६ फाल्गुन २०८२, बुधबार
मधेश मुख्‍य समाचार समाचार

लहानमा स्मार्ट शौचालय निर्माण सुरु

सिरहा, ४ मङ्सिरः यहाँको लहान नगरपालिकाले मुख्य बजार क्षेत्र हुलाकचोकमा आधुनिक सार्वजनिक शौचालय निर्माण सुरु गरेको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले बुधबार शिलान्यास सँगै लहानलाई स्वच्छ, सुरक्षित र पर्यटकीय दृष्टिले आकर्षक सहर बनाउने लक्ष्यमा यो परियोजना महत्त्वपूर्ण कदम भएको बताए ।

करिब रु ५० लाखको लागतमा निर्माण हुने यो शौचालय यसै आर्थिक वर्षभित्र सम्पन्न गरिने जनाइएको छ । लहानमा बढ्दो जनघनत्व र पूर्व–पश्चिम महेन्द्र राजमार्गमा दैनिक रूपमा हुने यात्रुको चापलाई धान्न वर्षौंदेखि पर्याप्त र आधुनिक सार्वजनिक शौचालयको अभाव रहेको थियो । शिलान्यास समारोहमा नगरप्रमुख चौधरीले भने, यहाँ सार्वजनिक शौचालयको आवश्यकता अत्यन्तै बढेको छ । अब हामी सर्वसुलभ, सुरक्षित र सुविधायुक्त संरचना निर्माण गर्दैछौँ ।

अत्याधुनिक प्रविधियुक्त ‘स्मार्ट शौचालय’ बन्ने यस संरचनामा महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिलाई सहज पहुँच हुने व्यवस्था राखिने चौधरीले बताए । उनले भने, यो शौचालय लहानका लागि नमूना संरचना बन्नेछ । चमेनागृह र स्तनपान कक्षदेखि सेनेटरी प्याड भण्डारण सम्मका सुविधा एउटै स्थानमा उपलब्ध गराइनेछ ।

शौचालयको माथिल्लो तलामा कफी सप सञ्चालन गरिनेछ भने भुइँतलामा आधुनिक सुविधासहितको चारपाङ्ग्रे सवारी धुने केन्द्र निर्माण हुनेछ । साथै एक भागमा विद्युतीय गाडी ‘चार्जिङ स्टेसन समेत रहनेछ, जसले भविष्यमा बढ्दै गएको विद्युतीय सवारीको प्रयोगलाई सहयोग गर्नेछ ।

लहानका दलित तथा मुसहर समुदाय बहुल क्षेत्रमा विगतदेखि नै सरसफाइ चुनौतीपूर्ण रहेको आएको छ । दलित जनकल्याण युवा क्लबले नगरका विभिन्न स्थानमा करिब १५ वटा सामुदायिक शौचालय निर्माण गरिसकेको भए पनि कमजोर व्यवस्थापनका कारण तीमध्ये कतिपय प्रयोगविहीन हुने स्थितिमा पुगेका छन् । यो अवस्थाबारे संस्थाका कार्यकारी निर्देशक विनोद विसुङ्केले भने, सुविधाका लागि संरचना बनाइए पनि व्यवस्थापनमा कमी हुँदा कतिपय शौचालय प्रयोगविहीन बन्न पुगेका छन् ।

नगरपालिकाले अब ती संरचनाहरूलाई पनि स्तरोन्नति गरी भौतिक गुणस्तर र सेवासुविधा सुधार गर्ने तयारी गरेको छ । नगरप्रमुख चौधरीले सामुदायिक, निजी तथा संस्थागत सहकार्यमा सार्वजनिक–निजी साझेदारी नीतिअनुसार आधुनिक सुविधा बिस्तार गरिने जानकारी दिए ।

लहानमा सुरु भएको आधुनिक सार्वजनिक शौचालय परियोजनाले सहरलाई स्वच्छ, सुरक्षित तथा पर्यटकमैत्री बनाउन योगदान पुग्ने विश्वास गरिएको छ । विश्व शौचालय दिवसको अवसर पारेर नगरपालिकाले बुधबारदेखि दिगो सरसफाइको उद्देश्यसहित ‘घर–घरको शान, स्वच्छता अभियान–२०८२ औपचारिक रूपमा सुरु गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि