१७ कार्तिक २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज साहित्य/ समाचार

प्रेमको लय– ६ (कथा)

प्रेमराज काम गर्दै तीन महिना बितिसकेको छ । उनी व्यस्त तरिकाले समय बिताइरहेका छन् । वेलावेला उनको मन भकानिन्छ । आफूलाई जति सक्दो बलियो बनाउने प्रयास गरिरहेका छन् । आफूलाई सम्हालिरहेका छन् । उनी त्यहाँ काम गर्दागर्दे पोर्तुगिज भाषा अलि अलि बुझने भएका छन् । कामबाट फर्केर राति छोरी सुतिसकेपछि उनी भाषाको किताब पनि पढ्छन् । उनी सबै दुःखलाई चपाउन तयार छन् । दिनदिनै सङ्घर्ष गरिरहेका छन् ।

माकिना दि लाभा लोइसा (भाँडा धुने मेसिन) मा भाँडाहरु टिङटिङ, घ्यार्रघ्यार्र बजेको आवाज सुनिन्छ । समय व्यस्त थियो । समयभन्दा अगाडि सबैको हात चलिरहेको थियो । सबैजना काम गर्न व्यस्त थिए र यति व्यस्त कि एकअर्कातिर हेर्ने र बोल्ने फुर्सद समेत थिएन । पैसाको लागि हो तर देखिन्थ्यो पैसाका लागि होइन । मानिसको हात होइन मेसिन चलिरहेको छ ।

सबैजना आफनो काममा राम्रो गर्न चाहन्थे । कम पाउन यो देशमा कठिन छ । कामबाट निकालियो भने महिनौँसम्म काम पाउन सकिन्न । सबैको आआफनै काम गराइ थियो लाग्थ्यो मान्छेले होइन रोबोटले आआफ्नै सुरमा काम गरिरहेका छन् । तर सबैले आफनो तर्फबाट राम्रो गर्न चाहन्थे । पसिनाको खोलै बगाउन सबै तयार छन् । सबैजना रेस्टुरेन्टमा छिट्छिटो र फूर्तिलो तरिकाले काम हानिरहेका छन् । कसैले कसैलाई अराउनु परेको छैन । सबैले आफ्नो जिम्माको काम स्फूर्त तरिकाले गरिरहेका छन् ।
मार्था काम गर्न व्यस्त थिइन् । प्रेमराजलाई मार्था पटक्कै मन पर्दैथिन् । उनलाई देख्यो कि गाउँमा भएको कालो भैँसी सम्झिन्थे उनी । माकिना दि लोइसामा भाँडाहरु फाल्दै मार्थाले उनलाई भनिन्,
हात चलाऊ फटाफट । काम सकाएर खाना खान जानु छ । कुकहरुले पो पकाउँदा पकाउँदै खाना चाख्छन् । खाना चाख्दा चाख्दै उनहिरुको पेट भर्छ । हामीले हात चलाएर पेट भर्दैन ।

रेस्टुरामा सबै कामदारहरका लागि स्टाफ खाना र खाजा छुट्टै पाक्थ्यो ।
उनी मार्थातिर हेर्छन् । मनमनै भन्छन्, यो काली कति फतपताउन सकेकी ।
उनको कुरा सुनेर उनी केही बोल्दैनन् । कुकहरुतिर हेर्छन् । कुकुहरु खाना पकाउन व्यस्त हुन्छन् । वेटरहरु खाना पस्किन र पु¥याउन व्यस्त हुन्छन् । उनी आफनै हाततिर हेर्छन् । दिनभरि भाँडा माझेर हातै निलो र कालो भएको छ । अलि अलि सुनिएको पनि छ । उनी मार्थाको हाततिर हेर्न खोज्छन् । मार्था भाँडा मिलाउन व्यस्त छिन् । फेरि उनले मनमनै सोच्छन्, काली मार्थाको हाततिर के हेर्नु ? ऊ यति काली छे कि उसको हात कालो छ कि निलो थाहा नै हुन्नँ । उनी हेर्दैनन् । मार्था फटाफट माकिना दि लोइसाबाट धोएका भँडाहरु निकाल्छि । लगतै पसिना पुछ्छिन् ।

वेलावेला अंशले पनि ग्राहकको जुठो थाल ल्याउछन् । उनले जुठा थाल र गिलासहरु प्रेमजको छेउमा राख्दै भने,
कहिले आफनो देश फर्किने होला है दाइ ? आफनो देशमा हुँदा कहिले विदेश पुग्छु र पैसा टिप्छु लाग्थ्यो । यहाँ आएपछि आफ्नै देश फर्किने रहर लागेको छ । मेरो घरबारी कस्तो भयो होला ? मेरो गाउँले अनुहार फेर्यो कि त्यस्तै छ ? बारीमा भएको आँपको रुख, खेल्ने आँगन, घर अगाडिको इनार कस्तो भयो होला ? साथीहरु गाउँमा के गर्दै छन् ? गाउँको याद आउँदा पागलै हुन्छु म । आफनै देशमा मर्ने मेरो रहर छ बुढा ।
उनको कुरा सुनेर प्रेमरमजले भन्छन्,

कुनै वेला विदेश कस्तो हुन्छ ? जान पाए हुन्थ्यो भनेर मलाई पनि खुब रहर लागेको थियो । विदेश आएपछि आफ्नै देश फर्किने ठुलो सपनाको भारी बोकेको छु । मलाई पनि आफनो देश फर्किने ठुलो सपना छ केटो । । कस्तो बाध्यता आफनो देश बसे पैसा कमाउन विदेश हानिनुपर्ने । नेपाल बसे पैसा नहुने । विदेश आए परिवार साथमा नहुने नेपालमा परिवारसित बसे पैसा नहुने ।

घरमा हुँदा पैसाको कमी विदेश आउँदा घरपरिवारको कमी । सधैँ अधुरो र अपुरो छ जिन्दगी । विदेश आए देश फर्किने सपना पलाउने । देशमा हुँदा पैसा र कामको अभावले विदेश आउन मन लाग्ने । देश त मनमा छ । मुटुमा छ । छातीभित्र छ । फेर्ने सासमा छ । तैपनि देश फर्किने किन ठुलो सपना हुने रहेछ केटो ? किन नेपालकै सबैभन्दा माया लाग्छ ? घरबाट टाढा जिन्दगीमा देखेका सपना पूरा गर्न यहाँ आएको तर त्योवेला के थाहा एक दिन घर फर्किनु नै जीवनको सबैभन्दा ठुलो सपना हुने छ । म त एक्लै बसेर वेलावेला यतिसम्म भन्छु केटो, हे भगवान् मलाई मेरो घर फर्काई दे ।

अहिले हात, खुट्टा चलुन्जेल चुप लागेर काम गर्नुपर्छ दाइ । पछि बुढेसकालमा फर्कौँला । नेपालमै मरौँला । के भाउजू हजुरसित हुनुहुन्न र ? अंशले सोध्छन् ।
उनी अफ्नो व्यक्तिगत कुरा अंशलाई साझा गर्दैनन् । झुटो बोल्दै भन्छन्, सँगै बसिरहेका छौँ ।
बुढाबुढी मिलेर टन्नै पैसा कमाउनुस् दाइ त्यसपछि केही गर्ने गरी नेपाल फर्किनुस् । अंशले भन्छन् ।

अंशको कुरा सुनेर प्रेमराज चुप लाग्छन् । उनको करा सुनेर झस्किन्छन् । उनले मनको पीडा कसैलाई सुनाएका छैनन् । उनलाई सुनाउन पनि मन लाग्दैन । उनको सपनाले नै उनलाई डुबायो । उनको रहरले नै बेरहर बनायो । उनको खुसीले नै उनलाई दुःख दियो । उनी खुसी किन्न विदेश भाँसिए । स्वास्नीलाई साथ दिन र उनीसित राम्रो जीवन जिउन यहाँ आए तर, जीन्दगीमा उनी यस्तो अल्झाइ अल्झे कि लाग्थ्यो संसार उनको होइन । उनका सपनाहरु कालो रातमा कतै हराएका छन् ।
वेलावेला उनी गन्तव्यहीन यात्रामा निस्केको यात्रुसरी भौतारिन्छन् । उनी छोरीलाई गन्तव्य सम्झेर टक्क अडिन्छन् ।
छेउबाट मार्था कराइरहेकी छिन्,
म यो भाँडा मिलाउँछु । तिमी बाटामा भएका जुठा भाँडाहरु मेसिनमा हाल ।

त्यतिवेलासम्म त्यहााबाट अंश गइसकेका हुन्छन् ।
मर्थाले फेरि भन्छिन्,
तिमी खाना खाएर आउँदैनौ ?
बिहान ९ बजे आइपुग्नुपर्छ । बिहानै खाना खान मनपर्दैन मलाई । उनले जवाफ फर्काउँदै उनले मार्थालाई सोध्छन्, तिमी भोकै आउछ्यौ ?
बिहान नास्ता खाएर आउँछु ।
अनि तिमी ? मार्थाले सोधिन्
म भोकै आउँछु । उनले भन्छन्
यहाँ खाना १२ बजे पाक्छ त्यतिवेलासम्म भोक लाग्दैन तिमीलाई ? मार्थाले सोध्छिन्
लाग्दैन । बानी परिसकेको छ । उनले भन्छन् ।

तिमी गाईको मासु खाँदैनौ हैन ? मार्थाले भन्छिन् ।
अहँ, खान्नँ । उनले जवाफ दिन्छन् ।
आज खानामा गाईको मासु पाकेको छ नि । तिमी गाईको मासु खाँदैनौ भनेर अस्तिा थाहा पाएँ । गाईको मासु पाकेको दिन तिमी सलादसित नुन, भात मुसेर नाक खुम्चाउँदै घिन मान्दै खाना खाइरहेका थियौ । मार्थाले भन्छिन्, किन खाँदैनौ गाईको मासु ?
मेरो चित्तले मान्दैन । गाई हाम्रो देशको राष्ट्रिय जनावर हो । गाईलाई भगवान्को रुपमा पूजा गर्छौँ हामी । उनले भने ।
आकाश कुुक नेपाली होइन र ? उसलाई मैले अस्ति गाईको मासु खाएको देखेँ । मार्थाले भन्छिन् ।
सोधिनौ किन खाएको ? उनले भन्छन् ।
अहँ सोधिनँ । मार्थाले जवाफ फर्काइन् ।

सबै काम सकाएर उनी बस्छन् । मार्था खाना खान गइन् । उनी मोबाइल लिएर हेर्छन् । भाइबरमा मधुको म्यासेज आएको देख्छन् । हतपत उनले म्यासेज खोलेर हेर्छन् । लेखेकी रहिछिन्,
फ्रान्सबाट कागजातको काम गर्ने नेपाली एम्बेसीबाट टोली यहाँ आइरहेको छ । त्यही टोली मार्फत् मैले हाम्रो सम्बन्ध विच्छेद गराउने निर्णय लिएकी छु । अर्को महिनाको पहिलो तारिख जसरी पनि समय मिलाएर मैले पठाएको ठेगानामा बिहान १० बजे उपस्थित हुनुहोला ।
उनको मनमा धेरै दिननदेखि धेरै कुरा खेलिरहेकै थियो । उनले आज फेरि एक्लो अनुभव गरे । उनी पुरानो कुराहरु सम्भिन खोज्दा तनावग्रस्त हुन्छन । नरुनुपर्ने थियो तर उनको मुटु रोयो । निरास नहुनुपर्ने थियो तर उनी निरास भए । हतास नहुनुपर्ने थियो भर उनी हतास भए । उनको निधारमा चिटचिट पसिना आयो । उनी लामो सास लिन थाले । ओहो ! यो कस्तो पीडा । छाती पनि चरक्क हुन्छ । मुटुबाट रगत नै वात्ता आउला जस्तो हुन्छ । हात, खुट्टाका नशाहर बेजोडले चल्न थाल्छन् । हातखुटटातिर उनले हेरे साच्चिकै नशाहरु चलमलाइरहेका छन् ।

ओहो ! यो के भएको उनलाई ? कस्तो बेचैनी यो ? नशाहरु धुकधुक गर्दै तीव्र प्रवेगमा चलिरहेको देख्छन् उनले । हड्ठी, रगत र मासुबाट छुटिएर नशाहरु बहिर निस्केला जस्तै गरी चलिरहेका छन् । हात, गोडा बाउडिन्छ । रिङ्गटा लाग्छ । आँखा तिरमिर हुन्छ । पहिलेका कुराहरु सम्झिन खोज्छन् । सबै यादहरु धमिलिँदै गएको देख्छन् । उनले । के उनी विस्मृतिमा गइरहेका त छैनन्? मुटु जोडले ढुकढुकाइरहेको थियो । यति जोडले ढुकुकाइरहेको थियो कि उनले आफनो मुटुको स्पन्दन सजिलै सुनिरहेका छन् । उनको मस्तिस्क बेजोडले चलिरहेको छ । उनको पुरै जिउको मासु लाटो भएको अनुभव गर्छन् तैपनि कसैलाई बोलाएनन अरुलाई आफनो दुख देखाउन सकेनन् । त्यहाका स्टाफ हरुलाई आफनो परिस्थितिबारे जानकारी दिए काम गर्न सक्दैन कि भनेर कामबाट निकालिदेलान भन्ने भय उनको मनमा पलायो निकै मेहनत गरेर उनले यो काम पाएका थिए । त्यसैले उनी चुप लागेर बसे ।

उनी छोरीलाई सम्झेर आफूलाई सम्हाल्छन । उनलाई केही भयो भने छोरीको के अवस्था होला ? काँधमा छोरीको जिम्मेवारी बोकेको मान्छे उनी । यस्तो कमजोर बन्न मिल्दैन भनेर उनी आफूलाई मनमनै सान्त्वना दिन्छन् । लामो सास तान्दै पहिलाकै अवस्थामा आउने प्रयास गर्छन् तर उनी ऊर्जाहनि अनुभव गर्छनन । हात, खुटटा गलेको अनुभभव हुन्छ । ढाड रकम्मर बेस्सरी दुखिरहेको हुन्छ ।

उनको हात, खुट्टा लाटो भएजस्तै लाग्छ । उनले आफ्नो हात, खुट्टा चिमोट्छन् । अहँ, चिमोटेको स्पर्श अनुभव भएन । उनको मनमा भय उत्पन्न भयो । उनी मर्दै त छैनन् ? उनी मृत्यु नजिक आएको अनुभव गर्छन् । ढाड पनि के सारो दुखेको बस्नै नसकिने । पिठ्यु पनि कक्रक्क भएको अनुभव गर्छन् । धेरै बेर बस्नै नसक्ने । जिउमा हड्डी नै नभएजस्तो । कुनै दिन हैन आजै अहिले नै मृत्यु उनको अगाडि उभिएजस्तो अनुभव हुन्छ उनलाई । आफनो मृत्युबारे पूर्व जानकारी हुन थालेपति उनी आफूलाई छाम्छन् । तर कसैलाई बोलाउँदैनन् । उनले मनमनै भनेँ, अहँ, म मर्नु हुँदैन । म छोरीको लागि बाँच्छु । बाआमाको लागि बाँच्छु । मलाई मेरा बाआमाले मलाई छाडेर जाने स्वास्नीक लागि मर्न जन्म दिएका होइनन् ।

छेउमा गिलासमा भएको पानी पिउँछन् । सपनाको अथाह भारी बोकेर हिँडेपछि खबरपूर्ण मृत्युलाई हुत्याएर पर धेकेल्नुपर्छ । उनी जस्तो बलियो मान्छेले आफूलाई सम्हाल्नुपर्छ । उनले फेरि सोच्छन, मलाई केही भए मेरी छोरीलाई कसले हेर्छ ? म बाँच्नु छ ।

कमजोर अनुभव नगर्नुपर्ने थियो तर गरे । सपनाको भारी बोकेर आराम गर्न मिल्छ तर पूरा गर्न छोड्न मिल्दैन । करोडको सपना देखेर एक रुपैयाँको यात्रामा जीवन टुुङ्ग्याउन खोज्ने उनले आफूलाई स्वार्थी देखे । सपना गरौ नै होस् । जीवनमा दुःख र सङ्घर्ष नै होस् तर, अनुहारमा मुस्कान देखाउन छोड्नु हुन्नँ । यही नै हो परदेशीको कहानी । भित्र दुःख भए पनि बाहिरी जीवन राम्रो देखाउनुपर्छ । पीडा भए पनि ओठबाट मुस्कान पोखिरहनुपर्छ । यही नै हो यहाँको कथा ।

छिनमै भोक लाग्यो । मस्तिस्कका नशाहरु पनि बेजोडले चलेको उनले अनुभव गर्छन् उनी मानसिक तनाव महसुु गर्छन् । जिउमा ऊर्जा नभएजस्तो । लुलो हात, खुट्टा अनुभव गर्छन् । उनी हातपत लामो सास लिन थाल्छन् । पुराना कुराहरु सम्झिन खोज्दा उनलाई तनाव अनुभव हुन्छ ती कुराहरु सम्झिन छोडे । मधुसित बिताएका पलहर स्मरण गर्न छोडे । केवल सम्झे छोरीलाई । घर फर्किनुपर्ने मात्र सम्झे । दिनभरि काम गर्न बाँकी नै छ भन्ने कुरा सम्झे । जिम्मेवार िसम्झे । लामो सास फेरिरहँदा उनी तत्काल पहिलाकै अवस्थामा फर्के तर उनी मानसिक रुपमा कमजोर अनुभव गर्छन् । जिऊमा ऊर्जा नै नभए जस्तो अनुभव गर्छन् ।
गएर खाना खान्छन् । दिनभरि उनलाई काम गर्न मन लागेन । तैपनि आफ्नो कर्तव्य सम्झेर काम गरिरहे ।

राति कामबाट घर फर्किँदा १ बजिसकेको थियो । छोरी सुतिसकेकी थिइन् । उनी एक छिन छोरीको छेउमा बसे । । छोरकिो अनुहार हेरिरहे । उनका गह भरिए । उनी आासु पुछ्दै सुत्न गए ।
ओछ्यानमा पल्टे तर निदाउन सकेनन् । अघि नै कामबाट फर्केर खाना खाए फेरि भोक लाग्यो । जति खाए नि पेट नै नभरिने । खाको खाइ रहन मन लाग्ने । भोग जागिरहने हुन्थ्यो उनलाई । आत्था ! छाती पनि पोल्यो । रिंगटा पनि सँगै चल्यो । यी सबै मधुका यादलाई भुलाउन चाहन्थे उनी तर, सकिरहेका थिएनन् । मुटु चस्स दुख्यो । छाती चरक्क फाट्यो । उनको निधारमा फेरि चिटचिट पसिना आयो । पसिनाले निथ्रुक्कै भिजे । घाँटी प्याकप्याक्ती भयो । दिमागका नशाहरु फेरि बेजोडले चल्न थाल्यो । उनको मनमा अचानक भय पलायो । कोठाको ढोका बन्द भएको देखेर निस्सिासिन्छन् जस्तो उनलाई अनुभव भयो । सास फेर्न गारो अनुभव गरे । निस्सासिएर मर्छन् जस्तो अनुभव भयो । उनले आफ्नो मृत्यु निश्चित अनुभव गरे । उठेर छेउमा भएको झ्याल खोले ।

उनलाई सास लिन अलि सहज भयो । ऊर्जाहीन अनुभव गरे ।
उनी किचेन गए । फ्रिजमा भएको खाना झिके । ओभनमा तताए । खाए । खाएपछि उनको जिउमा अलि ऊर्जा आयो । अब मृत्यु नहुने उनले अनुभव गरे । उनका हात, खुट्टाका नशाहरु बेजोडले चलिरहेकै थियो । उनी छेउमा पानीको गिलास उठाउन घाँटी फर्काउन खोज्दा फर्काउन सकेनन् । उनलाई झन तनाव अनुभव भयो । उनलाई दिउँसोदेखि यस्तै भइरहेको थियो ऊर्जाहीन । खाना खाएर उनी जसोतसो निदाए ।
एक हप्ता उनी तनावपूर्ण अवस्था र बिरामी जस्तो अनुभव हुने जिउ बोकेर काम गरिरहे ।

उनी आज राति पनि छटपटाउँदै निदाए । उठ्दा बिहान भइसकेको थियो । आज उनको बिदा थियो । उनी खाना पकाए । खाना पकाउनेवेला भान्सामा उभिएर काम गर्दा उनले ऊर्जाहीन अनुभव गरिरहेका थिए । छोरीलाई खुवाएर स्कुल पु¥याए ।
छोरीलाई स्कुल पु¥याएर आफू अस्पताल गए । अस्पताल उनको घरबाट नजिकै पर्छ १० मिनेटको बाटो । उनी अस्पतालमा सोधपुछ गर्ने ठाउँमा आफूलाई भइरहेको समस्याबारे जानकारी दिए । उनलाई टिकट कटाएर मनोरोग विशेषज्ञ कहाँ जान सुझाव दिए । मनोरोग सुनेर उनी एकछिन आतिए । आतिँदै टिकट लिए ।
उनको अगाडि मनोरोग विशेषज्ञ डाक्टर मुनरो बसेका छन् । मुनरोले उनलाई सोघ्छन्,

तपाईको नाम के हो ?
प्रेमराज ।
कतिजना साथीहरु छन् ?
८,१० जना छन् ?
उनीहरुका नाम के के हुन् ?
अंश, अर्सलन, मटिया, मार्था, याबुक, एभा, कविता, फर्नान्डिज, लुकास सारिका, विशाखा र विशाल
उनी यी नामहरु बडो बलपूर्वक सम्झे ।
तपाई के गर्नुहुन्छ ?
म काम गर्छु ।
कुन काम ?
म भाँडा माझ्ने काम गर्छु ।
तपाईको शिक्षा कति हो ?
आइ. एस्सी. त्यसपछि बि. कम. पढ्दापढ्दै छोडेँ ।
अब तपाई खुसी भएर बस्न सिक्नुस् ।
त्यसपछि मुनरोले उनलाई आफनो कुरा राख्न भने । उनको शरीरमा उत्पन्न भइरहेको सबै समस्या र लक्षणहरु बताउन भने ।
मुनरोले सबै कुरा सोधिसकेपछि उनलाई सोधे,
खासमा मलाई के भएको हो डाक्टर साहेब ?
तपाई खासमा मेन्टल डिस्अर्डरको सिकार हुनुभएको हो । यसलाई जेनेराइज्ड एन्जाइटी डिस्अर्डर जिएडि भनिन्छ । तपाई पागलपनको सिकार हुन लाग्नु भएको हो । मनमा धेरै कुरा खेलाउन बन्द गर्नुस् ।
म सन्चो हुँदिनँ अब ? उनले सोधे
ठिकै हुनुहुन्छ । लक्षण देखिएको मात्र हो । रोकथाम गर्न सकिन्छ । डाक्टरले भने ।
दिमागको एक्सरे गर्ने मेसिन छैन ? उनले सोधे
अहिलेसम्म त बनेको छैन । मुनरोले जवाफ दिए ।
मेरो दिमागलाई एक्सरे गरेर मलाई सन्चो बनाइदिनुस् डाक्टर साहेब । मैले कति पनि सन्चो अनुभव गरेको छैन ।
सहि समयमा सन्तुलित भोजन र निद्रा पूरा गर्नुस् । ८ घन्टा सुत्नुस् । सन्तुलित आहार लिनुस् । मस्तिसक मासु, नसा र रगतले बनेको वस्तु हो । आराम त दिनैपर्छ दिमागलाई ।
मस्तिसक न्यूरोनले पनि त बनेको हो नि । ८७ अरब न्युरोन अटाउन सक्ने दिमागले मेरो जीवनको एउटा अध्याय किन अटाउन सकेन ? भावना अटाउने लिम्बिक सिस्टम पनि त छ दिमागमा । त्यसले मेरो भावनालाई किन अटाउन सकेन डाक्टर साहेब ?

