१२ श्रावण २०८१, शनिबार
समाचार समाज

साढे ६ किलो सुन प्रकरणका आरोपीसँग सोधपुछ गर्न भाषाको समस्या

२४ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटसाढे ६ किलो सुनसहित पक्राउ परेका इजिप्टका नागरिकको बयान लिन भाषाको जटिलता देखिएको छ ।

अर्ध ठोस बनाएर ल्याइएको सुनसहित पक्राउ परेका इजिप्टका नागरिक सरिफ मोहमद लासिमको अंग्रेजी नबोल्न बयान लिन समस्या भएको हो । उनले अरबिक बोले जस्तो बुझिएपछि अहिले अनुवादकको खोजी भइरहेको छ ।

‘उनले अंग्रेजी जान्दै नजान्ने हुन् वा अनुसन्धानमा असहयोग गरेका हुन् भन्ने निष्कर्षमा पुग्न बाँकी छ’, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले भने, ‘तर उनले अलिअलि अरबिक बोले जस्तो बुझिएको छ ।’

प्रहरीले उनीसँगै देखिएका दुई जना सुडानी नागरिकलाई पनि पक्राउ गरेको छ । क्लोज सर्किट (सीसी) क्यामरा फुटेजमा उनीसँगै हिँडेको देखिएपछि सम्बन्ध रहेको हुनसक्न आशंकामा उनीहरुलाई पक्राउ गरिएको डीआईजी चन्दले बताए ।

यद्यपि, उनीहरुले आफ्नो संलग्नता स्वीकारेका छैनन् । विगतमा यूएई हुँदै नेपालमार्फत भारतमा तस्करी हुने सुनमा पनि सुडानी नागरिकको संलग्नता देखिँदै आएको छ ।

सुनसहित समातिएका इजिप्टका नागरिक फ्लाई दुबईको एफजेड ५७३ विमानमार्फत ११:५१ मा काठमाडौं अवतरण गरेका थिए । यही विमानमार्फत गोरखाका चन्द्र घले १४ किलो सुनसहित बिहीबार ११:४० बजे अवतरण गरेका थिए । विमानस्थल भन्सार कार्यालयले विशेष सूचनाका आधारमा घलेलाई १४ किलो सुनसहित पक्राउ गरेको थियो ।

शनिबार राति सोही विमानमा आएका व्यक्तिलाई शंका लागेपछि निगरानी गर्ने क्रममा पक्राउ गरिएको डीआईजी चन्दले बताए । चन्दले भने, ‘उनले सुनलाई अर्ध ठोस बनाएर ल्याएका थिए, अघिल्लो घटनामा जस्तै ज्याकेटभित्र राखेर उनले सुन ल्याएका थिए ।’

प्रारम्भिक जाँचका क्रममा बरामद सुन भारततर्फ नै लैजाने गरी ल्याएको हुनसक्ने देखिएको छ । यसअघि शुक्रबार प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले रसुवा नाकाबाट आएको दुई किलो अवैध सुन बरामद गरेको थियो । कार्यालयले तीन दिनअघि न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो अवैध सुन समेत बरामद गरेको थियो ।

केही समयअघि विमानस्थलको सबै सुरक्षा जाँच पास भएर बाहिरिएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसअघि भेपमा लुकाएर ९ किलो सुन ल्याएको समेत खुलेको थियो । यो मामिलामा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल अहिले पनि थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस्