१२ श्रावण २०८१, शनिबार
बैंक–वित्त

साढे ७ हजार डेंगु संक्रमित, वडा कार्यालयमा राखेर उपचार

२४ साउन, विराटनगर । धरानमा डेङ्गु संक्रमित बढेपछि सार्वजनिक भवन र वडा कार्यालयमा राखेर उपचार गर्न थालिएको छ । हिजोआज डेङ्गु संक्रमितलाई अस्पताल र क्लिनिकमा बेड पाउन मुस्किल छ । त्यसैले वडा कार्यालय, सभा गृह, उद्योग वाणिज्य संघको भवनमा राखेर उपचार गरिएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा बुधबारसम्म ११ हजार ८२ जनाको परीक्षण गर्दा ७ हजार ६६६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । परीक्षण गरेकोमध्ये ६९ प्रतिशतमा पोजेटिभ आएको हो ।

डेङ्गु संक्रमणका कारण ९ जनाको मृत्यु भएको उपमहानगरपालिकाको तथ्याङ्क छ । धरानमा हरेकजसो घरमा डेङ्गुका बिरामी छन् । डेङ्गु संक्रमित बढेपछि उपमहानगरपालिकाको वडा नं ८, ११,  १३, १४ र १५ ले संक्रमितलाई वडाभित्रकै विभिन्न भवनमा राखेर उपचार गरिरहेको छ । त्यसबाहेक उद्योग वाणिज्य संघ र धरानको सभा गृहमा पनि बिरामीको जाँच र उपचार गरिएको महाशाखा प्रमुख मेहताले बताए ।

धरान उपमहानगरपालिका-१३ का वडा अध्यक्ष नेत्रप्रसाद काफ्लेका अनुसार साउन ११ गतेदेखि वडामा नै डेङ्गु जाँचका लागि रगत संकलन र बिरामीको उपचार गरिएको छ । वडामा दैनिक ५० देखि ८० जनासम्म बिरामी आउने गरेको उनले बताए ।

वडा कार्यालयले बाल क्लबका लागि बनाएको भवनको कोठामा म्याट ओछ्याएर बिरामीलाई राखिएको छ । ‘बिहानदेखि बेलुका ७ बजेसम्म बिरामी राखेर उपचार गर्छौं, त्यसपछि घर जानुहुन्छ’, उनले भने, ‘आउनुपर्ने अवस्था भए भोलिपल्ट पनि आउनुहुन्छ।’

औषधि र स्लाइनपानी चढाउनका लागि बिरामीलाई वडाको भवनमा राख्ने  गरिएको उनले बताए । बिरामीको उपचारका लागि वडाको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीबाहेक चार जनालाई बाहिरबाट मगाइएको उनले बताए । अन्य वडा कार्यालय र उद्योग वाणिज्य संघको कार्यालयमा पनि बिरामी राखेर उपचार गरिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेङ्गु संक्रमितको उपचारका लागि छुट्टै वार्ड र क्लिनिक सञ्चालन गरिरहेको छ । क्लिनिकमा बिहानदेखि बेलुकासँग जाँच लागि जाने सेवाग्राहीको लाइन हुन्छ ।

कसरी फैलियो डेंगु  ?

धरानमा २०७६ सालमा पनि डेङ्गु फैलिएको थियो । त्यतिबेला चार हजार ३०० जनामा संक्रमण देखिएको थियो । त्यसपछिका तीन वर्ष डेंगु प्रकोपकै रुपमा नफैलिए पनि गत वैशाखबाट पुनः फैलिएको हो ।

धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख मेहताका अनुसार सन् २०१९ मा देखिएको प्रकोप लामखुट्टे खोज र नष्ट गर अभियानबाट नियन्त्रणमा आएको थियो ।

गत वैशाखदेखि फैलिएको डेङ्गु नियन्त्रणका लागि पनि खोज र नष्ट गर अभियान सञ्चालन भइरहेको छ ।

डेङ्गु सार्ने लामखुट्टेको लार्भा सफा पानीमा हुर्कने गर्छ । खानेपानीको अभाव भएका कारण धरानमा पानी ड्रम र भाडामा जम्मा गरेर राख्नुपर्ने बाध्यता छ । यसरी जम्मा गरेको ड्रम र भाडामै लामखुट्टे हुर्किरहेका हुन्छन् ।

उपमहानगरपालिकाले पानी राख्ने भाडा छोप्न आग्रह गरिरहेको छ । स्वास्थ्य महाशाखा प्रमुख मेहता नजिकै जंगल भएका कारण पनि डेंगु फैलिएको बताए ।

नजिकै रहेको जंगलका रुखहरुमा टोड्को परेको ठाउँमा बर्खामा परेको पानी जम्ने र लामखुट्टेको लार्भा हुर्कने गर्छन् । डेङ्गु फैलने अर्को कारण सुगुरको खोर पनि हो । धरानमा सुगुर पालन धेरै छ । सुगुरको खोरमा हुने फोहोर बयस्क लामखुट्टेको बस्ने ठाउँ हो ।

धरान उपमहानगरपालिकाले खोज र नष्ट गर अभियानसँगै लामखुट्टे मार्न औषधि छर्किने काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्