रातो कागज

काठमाडौं । गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानवरहित विमान (ड्रोन) संघ बीच विपद्मा परेका व्यक्तिहरूको खोज तथा उद्धार र विपद् व्यवस्थापनका क्षेत्रमा तत्काल मानवरहित हवाई उपकरण (ड्रोन) प्रयोग गर्ने सम्बन्धी सम्झौता भएको छ ।
मंगलबार मन्त्रालयमा आयोजित एक समारोहकाबीच उक्त सम्झौतापत्रका हस्ताक्षर भएको हो ।
हस्ताक्षरपछि गृहमन्त्री रमेश लेखकले अहिले नेपाल अत्यन्तै धेरै विपद्को जोखिमा रहेकाले यो सम्झौता महत्वपूर्ण रहेको बताए ।
उनले विपद्मा ड्रोनको माध्यमबाट खोज र उद्दार गर्ने, तत्काल चाहिने र अत्ति आवश्यक राहतहरु पठाउने जानकारी गराए ।
उनले भने,‘हामी अत्यन्तै धेरै विपद्को जोखिमा छौं । त्यसैले विपद्को पूर्व सूचना र प्रतिकारका लागि तयारी अवस्थामा बस्नुपर्ने छ । एउटा महत्वपूर्ण काम हामीले गरेको छौं । सूचनाहरु पहिले नै लिइ सो ठाउँका मानिसहरुको ज्यानको सम्पत्तिको रक्षा गर्ने कुरामा अगाडि बढ्छौं । विपद्मा ड्रोनको माध्यमबाट खोज र उद्दार गर्न र तत्काल चाहिने र अत्ति आवश्यक राहत पठाउन सकिने छ ।’
यस्तो छन् ,समझदारीका शर्तहरूः
१. राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानव रहित विमान (ड्रोन) संघ बीच निम्न क्षेत्रहरूमा सहकार्य गर्ने गरी यो सम्झौता गरिएको छ।
क. खोज तथा उद्धार।
ख. राहत, उद्धार सम्बन्धी सामाग्री ढुवानी।
ग. विपद् प्रभावित क्षेत्रको अध्ययन÷अवलोकन उडान।
घ. भौगोलिक नक्साङ्कन तथा ३म् इमेजिङ ।
ङ. क्षति मूल्याङ्कन।
च. सूचना संकलन तथा विश्लेषण।
२. विपद्को समयमा ड्रोनको प्रयोग गर्न प्रथम पक्षले आवश्यक देखी माग गरेमा दोस्रो पक्षले निःशुल्क रूपमा ड्रोन र तत् सम्बन्धी उपकरण (पाईलट सहित) उपलब्ध गराउनु पर्नेछ र सो कार्यमा खटिने सदस्यहरूको यात्रा र बसोबासको व्यवस्था प्रथम पक्षले नियमानुसार गर्नेछ।
३. मानव रहित हवाई उपकरण (ड्रोन) उडान सम्बन्धी कार्यविधि, २०७५ र क्यान। अनमानेड एयरक्राप्ट सिस्टम रिक्वायरमेन्ट २०२१ बमोजिम दोस्रो पक्षले सम्बन्धित निकायसँगको समन्वयमा सञ्चालन गर्ने गरी अनुमति लिई आफ्नो उपकरणको उडान सम्बन्धी सम्पूर्ण कार्य सम्पादन गर्नुपर्नेछ ।
४ दोस्रो पक्षले प्रथम पक्षसँगको सहकार्यमा हुने कार्यहरू समयमै, गुणस्तरीय र जिम्मेवारीपूर्वक सम्पन्न गर्नुपर्नेछ ।
५.प्रचलित कानून र बुदाँ नं. ३ को अधीनमा रही ड्रोन उडान सम्बन्धी अनुमति लिएका दोस्रो पक्षलाई विपद्को समयमा परिचालन गर्न आवश्यक समन्वय र सहजीकरण प्रथम पक्षले गर्नेछ।
ड्रोन सञ्चालनका सन्दर्भमा मार्गनिर्देशन,समन्वय र सहजिकरणको लागि तपशिल उल्लेखित प्रतिनिधि रहेको एक समन्वय समिति गठन हुनेछः
क. राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रतिकार्य शाखा प्रमुख – संयोजक
ख. गृह मन्त्रालय, स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखा प्रमुख – सदस्य
ग. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सम्बन्धित क्षेत्र हेर्ने उपसचिव – सदस्य
घ. सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, फ्रिक्वेन्सी हेर्ने उपसचिव –सदस्य
ङ. राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत नेपाल प्रहरीका प्रतिनिधि – सदस्य
च, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सशस्त्र प्रहरी बलका स.प्र.ना.उ.– सदस्य
छ. नेपाल नागरिक उड्डयन प्राधिकरणका सम्बन्धित क्षेत्र हेर्ने उपसचिव वा सो सरहका प्रतिनिधि – सदस्य
ज. दोस्रो पक्षका प्रतिनिधि (एक जना) सदस्य
७. राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा तत्काल ड्रोन उडान गर्ने/गराउने गरी गृह मन्त्रालय, विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले परिचालन गर्ने।
८. यो समझदारी हस्ताक्षर भएको मितिले एक बर्षसम्म कायम रहनेछ र आपसी समझदारीमा पुनः नवीकरण गर्न सकिने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया