सिरहा, २१ कात्तिकः लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा तीन महिनादेखि स्वास्थ्य बिमाअन्तर्गत निःशुल्क उपलब्ध हुने औषधि अभाव भएको छ ।
सरकारले स्वास्थ्य बिमा गराई उपचार गर्ने बिरामीलाई रु एक लाखसम्मको उपचार र औषधि निःशुल्क दिने व्यवस्था गरे पनि यहाँ औषधि नपाउँदा सेवाग्राही मारमा परेका हुन् । बिमा गराएका सेवाग्राहीले जाँचपछि चिकित्सकले लेखिदिएको औषधि अस्पतालको औषधिकक्षमा लिन जाँदा नपाएको गुनासो गरेका छन् ।
लहान नगरपालिका–२२ की पार्वती चौधरीले भने, चिकित्सकले लेखिदिएको औषधि अस्पतालको मेडिकलमा लिन जाँदा पाइएन।
लहान नगरपालिका–२३ का योगेन्द्र यादवले नियमित औषधि सेवन गर्नुपर्ने बिरामीले किनेर खान बाध्य भएका बताए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मेसु रञ्जितकुमार झाले औषधि अभावको मुख्य कारण स्वास्थ्य बिमा दाबीको भुक्तानी नहुनु रहेको बताए । उनले भने, सरकारी अस्पतालमा बिमाको सुविधा भए पनि बिमा दाबीको भुक्तानी नहुँदा औषधि खरिद गर्न सकिएको छैन ।
अस्पताललाई करिब रु एक करोड बिमा रकम भुक्तानी गर्न बाँकी रहेकाले औषधि खरिद गरी वितरण गर्न नसकिएको मेसु झाले जानकारी दिए । उनका अनुसार, अस्पतालले बिरामीका लागि हाल एक सय शय्या बराबरको सुविधा दिइरहेको छ । तर, केन्द्र र प्रदेशबाट यथेष्ट सहयोग नहुँदा र बिमा रकमको भुक्तानी रोकिएकाले अस्पताल सञ्चालनमा कठिनाइ भएको छ । अस्पताल विकास समितिबाट जेनतेन गरी सेवा दिइएको उनको भनाइ छ ।
मेसु झाले बिमाको रकम प्राप्त हुनासाथ औषधि खरिद गरी वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे । हाल दैनिक तीन सयदेखि ४०० बिरामीलाई सेवा दिइरहेको अस्पतालले बिमाबाट औषधिबाहेकका अन्य सेवा भने नियमित रूपमा दिइरहेको छ ।







