वीरगञ्ज । मानवसेवा आश्रम वीरगञ्ज शाखाले एक जना बेवारिसे महिलाको उद्धार गरेको छ। पर्सा जिल्ला अदालत परिसरमा अलपत्र अवस्थामा फेला परेपछि मंगलबार राति अन्दाजी ५० वर्षीया उमा खातुनलाई नेपाल प्रहरीको रोहबरमा उद्धार गरी आश्रमको वीरगञ्ज शाखाको संरक्षणमा राखिएको हो।
उमा खातुनको पारिवारिक पुनर्मिलनका लागि पहल भइरहेकाे हुँदा परिवार खोजी कार्यमा सहयोग गरिदिन आश्रमले सबैमा आग्रह गरेको छ।
मानवसेवा आश्रमले विगत १३ वर्षदेखि खुला सडकपेटी तथा सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न बाध्य बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन बालबालिका तथा शारीरिक र मानसिक रूपमा कमजोर व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण र पारिवारिक पुनर्मिलन समेत गर्दै आइरहेको छ।






