वीरगञ्ज पर्सा, ३ मङ्सिरः जेनजी आन्दोलनमा आफ्नो २४ वर्षे छोरा असहाब आलम ठकुराई गुमाएकी आमा नजला खातुन र आफ्नो पति गुमाएकी रोक्सिता खातुनको आँखा अहिले पनि ओभाएका छैनन् । काठमाडौँमा गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सहादत प्राप्त गरेका छोरा र पतिको यादले दुबै जना अहिलेसम्म पनि सम्हालिन सकिरहेका छैन ।
उनहरु मात्रै होइन, परिवारका अन्य सदस्यहरुको पनि पीडा कम भएको छैन । आफ्नो घरको सदस्य गुमाउनु पर्दा परिवारमा निराशा र छटपटी भने उस्तै छ । जेनजी आन्दोलनमा भएको अप्रिय घटनाले मेरो मुटु नै चुँडेर लगेजस्तै भइरहेको छ, गहँभरि आँशु झार्दै आमा नजला खातुनले भन्नुभयो, आफ्नो सन्तान गुमाउनु पर्दा म जस्तो आमालाई परेको दुःख अरु कसैलाई नपरोस् ?
सहिद ठकुराईकी आमा नजलाले आफ्नो साइलो छोरा गुमाएपछि आफ्नो परिवार बिछिप्त अवस्थामा रहेको बताए । घरपरिवारको सहारा रहेको छोरालाई मात्रै गुमाएका छैनौँ । कतारमा सुरक्षा गार्डको रुपमा काम गर्दै आएका श्रीमानको समेत जागिर गुमेको छ, उनले भने, जग्गाको नाममा एउटा घरसहितको नौ धुर जग्गा मात्रै छ । चार छोरा र बुहारीको लालनपालन कसरी गर्ने भन्ने चिन्ताले सताइरहेको छ ।
ठकुराईका बुबा अमरुद्धिन वैदेशिक रोजगारको सिलसिलामा कतारमा कार्यरत रहन्थे । जेनजी आन्दोलनमा छोरा बितेसँगै उनले जागिर छाडेर छोराको अन्तिम संस्कारको कर्म गर्न भन्दै नेपाल फर्किएका थिए । अहिले बुबा अमरुदिन भने कामविहीन भएका छन् । छोराको मुस्लिम धार्मिक संस्कार अनुसारको कर्म गर्न भन्दै भारतको नयाँदिल्लीमा इस्मालिम जमाती गर्नका लागि गएका छन् ।
मुस्लिम समुदायमा आफ्नो परिवारको सदस्यको निधनपछि चार महिने संस्कार हुने बताइन्छ । आमा नजलाले आफ्नो परिवारको खम्बा नै ढलेकाले पनि सरकारले आफ्नो परिवारको एक जना सदस्यलाई स्थायी रोजगारीको व्यवस्था गर्नका लागि जोडदार माग गरेका छन् । कलकलाउँदो नौजवान छोरा गुमाएका छौँ । छोराको मृत्युको पूर्ति त जे दिए पनि हुन सक्दैन तर परिवारका सदस्यको गुजारा चलाउनको लागि पनि सरकारले एक सन्तानलाई स्थायी जागिरको व्यवस्था गरिदिए केही हदसम्म भए पनि मलमपट्टी हुने थियो ।
जेनजी आन्दोलनमा सहिद भएका ठकुराईकी पत्नी रोक्सिता खातुनको अवस्था पनि नाजुक भएको नजलाले बताए । बिहे गरेको दुई महिना बित्न नपाउँदै छोरा गुमाउनुप¥यो । अब बुहारीले कसको मुख हेरेर बाँच्लिन् जस्तै भएको छ । हाम्रो त परिवारमा पीडामाथि पीडा थपिएको छ, उनले भने, छोरा बितेसँगै बुहारीको मुहार कतिबेला पनि उज्यालो भएको छैन । बुहारी अहिले कोठाभन्दा बाहिर पनि निस्किएकी छैनन् । घटना हुनुभन्दा दुई महिना अघि मात्रै २४ वर्षे असहाव भारतको विहार राज्यको पूर्वी चम्पारणको आदारपुर नजिकै बेल्दर्वाका रोक्सितासँग विवाह बैवाहिक जीवनमा बाँधिनुभएको थियो ।
जेनजी आन्दोलनका सहिद भएका ठुकराईका भाइ मुराद आलमले जेनजी आन्दोलन जुन उद्देश्यले गरिएको थियो, त्यसअनुसार परिवर्तन हुनुपर्ने माग गर्नुहुन्छ । मेरा दाइ जस्तै धेरै नेपालीले भ्रष्टाचारको विरुद्धको जेनजी आन्दोलनमा आफ्नो ज्यानको प्राण आहूति दिए । उनको योगदानलाई संस्थागत गर्नका मुलुकमा सुशासन र विधिको शासन हुनुप¥यो नि?
