रासस
3 घण्टा अघि

बैतडी, ३० असार । बैतडीको दोगडाकेदार गाउँपालिकामा दर्ता शिविरमार्फत राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम सञ्चालन गरिएको छ । गाउँपालिका कार्यालयमा असार २५ गतेदेखि सुरू भएको विवरण सङ्कलनको काम साउन २० गतेसम्म सञ्चालन हुने भएको हो ।
हालसम्म १४३ जनाको विवरण सङ्कलनको काम भएको रूजी अधिकारी तुलाराम भट्टले जानकारी दिए । ज्येष्ठ नागिरक र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीलाई लक्षित गर्दै दर्ता शिविरको आयोजना गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले बताए ।
यसअघि राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन जानुपर्ने बाध्यता थियो । उनले भने, “जिल्ला प्रशासन जान समस्या हुने ज्येष्ठ नागिरक र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीलाई लक्षित गर्दै दर्ता शिविरको आयोजना गरेका हौँ । दर्ता शिविरले गाउँपालिकामै सहजै रूपमा परिचयपत्र विवरणको काम भइरहेको छ ।”
बैङ्क खाता खोल्दा तथा सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र हुनुपर्ने भनिएको छ । धेरै लाभग्राहीको राष्ट्रिय परिचयपत्र नहुँदा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नबाट वञ्चित हुने अवस्था आए पनि दोगडाकेदार गाउँपालिकाले दर्ता शिविरको आयोजना गरेको हो ।
गाउँपालिकामै राष्ट्रिय परिचयपत्र बनाउन पाउँदा स्थानीय बासिन्दा खुसी भएका छन् । हजारौँ खर्च गरेर परिचयपत्रकै लागि सदरमुकाम जानुपर्ने बाध्यतामा रहेका नागरिक गाउँपालिकामा परिचयपत्र बनाउन पाउँदा खुसी भएका हुन् ।
गाउँपालिकामा नै राष्ट्रिय परिचयपत्र बनाउन पाउँदा खुसी लागेको स्थानीय फङ्के भाटले बताए । उनले भने, “परिचयपत्र बनाउनकै लागि सदरमुकाम जानुपर्ने बाध्यता थियो, गाउँपालिकाले शिविर सञ्चालन हुँदा सदरमुकामको जानुपर्ने बाध्यता हटेको छ ।”
शिविरमा राष्ट्रिय परिचयपत्र बनाउनेको भीड समेत बढ्न थालेको छ । राष्ट्रिय परिचयपत्र बनाउन छुटेका नागरिकलाई शिविरमा आएर परिचयपत्र बनाउन आग्रह गरिएको दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताए ।
शिविरमा परिचयपत्र बनाउन ज्येष्ठ नागरिकलाई प्राथमिकता दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दराज जोशीले जानकारी दिए । दुर्गमका नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउनकै लागि सदरमुकाम आउन झन्झट हुने भएकाले गाउँपालिकामा नै टोली पठाएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।
उनले भने, “सामाजिक सुरक्षा भत्ता बुझ्न, बैङ्क खाता खोल्नलगायतका काममा राष्ट्रिय परिचयपत्र अनिवार्य भनेको छ । त्यसका लागि धेरैको परिचयपत्र नहुँदा समस्या देखिएको गुनासो आएपछि गाउँपालिकामा नै टोली पठाएर विवरण सङ्कलनको काम थालेका हौँ ।”
हाल जिल्लाको दोगडाकेदार र पाटन नगरपालिकामा विवरण सङ्कलनको काम भइरहेको छ । जिल्लाका अन्य स्थानीय तहहरूमा पनि स्टेसन स्थापना गरेर राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम थालिने प्रजिअ पौडेलले बताए । उनले भने, “हाल दोगडाकेदार र पाटनमा विवरण सङ्कलनको काम भइरहेको छ । पूर्वाधारको व्यवस्थापन र इन्टरनेटको व्यवस्था भएका अन्य पालिकामा पनि टोली परिचालन गर्छौँ ।”
फेसबुकबाट तपाईको प्रतिक्रिया