६ फाल्गुन २०८२, बुधबार
मधेश मुख्‍य समाचार समाचार

शौचकार्यका लागि अझै पनि चउर र झाडीको भर

महोत्तरी, ३ मङ्सिरः बिहान उज्यालो भयो कि महोत्तरीको भङ्गाहा–४ रामनगरस्थित मुसहरीटोलका ६० वर्षीय पिर्ता सदा हातमा प्लाष्टिकको जगमा पानी बोकेर दिसा गर्न टाढाको चउर वा झाडीतिर लाग्छन् ।

जथाभावी दिसापिसाब गर्नुहुन्न भन्ने बुझे पनि आफ्नो बस्तीमा शौचालय नभएपछि पिर्ताको यो सधैँको दैनिकी बनेको छ । आज १९ नोभेम्बरको दिन विश्व शौचालय दिवस मनाइ रहँदा मधेसको सुगम जिल्ला भनिने महोत्तरीका गाउँबस्तीमा अझै दिसापिसाब गर्न खुला चउर वा झाडीकै सहारा छ ।

यो गाउँमा ६० घर मुसहर बस्ती छ । पिर्तामात्र नभएर बस्तीका सबै मुसहर परिवारको दिसापिसाब गर्ने थलो चउर, झाडी र रातबिरात त सडक छेउका किनार हुन्छन् । पुरुषलाई भन्दा महिलालाई शौचकार्यमा झनै अप्ठ्यारो छ । उज्यालो नहुँदै बस्तीभरिका महिला मेलापात हिँडे झँै समूहमा दिसापिसाब गर्न निस्कन्छन् ।

के गर्नु यसो बारबेर गरेर खाल्डो खन्ने ठाउँ पनि छैन, बस्तीकी हेमनी सदा भन्छन्, हामी सबै घर मुसहरलाई हुनेगरी एउटा पानीको धारा र सबैले प्रयोग गर्न मिल्ने पाइखानाघर शौचालय बनाइ दिए पनि हुने, तर चुनाव जितेर जाने कसैले वास्ता गरेनन् । बस्ती अगाडिको खाली चउरमा सबैका लागि साझा शौचालय बनाइ दिए आफूहरुलाई अहिले केकेन पाएजस्तो हुने उनको भनाइ छ । जिल्लामा मुसहर र बाँतर जाति समुदायको सबैभन्दा बढी बसोबास रहेको भङ्गाहा नगरपालिका हो । यसै नगरक्षेत्रमा २७ दशमलव नौ प्रतिशत घर अझै शौचालयविहीन रहेका राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अभिलेख छ ।

यहाँका मात्र नभएर जिल्लाभरिकै मुसहर समुदाय खुला ठाउँमा दिसापिसाब गर्छन् । सम्पत्तिको नाउँमा उनीहरूको सानो पराले झुप्रो मुस्किलले ठडिएको हुन्छ । झुप्राहरु एकअर्कोमा खप्टिएझँै छन् । कसैसँग शौचालय बनाउने ठाउँ र आर्थिक सामथ्र्य नभएपछि मुसहरको दिसापिसाब खुला गर्नुपर्ने बाध्यता नहटेको हो ।

पछिल्लो गणनाअनुसार महोत्तरीमा २७ हजार ३५२ मुसहर समुदायको बसोबास भएको देखिन्छ । त्यसयताका वर्षमा यो सङ्ख्या धेरथोरले बढेकै हुनुपर्छ । तर, यति जनसङ्ख्याको मुसहर जाति समुदायमा शौचालयको सुविधा उपभोग गर्ने नगन्यमात्र रहेका छन् । मुसहरको शौचालय नहुनमा ठाउँ र अर्थ अभाव नै मुख्य कारण रहेको छर्लङ्ग देखिने भङ्गाहा–४ रामनगरकै सामाजिक अगुवा वृदेवसिंह दनुवार बताउछन् ।

जिल्लामा मुसहरमात्र नभएर बाँतर, डोम, मेस्तर र हलखोर जाति समुदाय पनि आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक अवसर नपाएर निकै पछि परेको मानिन्छन् । यी जाति समुदाय पनि अधिकांश गरिबीकै कारण शौचालय बन्न नसक्दा खुला दिसापिसाब गर्न विवश छन् ।

महोत्तरीमा २०७८ को राष्ट्रिय जनगणनाले सात लाख छ हजार ९९४ जनसङ्ख्या देखाएको छ । सो जनगणनाअनुसार जिल्लाका १५ प्रतिशत भन्दा बढी घरपरिवार अझै शौचालय पहुँचबाहिर रहेको अवस्था छ । आज विश्व शौचालय दिवस मनाइरहँदा सरसफाइको मुख्य पाटो मानिने शौचालय अझै १५ दशमलव चार प्रतिशत घरपरिवारमा नहुनुलाई सामान्य रुपमा लिन नहुने स्वस्थ्यकर्मीहरूको भनाइ छ ।