जेनजी आन्दोलनमा बित्नु भएका ठकुराई वीरगञ्जमा कक्षा १२ उत्तीर्ण गरेर उच्च शिक्षा अध्ययन गर्नका लागि काठमाडौंँ जानुभएको थियो । उनी फुर्सदको समयमा केही घण्टा पठाओ बाइक चलाएर खर्च जुटाउने गर्थे” भाइ मुरादले भने । असहाब भदौ २४ गतेको जेनजी आन्दोलनमा सक्रिय रुपमा सरिक भएका थिए । उनको फोटो तथा भिडियोले पनि उनी आन्दोलनमा सहभागी भएका पुष्टि गर्दछ ।
कोटेश्वर आसपासको सडकमा प्रहरीको गोली लागेर दाजुको सहादत प्राप्त गरेको मुरादले बताए । दाजुको छातीमा दुई गोली लागेपछि नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचार गर्न लागिएको रहेछ, उनले भने, सिभिल अस्पतालमा मृत्यु भएपछि पोष्टमार्टम गर्नका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पु¥याइएको भन्ने सुनियो । हामीले दाजुको शव शिक्षण अस्पतालबाट बुझिलिएका हौँ ।
मन्त्रिपरिषद्को गत कात्तिक १७ गते बसेको बैठकले भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा काठमाडौं लगायतका विभिन्न भागमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । सोही निर्णय अनुसार वीरगञ्जका असहाब पनि सहिदको सूचीमा परेका छन् ।
परिवारका सदस्य भने सहिदको सूचीमा राखेर मात्रै नपुग्ने बताउछन् । मुरादले सरकारले आफ्नो दाजुलाई सहिद घोषणा गरेर मात्रै नपुग्ने बताए । हाम्रो दाइलाई सहिद घोषणा गरेर मात्रै हुँदैन । जेनजी आन्दोलनमा ज्यान गुमाएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीको राज्यले उच्च सम्मान गरी उनहरुलाई सधैँ सम्झिने वातावरण बनाउन जरुरत छ, उनले भने, जेनजी आन्दोलनका उद्देश्य अनुरुप मुलुकमा भ्रष्टाचाररहित सुशासन र समृद्धि आउन जरुरत भएको छ ।”
सहिद असहाब नजला र अमरुदिनको पाँच सन्तानमध्येका तेस्रो छोरा हुनुहुन्छ । असहाब वीरगञ्जको ग्लोबल विजनेस कलेजबाट व्यवस्थापन सङकायमा कक्षा १२ पास गरेर थप अध्ययन र रोजगारीका लागि काठमाडौँ जानु भएको थियो । असहाबका जेठा दाजु राजाबाबु र माइला दाजु आरिफ सिलाइकटाईको काम गर्दै आउनुभएको छ । अर्का भाइ मुराद कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ भने कान्छो भाइ मुनाफ कक्षा नौमा अध्ययनरत छन् ।
वीरगञ्ज महानगरपालिका–१२ का पूर्व वडाध्यक्ष तुफान अन्सारीले वीरगञ्जले एक असल युवा गुमाउनु पर्दा मर्माहत भएको बताउछन । असहाब भाइ निकै असल व्यक्ति हुन्थे । उनको निधनले अपूरणीय क्षति भएको छ, उनले भने, जेनजी आन्दालनको उद्देश्यले सार्थकता पाएको खण्डमा ठकुराई जस्ता युवाको उच्च सम्मान हुनेछ ।
मुराद आफ्नो जेनजी आन्दोलनमा सरिक भएका युवा विद्यार्थीमा दमन गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने माग गर्छन् । जेनजी आन्दोलनमा अत्याचार गर्नेलाई तत्कालै कानूनी दायरामा ल्याउन जरुरी छ, उनले भने, दोषीलाई कडाभन्दा कडा कारवाही भएको खण्डमा मात्रै सहिदप्रति सच्चा सम्मान हुनेछ । जेनजी आन्दोलनमा सहिद भएका प्रत्येक परिवारका सदस्यलाई सरकारी जागिरको सुनिश्चित गर्नुपर्ने मुरादको माग छ ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी समुनकुमार कार्कीले जेनजी आन्दोलनको क्रममा मृत्यु भएका असहाबका परिवारलाई सङ्घीय सरकारले घोषणा गरे बमोजिमको क्षतिपूर्ति उपलब्ध गराइसकेको बताए । सङ्घीय सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाका परिवारलाई घोषणा गरेको क्षतिपूर्ति उपलब्ध गराइसकेका छौँ, उनले भने । गत भदौ ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनमा मृत्यु भएका व्यक्तिका परिवारलाई रु १५ लाख क्षतिपूर्ति दिने र मृतकलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो ।







