१६ जेष्ठ २०८१, बुधबार
प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कैलालीका थारु समुदायमा भजहरको रौनक

२३ वैशाख, कैलाली । शनिबार कैलालीको भजनी नगरपालिका–९ पचमुडियाका एक सय ७४ थारु समुदायका घर परिवार बिहानैदेखि खुला चौरमा गई बसे । लहरै खाना पकाउनका लागि चुलो बनाइएको छ भने खाने कुरा पनि राखिएका थिए । बिहानै गएका उनीहरु बेलुका अबेर घर फर्कीए ।

शनिबार नै कैलालीको घोडाघोडी नगरपालिका–८ दीपनगरका थारु समुदाय पनि नदी छेउमा गई बसे । बिहानै गएका उनीहरु त्यहीँ खानपिन गरेर बेलुका घर फर्किए । गएको मङ्गलबारदेखि बिहीबारसम्म घोडाघोडी नगरपालिका–११ सिसैंयाका ६२ थारु परिवार पनि कन्द्रा नदी किनारमा खुुला आकाशमुनि त्यसैगरी बसेर फर्के । खानेकुरासहित दुई रात बास बसेर उनीहरु घर फर्के ।

यसरी नदी छेउ गएर खुला चौरमा उनीहरु कुनै बाध्यताले नभई थारुहरुको महत्वपूर्ण पूजा भजहर मनाउन बसेका थिए । अहिले कैलाली कञ्चनपुर लगायतका थारु समुदायमा भजहरको रौनक छाएको छ । भजहर मनाउन उनीहरु खुला चौरमुनि बसिरहेका देखिन्छन् ।

वैशाख महिनामा मनाइने यो पर्व थारु समुदायले गर्ने पूजामध्ये एक हो । यो पूजासँगै थारु समुदायमा लवाङ्गी पूजा, हरहर पूजा गर्ने गरिन्छ । लवाङ्गी र हरहर पूजा अन्नबालीसँग जोडिएको हुन्छ भने, भजहर गर्मीयाम सुरु भएसँगै विभिन्न रोगव्याधिले सताउने हुँदा त्यस्ता रोग व्याधि नलागोस् भनेर पूजा गरिन्छ ।

भजहरको दिन बिहानै गुरुवा मार्फत् नव दुर्गाको पूजा गरिन्छ । दुर्गालाई खुशी पार्न पशुपंक्षीको बलि दिने, गुरुवाले आफ्नो जिब्रो छेडेरे देवीलाई रगत चढाउने गरेको घोडाघोडी नगरपालिकाका नगर भल्मन्सा बुधराम चौधरीले जानकारी दिए ।

यसले गर्दा महामारी, रोग व्याधि हट्ने मान्यता रहेको उनले बताए । पूजाका लागि गाउँका सबै जना मिलेर पैसा सङ्कलन गरी भेडा, पाठी, सुगुर, कुखुरा बलि दिने गरिन्छ ।

दुर्गालाई पूजा गरे सुख शान्ति छाउने र कुनै पनि महामारीले नछुने गुरुवा पञ्चराम चौधरी बताउछन् । पहिले र अहिले भजहर मनाउने तरिका केही फरक भएको छ । पहिले नौदेखि सात दिनसम्म भजहर बस्ने गरिन्थ्यो ।

अहिले एक दिन मात्रै बस्ने गरिन्छ । कतिपय समुदायमा अहिले पनि पाँच दिन, तीन दिन र साढे दुई दिन पनि बस्ने गरिन्छ । कठरिया समुदायमा दुई दिन पुरा र एक दिन आधा बस्ने गरिन्छ जसलाई अढैया भजहर भन्ने गरेको घोडाघोडी नगरपालिका वडा न ११ का भलमन्सा गयाप्रसाद कठरियाले जानकारी दिए ।

भजहरको किम्वदन्ती

भजहरको सुरुवात कसरी भयो भन्ने कुरामा विभिन्न जानकारहरुका छुट्टा छुट्टै कथा र मान्यताहरु रहेको थारु संस्कृतिका अध्येता डा. रामप्रसाद चौधरी बताउछन् । धेरै किम्वदन्तीमध्ये भजहर रामायणसँग जोडिएको प्रसङ्ग विशेष रहेको उनले सुनाए ।

रावणको कब्जाबाट अयोध्या ल्याएपश्चात, जब रामले गर्भवती सीतालाई पुनः वनबास पठाउँछन् त्यतिबेला अयोध्यावासीले उनलाई घर बाहिर नै भोजन भण्डारा गराउँछन् । सोही कुराको स्मरण गर्दै थारु समुदायमा भजहर मनाउने चलन परम्परादेखि चल्दै आएको डा. चौधरी बताउछन् ।

सीताको किम्वदन्तीसँग जोडिएको भजहरमा विस्तारै गुरुवाहरुले दुर्गाको पूजा आजा गर्ने चलन जोडिँदै गएको डा. चौधरीले जानकारी गराए । उनका अनुसार विशेषगरी गर्मी याममा विभिन्न रोग र महामारीको प्रकोप आउने हुदा त्यसबाट बच्नका लागि माता सीतासँगै दुर्गाको पुजा आराधना गर्दै भजहर मनाइने गरिन्छ । यसो गरे सम्पूर्ण महामारीबाट मुक्त हुने थारु समुदायको विश्वास छ ।

थारु समुदायको देवी–देवता पुज्ने, गाउँलाई महामारीबाट मुक्त गर्ने, झारफुक गर्ने, भूतप्रेत लगायत अनिष्टबाट बचाउन हरेक गाउँमा गुरुवा हुन्छन् । गाउँमा दुःख बिमार एवं ठूलो विपत्ति आइपर्दा गाउँका भलमन्साले गुरुवालाई बोलाएर ठीक पार्ने गर्दर्थे ।

भजहर बसेन भने ठूलो विपत्ति आउने, महामारी र रोगव्याधिले सताउने मान्यता रहेको घोडाघोडी नगरपालिका वडा नं ८ का भलमन्सा दिपेन्द्र चौधरी बताउछन् । जति नै ठूलो विपत्ति आइपरे पनि भजहरले निर्मूल पार्ने विश्वास थारु समुदायमा रहेको उनले जानकारी गराए ।

भजहरसँग विशेष गरेर महिला जोडिने गर्दछन् । महिलालाई खुसी राख्न सके परिवार र गाउँ समाज नै सुखी हुने विश्वासका साथ पनि भजहरलाई हेर्ने गरिन्छ । घरधन्दा र खेतीपातीमा व्यस्त महिला स्वतन्त्र रुपले घुम्न नपाउने अवस्थामा भजहरले सबैलाई एक ठाउँमा जम्मा हुने अवसर जुटाउने गर्दछन् ।

भजहरमा सबै जना जम्मा भएर एक अर्काका सुख दुख साट्ने गरेको भजहरमा सहभागी घोडाघोडी नगरपालिका–३ की सीता चौधरी बताउछन् । भजहरको बेला गाउँका सबै महिला दिदीबहीनी एक ठाउँमा जम्मा हुने, स्वतन्त्र रुपमा आफ्ना सुखदुःखका कुरा साटासाट गर्ने, सँगै पकाउने खाने, नाचगान गर्ने र खुला आकाशमुनि सुतेर रमाइलो गर्ने परम्परा रही आएको छ ।

प्रतिक्रिया दिनुहोस्