१२ श्रावण २०८१, शनिबार
समाचार

पदभार ग्रहण गर्दै ल्हारक्यालले भने : लुम्बिनीको इज्जत जाने काम गर्दिनँ

२५ साउन, बुटवल । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले बिहीबार पदभार ग्रहण गरेका छन् ।

लुम्बिनीस्थित कोषको प्रधान कार्यालयमा पदभार ग्रहण गर्दै लामाले बुद्ध जन्मस्थल लुम्बिनीबाट ७ किलोमिटर दक्षिण निपनियास्थित दानव नदी किनारमा बाढीको जोखिममा रहेको कुषाणकालीन इट्टाले बनेको इनारको उद्धार संरक्षण उत्खनन् गर्ने निर्णय सदर गरेका छन् ।

पदभार ग्रहणअघि कोषका तर्फबाट आयोजित स्वागत कार्यक्रममा बोल्दै लामाले लुम्बिनी जस्तो पवित्र ठाउँको इज्जत जाने र बदनाम हुने कुनै काम नगर्ने बताए । उनले व्यक्तिगत लाभ लिने काम नगर्ने दावीसमेत गरे ।

ल्हारक्यालले आफू लामो समयदेखि बुद्धमार्गमा रहेर बुद्धकै सन्देश फैलाउने काम गरेको बताउँदै लामाले उपाध्यक्षको भूमिकामा रहदा लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रचार गर्ने बताए ।

स्वागत कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीको कार्यक्षेत्र ठूलो रहेको र सीमित साधन स्रोतबाट काम भइरहेको बताए ।

यसअघिका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी)को कार्यकाल साउन ९ गते सकिएपछि सरकारले साउन १६ गते  डा. लामालाई उपाध्यक्षका रुपमा नियुक्त गरेको हो ।

पूर्वअर्थ राज्यमन्त्री, संविधानसभा सदस्य समेत रहेका  डा. लामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य छन् । उनी दोहोरो नागरिकता, हातहतियार, गैरकानुनी सम्पत्ति आर्जन, वैदेशिक रोजगारमा ठगी लगायत विभिन्न मुद्दा लागेर पटकपटक पक्राउ परिसकेका विवादित व्यक्ति हुन् ।

उनको नियक्तिप्रति माओवादी केन्द्रकै नेताहरुले तीब्र असन्तुष्टि जनाइरहेका छन् । यस्तै सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि लामो नियुक्ति गलत भएको बताउंदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्