१२ श्रावण २०८१, शनिबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

जाँडरक्सी खाने गाउँका ४० जनालाई दोसल्लाले सम्मान !

१८ फागुन, पाल्पा । हाम्रो समाजमा जाँडरक्सी खाएर होहल्ला गर्दै हिँड्ने मान्छेलाई हेयको दृष्टिले हेरिन्छ, गाली गरिन्छ। जथाभावी जाँडरक्सी खाँदै हिँड्नेको व्यक्तिगत स्वास्थ्य पनि राम्रो हुँदैन।

घर परिवार लथालिंग हुन्छ। परिवारमा सधैँ झैझगडा हुन्छ। उनीहरु समाजमा सम्मानित जीवन पनि बाँच्न पाउँदैनन्। ‘जँड्याहा’ उपनामले अपहेलितसमेत हुन्छन्।

जाँडरक्सी खाएर जथाभावी गर्दै हिँड्ने धेरै मान्छे कानुनी कारबाहीमा पनि परेका छन्। तर, पाल्पाको रिब्दीकोट गाउँपालिकाले भने नियमित जाँडरक्सी खाने गाउँका ४० जनालाई सम्मान गरेको छ।

रिब्दीकोट गाउँपालिकाले बिहीबार पालिकाको सभाहलमा जम्मा गरेर नियमित जाँजरक्सी खाने सात महिला र ३३ पुरुषलाई सम्मान गरेको हो।

‘हामीले खबर ६८ जनालाई गरेका थियौँ,’ गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले शुक्रबार बिहान भने, ‘तर, खबर गरेका सबै आउनु भएन। जो जो आउनु भयो, उहाँहरुलाई सम्मानसहित स्वास्थ्य बिमा, उपचार र प्रशिक्षितसमेत गरेका छौँ।’

जाँडरक्सी खानेलाई सम्मान गरे पनि कार्यक्रमको ब्यानरमा भने ‘विपन्न वर्ग (श्रमिक)लाई सम्मान’ कार्यक्रम लेखिएको थियो।

‘हामीले खासमा जाँडरक्सी खाएको कारणले उहाँहरुलाई सम्मान गरेका होइनौँ,’ कार्कीले भने, ‘उहाँहरुलाई जाँडरक्सीको कुलतबाट बाहिर निकाल्न, स्वास्थ्य चेतना दिन, परिवार र समाजप्रतिको दायित्व बोध गराउन यो कार्यक्रम गरेका हौँ।’

सम्मानित हुने ४० जना सबै श्रमिक भएका उनले बताए। ‘काम गरेर खाने वर्गको राज्यले सम्मान गर्नुपर्छ। सोही अनुसार हामीले उहाँहरुलाई सम्मान गरेका हौँ। कार्यक्रममा सहभागी धेरैले जाँडरक्सी छाड्ने प्रतिवद्धतासमेत व्यक्त गर्नु भएको छ,’ अध्यक्ष कार्कीले भने।

उनले आफ्नो पालिकामा नियमित जाँडरक्सी खाएर आफ्नो स्वास्थ्य, घर परिवार र आर्थिक अवस्था दयनीय अवस्थामा पुगेकाहरुको वडा कार्यालय मार्फत् विवरण संकलन गरिएको जानकारी दिए।

‘जाँडरक्सीकै कारणले धेरै घर परिवार उजाड भएका छन्। हामीले पालिकाभरी त्यस्ता मान्छे झण्डै एक सय जनाजति होलान् भन्ने अनुमान गरेर वडा कार्यालयमार्फत् विवरण संकलन सुरु गरेका थियौँ,’ अध्यक्ष कार्कीले भने, ‘तर, संकलन गर्दै जाँदा पालिकाभरी त्यस्ता मान्छे ६८ जना देखिए। तर, कार्यक्रममा ४० जना मात्रै आउनु भयो। २८ जना आउनु भएन। अर्को कार्यक्रम गरेर हामी फेरि उहाँहरुलाई सम्मान गर्ने छौँ।’

कार्यक्रममा सहभागी ४० जनाको जनही ३५ सय रुपैयाँको दरले स्वास्थ्य बिमा गरिएको छ। साथै कार्यक्रममा सहभागीलाई माला र खादा पहिर्याएर सम्मानसमेत गरिएको थियो। त्यसक्रममा उनीहरुलाई न्यानो र बलियो खालको एकएक जोर ट्रयाकसुटसमेत प्रदान गरिएको छ।

उनीहरुको स्वास्थ्य बिमा अध्यक्ष कार्कीले व्यक्तिगत खर्चमा गरिदिएका हुन्।

‘मैले चुनावकै बेला आफूले पाउने पारिश्रमिक गरिब, मजदुर र श्रमजीवि वर्गको हितमा खर्च गर्ने घोषणा गरेको थिएँ,’ अध्यक्ष कार्कीले भने, ‘सोही अनुसार हिजो श्रमजीवि वर्गका ४० परिवारको जनही ३५ सय रुपैयाँका दरले स्वास्थ्य बिमा गरिएको छ।’

कार्यक्रममा सहभागी ३/४ जनाले मन्तब्यसमेत व्यक्त गरेका थिए। केहीले ‘आजैबाट जाँडरक्सी छाड्छौँ’ भनेर प्रतिवद्धतासमेत जनाएका अध्यक्ष कार्कीले बताए। सहभागी झण्डै १५ जनाले अब दैनिक डोज घटाउँदै गएर केही समयपछि जाँडरक्सी पूरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा सहभागी हुँदै गर्दा रक्सीको नसामै मञ्चमा पुगेका एक पुरुषले आफूलाई रक्सीले बहुला बनाएको गीत गाएका थिए।

त्यसक्रममा उनले आफूले रक्सी खाँदा कक्षा ८ मा पढ्दै गरेको छोरीको पढाईसमेत बिग्रिएको बताए। मन्तव्यको क्रममा भने, ‘छोरी अब चिन्ता नलेऊ, म आजैबाट रक्सी खान छाड्छु। तिमीलाई चाहेजति पढाउने प्रतिबद्धता मेरो भयो।’

कार्यक्रममा सहभागीलाई रक्सीको नियमित सेवनले स्वास्थ्यमा पारिरहेको असरको बारेमा स्वास्थ्यकर्मीबाट प्रशिक्षणसमेत दिइएको रिब्दीकोट गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रममा संयोजक शिव पोखरेलले बताए।

‘उहाँहरुमध्ये धेरेजना बिरामीसमेत हुनुहुन्छ। उहाँहरु श्रम गरेर खाने जनशक्ति हो,’ पोखरेलले भने, ‘उहाँहरुको स्वास्थ्य उपचार, रोजगारीसहितका काममा अब पालिकाले सहयोग गर्नेछ। काम गर्ने मान्छेलाई रिब्दीकोटमा मासिक २५/३० हजार कमाउन समस्या छैन।’

कार्यक्रममा सहभागीलाई जाँडरक्सीले नियमित सेवनले सम्बन्धित व्यक्तिको स्वास्थ्य, बालबालिकाको पढाई, परिवार र समाजलाई परिरहेको असरको विषयमा बुझाइएको पोखरेलले बताए।

प्रतिक्रिया दिनुहोस्