिको शासनलाई त्यसले मिच्न सक्दैन् । मुलुक शासकको कानुनबाट होइन् विधिको शासनबाट चल्नुपर्यो । यहाँ शक्तिको कानुन लागू गरिँदै छ ।’ सरकारले स्वेच्छाचारी ढंगले प्रधान्यायाधीसको सिफारिस गरेको उनको भनाई छ ।
अदालतमाथि गम्भीर आक्रमण भइरहेको छ, नागरिक अधिकार कटौती हुनथाले : वरिष्ठ अधिवक्ता त्रिपाठी