विशेषगरी जिल्लामा सामाजिक, सांस्कृतिक, शैक्षिक र आर्थिक अवसरको पहुँच बाहिरका सीमान्तकृत जाति समुदायका घर शौचालयविहीन छन् । मुलुक खुला दिसामुक्त राष्ट्र घोषणा भएको छ वर्ष नाघेको छ । यसअघि २०७६ साल असोजमा नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएपनि खुला चौरमा शौच गर्नेक्रम जारी छ । त्यसयता विपन्न परिवारका घरमा शौचालय निर्माणका योजना नबन्दा महोत्तरीका कूल एक लाख ३७ हजार ९०२ घरपरिवारमध्ये १५ प्रतिशत भन्दा बढी घरका जनता दिसापिसाब गर्न अझै खुला चउर, झाडी र सडक पेटी प्रयोग गर्न बाध्य छन् ।

विसंं २०६८ र २०७८ बीचको १० वर्षको अवधिमा सरसफाइ सचेतना र शौचालय निर्माणको काम अभियानका रुपमा सञ्चालन गर्दा सकारात्मक परिणाम देखिए पनि २०७८ यता यो अभियान पूरै सुस्त भइदिँदा अपेक्षा गरेअनुसारको परिणाम आउन नसकेको सारथी नेपाल सामाजिक संस्थाकी अध्यक्ष बर्दिबास–६ किसाननगरकी शर्मिला घिमिरे बताउछन् ।

जिल्लाका १५ स्थानीयतहका सबैजसो गाउँबस्तीमा अझै पनि शौचालयविहीन घर भेटिन्छन् । घरमात्र नभएर जिल्लाका खुबै चल्तीका बजारक्षेत्र, चोक, हाटबजारजस्ता सार्वजनिक ठाउँमा पनि सार्वजनिक शौचालयको अभाव छ । यो अवस्था अन्त्यका लागि सम्बन्धित स्थानीयतहहरुले स्पष्ट खाकासहित योजनाबद्ध काम अघि बढाउन आवश्यक रहेको जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमन कुमार लाल कर्ण बताउछन्।

हाम्रा स्थानीयतहहरुले सङ्कल्प गर्नुप¥यो, अब थोरै प्रयत्नले पनि शतप्रतिशत नतिजा लिन सकिन्छ, कर्ण भन्छन्, सरसफाइका क्षेत्रमा काम गरिरहेका सामाजिक सङ्घसंस्थाहरूसँग समन्वय गरेर लक्ष्य हासिल गर्न सकिन्छ । सामूहिक प्रयत्नले यो अवस्था अन्त्य गर्न सकिने उनको भनाइ छ । जग्गा नभएका दलित बस्तीमा सामूहिक शौचालयको अवधारणाबाट स्थानीय समुदायलाई संरक्षणको जिम्मेवारी बुझाएर स्थानीयतहहरूले यो कामको नेतृत्व लिनपर्ने कर्णको सुझाव छ ।

शौचालय सुविधाकोे दृष्टिले मधेस प्रदेश अवस्था पनि सुध्रन बाँकी छ । यहाँ अझै १२ प्रतिशत घरपरिवार यो सुविधाबाट वञ्चित छन् । मधेसका कूल ११ लाख ५६ हजार ३८३ घरपरिवारमध्ये ८८ प्रतिशतले कुनै न कुनै प्रकारका शौचालयको प्रयोग गरेका राष्ट्रिय जनगणना–२०७८ को प्रतिवेदनमा उल्लेख छ । मधेसका अब १२ प्रतिशत घरपरिवारमा शौचालय सुविधा पुग्न बाँकी छ ।

विसंं २०६८ को राष्ट्रिय जनगणनामा हालको मधेसका आठ जिल्लामा ७२ दशमलव सात प्रतिशत शौचालय विहीन घर रहेका तथ्याङ्क थियो । पछिल्लो १० वर्षको अन्तरालमा सरसफाइ सचेतनाका सघन जागरण अभियानले निकै राम्रो परिणाम दिएको जनगणनाको परिणामले देखाएको छ । सरोकारवाला पक्षले यसअघिको दशकमा जस्तै सक्रिय भई इमानदार प्रयास गर्ने हो भने जिल्लालाई खुला दिसापिसाब मुक्त क्षेत्र बनाउन सकिने अभियानकर्मी बताउछन् ।

स्थानीयतहसहित यस क्षेत्रमा क्रियाशील सामाजिक तथा शैक्षिक सङ्घसंस्थाको सामूहिक प्रयास भए महोत्तरीलगायतका आसपासका जिल्लालाई वास्तविक रुपमा खुला दिसापिसाब मुक्त क्षेत्र बनाउन सकिने प्रयास महोत्तरीका अध्यक्ष प्रवीण कर्ण बताउछन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि