वीरगञ्ज । जाडोयाममा खुला सडकपेटीमा कष्टकर जीवन बिताइरहेकी एक युवतीलाई मानवसेवा आश्रम वीरगञ्ज शाखाले उद्धार गरी सुरक्षित आश्रय प्रदान गरेको छ।
सोमबार विभा मुसहर नाम बताउने युवतीलाई वीरगञ्ज महानगरपालिका–१४, प्रतिमा चोकमा बेवारिसे अवस्थामा भेटेपछि उद्धार गरिएको हो। केही दिनदेखि सडकपेटीमै भौतारिरहेकी उनी जाडोका कारण दयनीय अवस्थामा पुगेकी थिइन्।
अलपत्र अवस्थामा रहेकी युवतीलाई नेपाल प्रहरीको रोहवरमा उद्धार गरिएको आश्रमले जनाएको छ। मानसिक स्वास्थ्य समस्याबाट पीडित रहेकी उनको हालसम्म पारिवारिक पृष्ठभूमि खुल्न सकेको छैन। आश्रमले उपचारसँगै सम्मानपूर्वक जीवनयापन गर्न आवश्यक वातावरण प्रदान गर्ने जनाएको छ।
‘जसको केही छैन, जसको कोही छैन, उनीहरूको सेवा’ भन्ने मूल मन्त्रका साथ मानवसेवा आश्रमले विगत १३ वर्षदेखि आफ्ना लागि केही गर्न असमर्थ व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण तथा पालनपोषणजस्ता आधारभूत मानवीय आवश्यकताको जिम्मेवारी वहन गर्दै राज्यको सहयोगी संस्थाका रूपमा अभिभावकीय दायित्व पूरा गर्दै आएको छ।