प्रेमराज विज्ञान विषयका विद्यार्थी थिए । मस्तिस्क सम्बन्धी जानकारी उनलाई थियो ।

हिपोक्याम्पसमा जम्मा भएका विगतका यादहरुलाई फाल्नुस् । जतिसक्दा हिप्पोक्याम्पस खाली गर्नुहुन्छ त्यति चाँडो तपाईको रिकभरि हुन्छ । मनुनरोले भने ।
मुनरो कागजमा केही लेख्न थाले । त्यही समयमा उनले फेरि भने,
नचिनेको मान्छे देखे भने मलाई डर लाग्छ । डरमुक्त हुन के गर्नुपर्छ डाक्टर साहेब ?
जुन काम गर्न डर लाग्छ त्यही काम गर्नुस् सबैभन्दा पहिला । नभए डरले तपाईको पुरै जीवनमा असर गर्छ । त्यो काम गरेपछि बिना कारण डराएको रहेछु भन्ने लाग्छ । नचिनेका मान्छेहरुलाई पनि हाइ, हेल्लो गर्नुस् । मुस्कुराउनुस् । कुरा गर्नुस् । आत्मशक्ति बढ्छ । मनभित्र विश्वास बढ्छ ? व्यर्थमा डराएछु भन्ने अनुभव हुन्छ । मनमा धेरै कुरा खेलेर त्यस्तो भएको हो । धेरै नसोच्नुस् । मनमा कुरा नखेलाउनुस् । सबै ठिक हुन्छ ।

मनोरोगको सिकार हुन लागेको सुनेर उनी गम्भीर भए । उनी पागलपनको सिकार पो हुन थालेका रहेछन् । उनी चिन्तित भए । आफैँलाई छामे । एकछिन विश्वास गर्नै गारो भयो । उनी जस्तो बलियो मान्छे कसरी पागलपनको सिकार भए हँ ? । आफैँलाई थरिथरिको प्रश्न सोधिरहे । कस्तो मोह हो यो हँ ? मोहले उनलाई बचाउनुपर्ने तर झन विस्मृतिको बाटोमा लग्दै थियो ? विछोडले बलियो बनाउनुपर्ने तर, उनी कमजो हुँदै थिए । ओहो यो त भएन ?

उनी मनमनै भन्छन्, सबै कुरा बिसाई दे दिमाग तर, बस मेरी छोरीलाई मेरो दिमागबाट टाढा नलैजा । कसम म मेरी छोरीविना जीवित रहन सक्दिनँ । त्यो निठुरीको यादलाई बिर्साउन मलाई बिस्मरणमै लैजा । म विस्मरणमा जान तयार छु तर छोरीलाई ताजा हुन दे मेरो मस्तिस्कमा । फिल्टरले जसरी पानी ताजा गरिराख्छ मेरी छोरीलाई पनि प्रत्येक बिहान तरोताजा गरी भरी दे मेरो मस्तिस्कमा । छोरी नै हो जसले मलाई म हुनुको सारर्थकता दिइरहेको छ । म जिउनुको जिम्मेवारी मलाई बोध गराउने मेरी छोरीलाई मात्र मेरो मस्तिस्कमा अटाउने ठाउँ दे दिमाग ।

मुनरोले कागज उनलाई थमाउँदै भने छ महिनाका लागि औषधी दिएको छु । खाना खाएर राति सुत्ने वेला एउटा चक्की खानुस् । छ महिनापछि फेरि जचाउँन आउनुस् ।
उनी डाक्टरलाई धन्यवाद भन्दै त्यहाँबाट निस्के ।
उनी प्रत्येक रात सुत्नेवेला एउटा चक्की सेवन गरेर सुत्छन् ।

प्रतिक्रिया दिनुहोस्