१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार

संस्कृत विश्वविद्यालयमा लागेको ताला ५५ दिनपछि खुल्यो

२६ साउन, दाङ । दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला ५५ दिनपछि खुलेको छ ।

गत असार ३ गते स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय आयुर्वेद विद्यापीठले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा  लगाएको ताला आज शुक्रबार खोलेका हो ।

विश्वविद्यालयद्वारा गठित वार्ता टोलीका संयोजक आयुर्वेद अध्ययन संस्थानका डीन प्रा. डा.चन्द्रप्रसाद भुसालको अध्यक्षतामा भएको वार्ताले विश्वविद्यालयको अधिकृत स्तरको सुरुवाती तलवको ५० प्रतिशत बराबरको इन्टर्नसिप भत्ता प्रदान गर्ने सहमति पछि ताला खोलिएको वार्ता टोलीका सदस्य सचिव अनिल पोख्रेलले जानकारी दिए ।

स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय आयुर्वेद विद्यापीठले इन्टर्नसिप भत्ता बृद्धिको माग गर्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला लगाएको थियो । आफूहरुले राखेको माग पुरा भएपछि ताला खोलिएको स्वयुका अध्यक्ष हेमन्त वञ्जाडेले बताए ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने, शिक्षाध्यक्ष प्रा.डा.भिम खतिवडा, कुलसचिव सहप्राध्यापक माधव अधिकारीसहित कर्मचारीको उपस्थितिमा ताला खोलिएको हो ।

उपकुलपति प्रा.डा यादवप्रकाश लामिछानेले विश्वविद्यालयमा लागेको ताला खोलेको प्रति धन्वाद ज्ञापन गरे । उनले विद्यार्थी संगठनले विभिन्न नाममा ताला बन्दी गरेर विश्वविद्यालयमा अवरोध सिर्जना नगर्न  समेत आग्रह गरे ।

यता, विश्वविद्यालयको सेवा आयोगमा लागेको ताला भने अझै खुलेका छैन । नेपाल विद्यार्थी संघ दाङले गत असार ९ गते  ताला लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्