काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण कोशी र बागमती प्रदेशका १९ स्थानमा राजमार्ग तथा प्रमुख सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएका छन्। कोशी प्रदेशमा ८ र बागमती प्रदेशमा ११ ठाउँमा सडक आवागमन बन्द भएको नेपाल प्रहरीले जानकारी दिएको छ।
कोशी राजमार्ग, सिद्धीचरण राजमार्ग, मध्यमपहाडी लोकमार्ग र मेची राजमार्गका विभिन्न भेगमा पहिरो झरेको छ। सडक कटान र ठूलो परिमाणमा जमेको माटो–ढुंगाका कारण यातायात पूर्णरूपमा बन्द रहँदै आएको छ। स्थानीय पालिका र प्रहरीको समन्वयमा सडक खोल्ने प्रयास जारी भए पनि वर्षाको क्रम नरोकिएकाले जोखिम कायम रहेको जनाइएको छ।
बागमती प्रदेशमा पासाङ ल्हामु सडक, अरनिको राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, मदन भण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्गका धेरै खण्ड सञ्चालनमा आउन सकेका छैनन्। यस्तै नेपाल–चीन जोड्ने सीमा सडक, कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक खण्ड पनि पूर्णरूपमा बन्द छ। पहिरो, सडकधस्सा र पुल क्षतिग्रस्त हुँदा वैकल्पिक व्यवस्था गर्नसमेत कठिनाइ भएको प्रहरीको भनाइ छ।
दुवै प्रदेशमा सुरक्षा निकाय, इन्जिनियरिङ टोली र स्थानीय निकायको समन्वयमा पहिरो हटाउने काम सुरु गरिएको छ। जोखिम कायमै रहेको भौगोलिक क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। यातायात अवरुद्ध हुँदा सर्वसाधारण, आपतकालीन सेवा र बजार आपूर्तिमा समेत असर परेको छ।
प्रहरीका अनुसार मौसम स्थिर भएलगत्तै क्षतिको विस्तृत विवरण सार्वजनिक गर्ने र सडक सञ्चालनमा ल्याउने प्रयासलाई प्राथमिकताका साथ अघि बढाइनेछ।
नेपाल प्रहरीले जारी गरेको सडक अवरुद्धको विस्तृत जानकारी:








