वीरगञ्ज। मानसिक रूपमा कमजोर अवस्थामा रहेकी एकजना महिलालाई मानवसेवा आश्रम वीरगञ्ज शाखाको उद्धार टोलीले नेपाल प्रहरीको समन्वयमा उद्धार गरेको छ।
वीरगञ्ज महानगरपालिका–९, घण्टाघर क्षेत्रबाट ४५ वर्षीया बिटु कुमारी मिश्रलाई उद्धार गरिएको हो। सडकमा अलपत्र अवस्थामा फेला परेकी उनलाई उद्धार पश्चात आश्रममा ल्याई प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएको हाे भने आवश्यक औषधोपचार सुरु गरिएको मानवसेवा आश्रमले जनाएको छ।
हालसम्म उनको पारिवारिक पृष्ठभूमि खुल्न सकेकाे छैन । उनको पहिचान खुलाउने तथा परिवारसँग पुनर्मिलन गराउने उद्देश्यले आवश्यक खोजी, सूचना संकलन र सम्बन्धित निकायसँग समन्वय गरिदिन हुन आश्रमले सबैमा आग्रह गरेकाे छ ।
मानवसेवा आश्रमले सडकआश्रित, मानसिक तथा शारीरिक रूपमा कमजाेर व्यक्तिहरूको उद्धार, संरक्षण, उपचार र पुनर्स्थापनाका क्षेत्रमा निरन्तर सेवा गर्दै आइरहेएको छ। आश्रमले यस्ता व्यक्तिहरूलाई सुरक्षित वातावरणमा राख्दै स्वास्थ्य उपचार र पारिवारिक पुनर्मिलनमार्फत सम्मानजनक जीवनमा फर्काउने लक्ष्यसहित काम गरिरहेको छ।







