१२ श्रावण २०८१, शनिबार
प्रदेस समाचार मुख्‍य समाचार समाज सुदूरपश्चिम

१६ दिनदेखि अध्यारोमा बास, अर्कोतर्फ बाढीको त्रास

३१ साउन, टीकापुर। कैलालीमा एकातिर गर्मी छ भने अर्कोतिर बाढीको त्रास छ । वर्षा हुनेबित्तिकै यहाँ बाढी आउने त्रासले नागरिकलाई सताउँछ । गर्मी, बर्खाको समयमा सर्प, किरा फट्याङ्ग्राको डर रहेका बेला बिजुली नहुँदा नागरिकलाई कस्तो समस्या होला ? सहजै अनुमान गर्न सकिन्छ ।

कैलालीको जानकी गाउँपालिका–६ जगतपुरमा १६ दिनदेखि बिजुली छैन । यही साउन १५ गते ट्रान्समिटर पड्किँदा जगतपुर गाउँका सयौँ परिवार बिजुलीबाट वञ्चित भएका हुन् ।

बर्खाको समयमा विद्युत् सेवा नहुँदा अन्धकारमा बस्न बाध्य भएको र दैनिकी कष्टकर बनेको स्थानीय बताउँछन् । बर्खाको समयमा राति बिजुली नहुँदा निकै कठिनाइ भएको नन्दबहादुर न्यौपानेले बताए ।

‘राति अँध्यारोमा सर्प, किराको डर रहन्छ, त्यसैमाथि गर्मीले सुत्न सकिँदैन’, उनले भने, ‘१६ दिन वित्दा पनि बत्ती आउने कुनै टुङ्गो छैन ।’

बिजुली नभएपछि सबैभन्दा बढी समस्या बालबालिका र वृवृद्धालाई भएको छ । ‘मेरा साना दुई बच्चा छन् । रातभरि सुत्न सक्दैनन्, रातभरि गर्मीले छट्पटाउँछन्’, स्थानीय समिरा चौधरीले भनिन्, ‘गर्मीले घरमा बस्न सक्ने अवस्था छैन । साह्रै दुःख भयो ।’

जगतपुर गाउँमा करिब आठ सय ५० परिवारले बिजुली उपभोग गर्दै आएका थिए । स्थानीय चौराहामा जडान गरिएको एक सय ६० केभीको ट्रान्समिटर पड्किँदा चौराहाभन्दा पूर्वपट्टि गाउँमा विद्युत् सेवा अवरुद्ध छ । लामो समयसम्म गाउँमा विद्युत् नहुँदा आफूहरु उज्यालाका लागि टर्च लाइट र मोबाइल चार्ज गर्न छिमेकी गाउँमा पुग्नुपर्ने बाध्यता बनेको स्थानीय मञ्जु न्यौपानेले बताइन् ।

लामो समयदेखि विद्युत् नभएपछि स्थानीयका घरमा रहेका मेशिनरी सामानसमेत बिग्रन थालेका छन् । ट्रान्समिटर पड्किँदा रु तीन लाख ५० हजार मर्मतमा खर्च भइसकेको र १५ दिनको अवधिमा पाँचपटक मर्मत गरी फेरबदलको काम गर्दा पनि समस्या समाधान नभएको सहकारीका सचिव गौरीकान्त न्यौपानेले बताए ।

‘हामीले धेरै खर्च गर्न सक्ने अवस्था छैन’,उनले भने, ‘गाउँ अन्धकार भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर समस्या राखेका छौँ, सहयोग गर्छु भन्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्